बलात्कार पीडितलाई न्याय दिलाउन महिला गैरसरकारी संस्था महासंघको माग

शनिबार, ७ जेठ, २०७९
डिजिटल संस्करण
बलात्कार पीडितलाई न्याय दिलाउन महिला गैरसरकारी संस्था महासंघको माग

प्रतिकात्मक तस्बिर

आफूमाथि भएको यौन शोषणबारे सामाजिक सञ्जालमार्फत एक युवतीले सार्वजनिक गरेको भिडियोप्रति ध्यानाकर्षण भएको बताउँदै महिला गैरसरकारी संस्था महासंघले पीडितका लागि न्यायको माग गरेको छ । 

महिलामाथिको हिंसा, हत्या, बलात्कार, शोषण, अन्याय, अत्याचारलगायतका विरुद्ध पटक–पटक आवाज उठाउँदा पनि दिनानुदिन यस्ता घटना बढिरहेकोप्रति महासंघले विज्ञप्ति जारी गर्दै न्यायको माग गरेको हो । सन् २०१४ मा एउटा सौन्दर्य प्रतियोगितामा भाग लिन पुगेकी युवतीमाथि भएको पटक–पटकको बलात्कारको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै संस्थाले शुक्रबार विज्ञप्ति जारी गरेको छ । 

पीडितले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमा कार्यक्रमका आयोजक ४० वर्षीय मनोज पाण्डेले होटेल एभरेस्टमा कार्यक्रम छ भनी बोलाएर नियतवश औषधि मिसाइएको कागतीपानी सेवन गराई बेहोस भएपछि बलात्कार गरी भिडियो बनाएको र सोही भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै पटक–पटक बलात्कार गरेको बताइएको छ । त्यतिवेला आफू १६ वर्षको मात्र भएको र घटनापछि आफू डिप्रेसनमा गएका कारण तुरुन्त त्यसलाई सार्वजनिक गर्न नसकेको पीडित युवतीले बताएकी छिन् । 

युवतीले आफू डिप्रेसनबाट मुक्त हुन र न्यायका लागि सिंगो नागरिक समाज, राज्य, सरकार तथा आमनेपालीसमक्ष भिडियो सार्वजनिक गरेको बताएकी छिन् । सोही विषयमा महिलाहरूले नेतृत्व गरेको गैरसरकारी संस्थाहरूको छाता संघ महिला गैरसरकारी संस्था महासंघले पनि न्यायको माग गर्दै पीडकलाई हदैसम्मको कारबाहीको माग गरेको छ । 
 

सुझावित समाचार