एक सातामै दुईपटक बढ्यो गाडी भाडा

बुधबार, ११ जेठ, २०७९
डिजिटल संस्करण

अन्तरप्रदेशमा सञ्चालित गाडीमा मात्रै भाडा वृद्धि, स्थानीय रुटमा पुरानै कायम

१० दिनमा डिजेलको भाउ १० रुपैयाँले बढेपछि सार्वजनिक सवारीसाधनको भाडामा पनि सातामै दुईपटक बढेको छ । यातायात व्यवस्था विभागले दुई वा दुईभन्दा बढी प्रदेश भएर राष्ट्रिय रुटमा सञ्चालित सार्वजनिक सवारीसाधनको हकमा भाडा बढाएको हो । एकै प्रदेशभित्र चल्ने अर्थात् स्थानीय रुटका सवारीसाधनमा भने भाडा बढेको छैन । 

विभागका अनुसार यात्रुवाहक सवारीसाधनको हकमा २.१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २.७ प्रतिशत र तराईको बाटोमा गुड्ने मालवाहक सवारीमा तीन प्रतिशतले भाडा वृद्धि भएको छ । वृद्धि भएको भाडादर बुधबारबाटै लागू हुनेछ । विभागले पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै स्वचालित रूपमा सार्वजनिक सवारीसाधनको भाडा समायोजन हुने व्यवस्थाअनुरूप बढाएको हो । विभागले गरेको निर्णयलाई आधार मानेर प्रदेश सरकारले पनि सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्नेछन् । 

यसअघि ४ जेठबाट लागू हुने गरी यात्रुवाहक सार्वजनिक सवारीसाधनमा ३.५ प्रतिशतसम्म भाडा बढेको थियो । पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनको भाडा ४.६ प्रतिशत र तराईमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ५.१ प्रतिशतले ढुवानी भाडा वृद्धि भएको थियो ।

यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले वृद्धि भए वा घटेमा यातायात व्यवस्था विभागले वैज्ञानिक भाडादर समायोजन प्रणालीअनुसार अन्तरप्रदेशको भाडा समायोजन गर्छ । विभागले विभिन्न १३ सूचकलाई आधार मानेर सार्वजनिक यातायातको भाडा समायोजन गर्छ । जसमा ३५ प्रतिशत भार पेट्रोलियम पदार्थलाई दिइएको छ । बाँकी ६५ प्रतिशत सवारीसाधनमा काम गर्ने स्टाफको तलब सुविधा, कर, वार्षिक बिमा प्रिमियम, मर्मतसम्भार खर्च, ब्याजदर, ब्याट्रीको मूल्य ह्रास, अन्य खर्च, इन्धन, टायर, लुब्रिकेन्टलगायतलाई मानिएको छ ।

सुझावित समाचार