अब श्रम स्वीकृति पनि अनलाइनबाट

शुक्रबार, ६ जेठ, २०७९
डिजिटल संस्करण

आजदेखि श्रम कार्यालयका सबै सेवा अनलाइनबाट विदेश जाने कामदारले सबै प्रक्रियाका लागि काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले सबै प्रक्रिया अनलाइनबाट नै गर्न पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै खालका श्रम स्वकृतिलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाएको हो । शुक्रबारदेखि नयाँ व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट नै लिन सकिने भएको छ । यससँगै श्रम कार्यालयको सबै सेवा पूर्ण रूपमा अनलाइनमार्फत हुने भएको हो ।

यसअघि रोजगारीका लागि विदेश जाने कामदारले सबै प्रक्रियाका लागि काठमाडौं धाउनुपर्ने बाध्यता थियो,  जसले कामदारको समय खेर जाने तथा आर्थिक भार पनि थपिने गथ्र्याे । त्यस्तै, कार्यालयमा नै गएर काम गर्नुपर्दा दलाल सक्रिय हुने र कामदार सजिलै ठगिने सम्भावना बढी थियो । यस्तो विकृतिलाई हटाउँदै मन्त्रालयले सबै प्रक्रिया अनलाइनबाट नै गर्न सकिने व्यवस्था गरेको श्रम कार्यालय काठमाडौंका प्रमुख रमेश अर्यालले बताए । 

श्रम स्वीकृति लिएर मात्र हवाई टिकटको व्यवस्था गर्न आग्रह 
कार्यालयले रोजगारीका लागि विदेश जाँदा पहिले श्रम स्वीकृति लिएर मात्र हवाई टिकटको व्यवस्था गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । केही सेवाग्राहीले श्रम स्वीकृतिका लागि अनलाइनबाट आवेदन गरेकै दिन विदेश जाने गरी टिकट लिएको पाइएकाले यस्तो आग्रह गरिएको कार्यालय प्रमुख रमेश अर्यालले बताए । 

कार्यालयले २ माघ ०७८ देखि पुनः श्रम स्वीकृति अनलाइनबाट नै लिन सकिने व्यवस्था गरिसकेको छ । त्यस्तै, २ वैशाख ०७९ देखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र गर्न सकिने व्यवस्था गरेको थियो । नयाँ व्यक्तिगत श्रम स्वीकृतिका लागि भिसा, करार सम्झौता, स्वास्थ्य परीक्षण उत्तीर्ण प्रमाणपत्र, अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र, सीपमूलक रोजगारमा जान सीप सिकेको प्रमाणपत्र, स्वघोषणा फाराम, अनलाइनबाटै म्यादी जीवन बिमा र कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण अनलाइनमा अपलोड गर्नुपर्नेछ । 

वैदेशिक रोजगारका नाममा भिजिट भिसा एवं व्यक्तिगत श्रम स्वीकृति लिई रोजगारीमा जाने अधिकांश व्यक्ति अलपत्र पर्ने, ठगिने, बढी रकम तिर्न बाध्य पार्ने प्रवृत्ति बढेकाले सरकारले व्यक्तिगत श्रम स्वीकृतिमा कडाइ गरेको छ । 

व्यक्तिगत श्रम स्वीकृति लिँदा सम्बन्धित देशको नेपाली राजदूतावासबाट कागजात प्रमाणीकरण आवश्यक पर्छ । यसअघि साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्सबाट प्रमाणीकरण गर्ने व्यवस्था थियो । ०७९ वैशाखदेखि सरकारले क्रोएसिया, पोल्यान्ड, रोमानिया, हंगेरी, बेलारुस, माल्दोभा, अल्बानिया र स्लोभाकियालाई पनि थप गरेको छ । प्रमाणीकरणका लागि नेपाली राजदूतावासमा रोजगारदाता कम्पनी वा स्पोन्सरले राहदानीको प्रतिलिपि, भिसाको प्रतिलिपि, करार वा सम्झौतापत्रको प्रतिलिपिलगायतका विवरण पेस गर्नुपर्नेछ । रोजगारदाताले सबै कागजपत्र सम्बन्धित व्यक्ति र वैदेशिक रोजगार कार्यालयको इमेलमा पठाउनुपर्नेछ । सम्बन्धित व्यक्तिले इमेलमा प्राप्त कागजात आफैँले प्रिन्ट गरी अनलाइनमा अपलोड गर्नुपर्नेछ । 

वैदेशिक रोजगार बोर्डका सबै सेवा पनि अनलाइनबाट
श्रम मन्त्रालयले वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने सबै खालका सेवालाई समेत अनलाइनमार्फत प्रदान गरेको छ । वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु भएमा, अंगभंग र अशक्त बिरामी भएको अवस्थामा वैदेशिक रोजगार बोर्डबाट पाउने सबै खालको सुविधा अनलाइनबाट नै प्राप्त गर्न सकिने व्यवस्था गरिएको हो । पीडित कामदारका नेपालमा रहेका आफन्तले मृत्यु भएकोमा पाउने रकम, शव झिकाउने, उपचार गर्नेलगायतका सुविधाका लागि अनलाइनबाट नै आवेदन दिन र सोधपुछ गर्न सकिने व्यवस्था गरेको छ । साथै, बिमा कम्पनीले भुक्तानी गर्नुपर्ने रकम लिन पीडित कामदार वा कामदारका आफन्त श्रम स्वीकृति लिएको–गएको भन्ने प्रमाणित गर्न विभाग धाइरहनुनपर्ने भएको छ । बिमा कम्पनीले बोर्डको अनलाइन सूचना व्यवस्थापन प्रणालीमार्फत कामदारले श्रम स्वीकृति लिएर गएको वा नगएको जाँचबुझ गर्न सक्ने विभागले व्यवस्था गरेको छ । 

मन्त्रालयको आदेशअनुसार आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो–छरितो रूपमा गुनासोरहित अनलाइन सेवा सुरु गरिएको बोर्डले जनाएको छ । कागजात जाँच गर्न समय लाग्ने तथा कहिलेकाहीँ सर्भरको समस्या हुन सक्ने भएकाले तीन दिनअघि नै संस्थागत श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन दिनसमेत कार्यालयले आग्रह गरेको छ ।

पूर्ण रूपमा अनलाइनबाट श्रम स्वीकृतिको काम गर्दा आवेदनको क्रमसंख्याअनुसार श्रम स्वीकृतिको काम हुने भएकाले पछाडिको आवेदनलाई अगाडि ल्याउन नसकिने कार्यालयका प्रमुख अर्यालले बताए । अधिकांश सेवाग्राहीको अनलाइन आवेदन गरेको दिनमा नै श्रम स्वीकृति हुने गरी काम भए तापनि केही सेवाग्राहीको कागजात अपुग र अस्पष्ट हुँदा आवेदन अस्वीकृत हुने गरेको उनले बताए । यस्ता आवेदनमा म्यासेज पठाएर विवरण प्राप्त गर्दा समय लाग्ने तथा कहिलेकाहीँ सर्भरलगायत प्राविधिक कारणले समस्या हुन सक्ने भएकाले तीन कार्य दिनअगाडि अनलाइन फाराम भर्न कार्यालय प्रमुख अर्यालले बताए । 

श्रम स्वीकृति लिँदा लाग्ने शुल्कबारे जानकारी लिन आग्रह
श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन सकभर आफैँले वा आफन्तमार्फत भर्न कार्यालयले आग्रह गरेको छ । यदि अन्यत्रबाट अनलाइन फाराम भर्नुपरेमा आफूलाई लाग्ने शुल्कका बारेमा पूर्ण जानकारी राख्नसमेत कार्यालयले आग्रह गरेको छ । श्रम स्वीकृति गर्दा म्यादी जीवन बिमाको शुल्क उमेरअनुसार हुने र वैदेशिक रोजगार कल्याणकारी कोषका लागि एक हजार पाँच सय रुपैयाँ शुल्क लाग्ने कार्यालयले जनाएको छ । जीवन बिमा र कल्याणकारी कोषसमेत गरी ३५ वर्षसम्मका लागि पाँच हजार दुई सय ८ रुपैयाँ, ३६ वर्षदेखि ५० वर्षसम्मका लागि ६ हजार चार सय ३१ रुपैयाँ र ५१ वर्षदेखि माथिका लागि १० हजार नौ सय ६३ रुपैयाँ मात्र शुल्क लाग्छ । श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सोको कारणसहितको सूचना आवेदकको मोबाइल नम्बर र आवेदन गर्दाको इमेलमा जाने हुँदा आफ्नो व्यक्तिगत मोबाइल नम्बर र इमेल प्रयोग गर्न कार्यालयले भनेको छ । 

सुझावित समाचार