महानगरका मतमा ‘महाक्रस’

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

सत्ता र विपक्षी गठबन्धनभित्र तालमेल गरेकै दलहरूबीच पनि धोकाधडी, गठबन्धनकै उम्मेदवारहरूले पाएको मतमा फराकिलो अन्तर

काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अप्रत्याशित मत हासिल गर्दै सोमबार मध्यरातसम्म पनि अग्रता कायमै राखेका छन् । मतगणनाको अहिलेसम्मको नतिजा हेर्दा उनले ‘स्वतन्त्र मत’ मात्र होइन, एमाले र कांग्रेसका परम्परागत मत पनि ठूलो संख्यामा पाएका छन् । 

महानगरका १ र २ वडाको मतगणना सकिएको छ भने ३, ४, ५, ३१ र ३२ वडामा मतगणना जारी छ । नतिजा आएका दुई वडाको मतको विश्लेषण गर्दा बालेनलाई कांग्रेसका भन्दा एमालेका धेरै मत गएको देखिन्छ । दुवै वडाध्यक्ष र अधिकांश सदस्य एमालेले जितेको छ, तर ती वडाबाट मेयरमा एमालेका उम्मेदवार केशव स्थापितभन्दा बालेनले धेरै मत पाएका छन् । 

वडा नम्बर १ बाट बालेनले सात सय ८३ मत पाउँदा एमालेका स्थापितलाई तीन सय ६५ मत मात्रै गएको छ । जब कि, वडाध्यक्षमा जितेका एमालेका भरतलाल श्रेष्ठले ६ सय २२ मत पाएका छन् । उनको भन्दा स्थापितले दुई सय ५७ मत कम पाएका छन् । यो वडाबाट एमालेकी उपमेयरकी उम्मेदवार सुनिता डंगोलले भने वडाध्यक्ष श्रेष्ठले भन्दा एक सय १२ बढी मत पाएकी छिन् । उनले सात सय ३४ मत पाएकी छिन्, जुन मेयरका उम्मेदवार स्थापितको भन्दा तीन सय ६९ बढी हो । काठमाडौंमा राप्रपा नेपालको एमालेलाई समर्थन छ । 

वडा नम्बर १ मा पाँचदलीय सत्तागठबन्धनका तर्फबाट मेयरकी उम्मेदवार कांग्रेसकी सिर्जना सिंहको अवस्था पनि स्थापितको जस्तै छ । वडाध्यक्षमा निकटतम् प्रतिस्पर्धी रहेका कांग्रेसका उम्मेदवार किरण श्रेष्ठले पाँच सय ९८ मत प्राप्त गरेका छन् । तर, मेयरकी उम्मेदवार सिंहले श्रेष्ठको भन्दा एक सय ४६ कम अर्थात् चार सय ५२ मत मत मात्रै पाइन् । 

वडा नम्बर १ मा कांग्रेसले पाएको पाँच सय ९८, माओवादी केन्द्रले पाएको ३८ र एकीकृत समाजवादीले पाएको ३६ मतलाई जोड्ने हो भने गठबन्धनकी साझा उम्मेदवार सिंहले ६ सय ७२ मत पाउनुपर्ने हो । 

त्यति मात्र होइन, गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार रहेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले त दुई सय ११ मत मात्रै पाएका छन् । मेयरमा सिंहले पाएको मतभन्दा श्रेष्ठले दुई सय ४१ मत कम पाएका छन्, जुन एमालेको उम्मेदवारतिर गएको देखिन्छ ।     

वडा नम्बर १ बाट मेयरमा सुमन सायमी (स्वतन्त्र)लाई दुई सय १०, मदनदास श्रेष्ठ (राप्रपा)लाई एक सय ६, समीक्षा बाँस्कोटा (विवेकशील साझा पार्टी)लाई १५ मत परेका छन् । उपमेयरतर्फ विनिता मगैया (राप्रपा)लाई दुई सय २५, विद्या श्रेष्ठ (स्वतन्त्र)लाई दुई सय १८, बेन्जीसिंह महर्जन (स्वतन्त्र)लाई ११६ र कृति कंसाकर (विवेकशील साझा पार्टी)लाई ४३ मत परेको छ । वडा नम्बर १ मा वडाध्यक्षतर्फ स्वतन्त्रले चार सय ४१ र दुई सय २८ राप्रपाले दुई सय २८ मत पाएका छन् । 

काठमाडौंको वडा नम्बर २ को मतको तस्बिर पनि उस्तै छ । वडाध्यक्षमा एमालेका उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ एक हजार तीन सय ७९ मत पाएर विजयी भएका छन् । जब कि एमालेका मेयरका उम्मेदवार स्थापितले सात सय २८ मत मात्रै पाएका छन् । अर्थात् एमालेका सात सय ५१ मत मत स्वतन्त्र उम्मेदवार बालेनतर्फ गएको देखिन्छ । यहाँ एमालेकी उपमेयरकी उम्मेदवार डंगोलले वडाध्यक्षकै हाराहारी एक हजार तीन सय ४७ मत पाएकी छिन् । यो वडामा बालेनले एक हजार दुई सय २० मत पाएका छन् । 

वडा नम्बर २ मा गठबन्धनका मत पनि क्रस भएका छन् । कांग्रेसका वडाध्यक्षका उम्मेदवार सूर्यलाल महर्जनले नौ सय ६३ मत पाएका छन्, तर मेयरकी उम्मेदवार सिंहले चार सय ९७ मत मात्रै पाएकी छिन् । एउटै पार्टीका दुई उम्मेदवारबीचको बाँकी चार सय ६६ मत पनि स्वतन्त्र उम्मेदवार बालेनतर्फ गएको देखिन्छ । जब कि, गठबन्धनमा रहेका कांग्रेसका वडाध्यक्षका उम्मेदवारको नौ सय ६३, माओवादीको एक सय ७७, एकीकृत समाजवादीको ७४ र जसपाका उम्मेदवारले पाएको १८ मत जोड्ने हो भने सिंहले १२ सय ३२ पाउनपर्ने हो । तर, त्यसभन्दा ७३५ कम मत उनले पाएकी छिन् । 

यो वडामा गठबन्धनका उपमेयरका उम्मेदवारले झन् धेरै कम मत पाएका छन् । गठबन्धनमा रहेका सबै दलका वडाध्यक्षका उम्मेदवारले पाएको मत जोड्दा एक हजार दुई सय ३२ हुन्छ, तर उपमेयरका साझा उम्मेदवार श्रेष्ठले दुई सय ६ मत मात्रै पाए । यो वडाबाट उपमेयरतर्फ एमालेको डंगोललाई एक हजार तीन सय ४७, विनिता मगैया (राप्रपा)लाई दुई सय ५९, बेन्जीसिंह महर्जन (स्वतन्त्र)लाई एक सय ७७ र कृति कंसाकार (विवेकशील साझा पार्टी)लाई ८३ मत परेको छ । 

उपत्यकाबाहिरका महानगरमा पनि क्रस मतको उस्तै अंक छ । वीरगन्ज महानगरपालिकामा अहिलेसम्म वडा नम्बर ३२ को नतिजा आएको छ भने १, २, ३, ४, ३० र ३१ वडाको मतगणना जारी छ । वडाध्यक्ष र मेयर–उपमेयरले पाएको मतको विश्लेषण गर्ने हो भने यहाँ पनि क्रस भोटको अनुपात सहजै पत्ता लाग्छ । 

ललितपुर : २९ वडा रहेको ललितपुर महानगरमा अहिलेसम्म २ वटा वडाको परिणाम आएको छ । ललितपुरमा पनि क्रस मतको अनौठो अंकगणित छ । गठबन्धनका तर्फबाट मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले वडा नम्बर १ मा आठ सय ७७ मत पाएका छन्, जब कि गठबन्धनकै उपमेयरका माओवादीका उम्मेदवार बाबुराजा बज्राचार्यले एक सय ८१ मत मात्रै पाएका छन् । 

वडामा गठबन्धनका मेयरका भन्दा उपमेयरका उम्मेदवारको ६९६ कम मत आएको छ । उपमेयरमा एमालेकी उम्मेदवार मञ्जली शाक्यलाई चार सय ४४ मत परेको छ । उपमेयरमा उम्मेदवार नभए पनि रूखमा तीन सय ३० मत परेको छ । राप्रपाबाट मेयर रहेका अष्टबहादुर महर्जनले एक सय आठ मत पाएका छन् । 

वडा नम्बर १ मा पुतली चिह्न लिएका स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार ६ सय ६१ मत पाएर निर्वाचित भएका छन् भने कांग्रेसका ध्रुुवलाल तण्डुकारले चार सय २५ मत पाएका छन्, जुन मेयर महर्जनले पाएको भन्दा ४५२ कम मत छ । यो वडामा वडाध्यक्षका उम्मेदवारहरू एमालेका दिनेश तण्डुकारले तीन सय ५१, राप्रपाका निर्मल शर्माले ६८ र भुइँकटहर चिह्न लिएका स्वतन्त्र उम्मेदवार सुशील सापकोटाले ४१ मत पाएका छन् । 

ललितपुर महानगरको वडा नम्बर २ मा पनि क्रस मत देखिएको छ । यहाँ एकीकृत समाजवादीका राजेशकुमार महर्जन एक हजार आठ सय ३० मत ल्याएर वडाध्यक्षमा निर्वाचित भए भने कांग्रेसका उम्मेदवार विनयप्रसाद जोशीले पाँच सय ६० मत पाएका छन् । 

गठबन्धनका उपमेयरका उम्मेदवारले त सात सय ६८ मत मात्रै पाएका छन् । उपमेयरमा एमालेको मञ्जली शाक्यलाई नौ सय २५ मत परेको छ । उपमेयरमा राप्रपाकी स्वर्णिमा शाक्यलाई तीन सय ४६ मत छ भने उम्मेदवार नभए पनि रूखमा चार सय ७२ र कलममा एक सय ७८ मत खसेको छ । 

यो वडामा एमालेका वडाध्यक्षका उम्मेदवार पुरुषोत्तम थापाको ६ सय चार मत आउँदा एमालेका मेयरका उम्मेदवारले हरिकृष्ण व्यञ्जनकारले सात सय ११ मत पाएका छन् । मेयरमा उम्मेदवार नभए पनि कलममा एक सय २२ मत परेको छ । मेयरमा राप्रपाका महर्जनको एक सय ६० मत छ । वडाध्यक्षमा राप्रपाका कृष्णकुमार सिलवालको एक सय एक मत आएको छ ।

उपत्यकाबाहिरका महानगरमा पनि क्रस मतको उस्तै अंक छ । वीरगन्ज महानगरपालिकामा अहिलेसम्म वडा नम्बर ३२ को नतिजा आएको छ भने १, २, ३, ४, ३० र ३१ वडाको मतगणना जारी छ । वडाध्यक्ष र मेयर–उपमेयरले पाएको मतको विश्लेषण गर्ने हो भने यहाँ पनि क्रस भोटको अनुपात सहजै पत्ता लाग्छ । 

वीरगन्ज महानगरको वडा नम्बर ३२ मा जसपाका उम्मेदवार रियाज अहमद एक हजार ९९ मत ल्याएर विजय भएका छन् । यो वडामा गठबन्धनमा रहेका दलहरू कांग्रेसका वडाध्यक्षले नौ सय ४६, माओवादीका लागि ६ सय ८४ र एकीकृत समाजवादीकाले एक सय ४३ मत पाएका छन् । 

वडाध्यक्ष जितेको जसपासहित गठबन्धनका सबै वडाध्यक्षका उम्मेदवारको मत गणना गर्ने हो भने २८७२ मत हुन्छ । गठबन्धनका मेयरका उम्मेदवार राजेश सिंहले एक हजार सात सय पाँच मत मात्रै पाएका छन् । यही गठबन्धनबाट उपमेयरका उम्मेदवार बनेका इम्तियाज आलमलाई सात सय २६ मत परेको छ, जब कि कांग्रेसकै वडाध्यक्षको मतभन्दा २२० कम मत हो । 

यहाँ मेयर एमाले र उपमेयर लोकतान्त्रिक समाजवादीले लिएर तालमेल छ । तर, उनीहरूको मतमा पनि क्रस भएको छ । उदाहरणका लागि एमालेका वडाध्यक्षका उम्मेदवारले नौ सय ५२ मत पाएका छन्, जब कि एमालेकै मेयरका उम्मेदवार विजय सराबगीले आठ सय ४५ मत पाएका छन् । 

एमालेका निकै कम मत लोसपाका उपमेयरका उम्मेदवारले पाएका छन् । लोसपाका उपमेयरका उम्मेदवार पुरुषोत्तमलाल झाले मात्रै एक सय ७० मत पाएका छन् । उपमेयर झाले पाएको मत मेयरका उम्मेदवार सराबगीको भन्दा ६७५ मत थोरै हो । मेयरमा राप्रपाका गिरीश गिरिले आठ मत पाएका छन् ।

वीरगन्ज : वीरगन्ज महानगरको वडा नम्बर ३२ मा जसपाका उम्मेदवार रियाज अहमद एक हजार ९९ मत ल्याएर विजय भएका छन् । यो वडामा गठबन्धनमा रहेका अन्य दलहरू कांग्रेसका वडाध्यक्षका उम्मेदवारले नौ सय ४६, माओवादीका उम्मेदवारले ६ सय ८४ र एकीकृत समाजवादीका उम्मेदवारले एक सय ४३ मत पाएका छन् । अर्थात् गठबन्धनले समग्र दुई हजार आठ सय ७२ मत पाए । तर, जसपाका तर्फबाट गठबन्धनको मेयरका उम्मेदवार राजेश सिंहले एक हजार सात सय पाँच मत मात्रै पाए । यही गठबन्धनबाट उपमेयरका उम्मेदवार बनेका कांग्रेसका इम्तियाज आलमले सात सय २६ मत मात्रै पाए । 

वीरगन्जमा मेयर एमाले र उपमेयर लोकतान्त्रिक समाजवादीले लिएर तालमेल छ । तर, उनीहरूको मतमा पनि क्रस भएको छ । उदाहरणका लागि वडा नम्बर ३२ मा एमालेका वडाध्यक्षका उम्मेदवारले नौ सय ५२ मत पाएका छन्, तर एमालेकै मेयरका उम्मेदवार विजय सराबगीले आठ सय ४५ मत मात्रै पाएका छन् । एमालेका निकै कम मत लोसपाका उपमेयरका उम्मेदवारले पाएका छन् । लोसपाका उपमेयरका उम्मेदवार पुरुषोत्तमलाल झाले एक सय ७० मत मात्रै पाएका छन् । मेयरमा राप्रपाका गिरीश गिरिले आठ मत पाएका छन् ।

भरतपुर : मेयरमा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल प्रतिस्पर्धामा उत्रेपछि भरतपुर महानगरमा पनि क्रस मत ठूलो देखिएको छ । यहाँ पाँचदलीय गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच चुनावी प्रतिस्पर्धा छ । सत्तागठबन्धनबीच भरतपुरमा वडैसम्म तालमेल छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार आठ सय ३९ मत खसेको छ । 

महानगरको वडा नम्बर १ मा कांग्रेसका उम्मेदवार केशव महर्जन अध्यक्षमा निर्वाचित भएका छन् । परिणामअनुसार महर्जनले एक हजार तीन सय ९७ मत प्राप्त गरेका छन् । तर, यो वडामा गठबन्धनबाट मेयरका उम्मेदवार रेनु दाहाललाई एक हजार दुई सय आठ मत र गठबन्धनबाट उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीलाई एक हजार तीन सय ६२ मत परेको छ । यो वडामा बागी उम्मेदवार भुइँकटर लिएर चुनाव लडेका पौडेलले चार सय ३० मत पाएका छन् । 

भरतपुर– १ मा एमालेका वडाध्यक्षका उम्मेदवार शुक्रकुमार श्रेष्ठले एक हजार तीन सय १३ मत पाएका छन् । एमालेका मेयरका उम्मेदवार विजय सुवेदी एक हजार ८७ मत पाउँदा उपमेयरका उम्मेदवार राप्रपाका हिमला गुरुङले आठ ७७ मत पाएकी छिन् । कांग्रेसका सबै मत गठबन्धनका मेयरलाई नगएजस्तै एमालेका सबै मत राप्रपाको उपमेयरकोमा गएका छैनन् । 

यसबाहेक यो वडामा मेयरतर्फ प्रवीन काफ्ले (विवेकशील साझ) आठ, योगलाल श्रेष्ठ (स्वतन्त्र) आठ, यमकान्त शर्मा कँडेल (स्वतन्त्र) चार, सूर्यप्रसाद रेग्मी (नेकपा माले) तीन, कृष्ण गिरी (लोकतान्त्रिक समाजवादी पार्टी) दुई, सुरेन्द्र परियार (नेकपा माओवादी) दुई, हरिप्रसाद दुवाल (नेमकिपा) एक, दीपेन्द्र बास्तोला (उन्नत लोकतन्त्र पार्टी) एक र सुमन अधिकारी (स्वतन्त्र)ले एक मत पाएका छन् । 

भरतपुरका वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका उम्मेदवार मनोज रानाभाट निर्वाचित भएका छन् । रानाभाट दुई हजार ९९ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका कृष्णबहादुर केसीले दुई हजार ६५ मत प्राप्त गरेका थिए । 

महानगरपालिकाको वडा नम्बर ३ मा एमालेका उम्मेदवार विकास थापा अध्यक्षमा निर्वाचित भएका छन् । थापा एक हजार ६ सय ६६ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी पाँचदलीय गठबन्धनबाट कांग्रेसका भरतप्रसाद लामिछानेले एक हजार ४९ मत प्राप्त गरेका थिए । 

पोखरा : गठबन्धनका तर्फबाट एकीकृत समाजवादीले मेयर र कांग्रेसले उपमेयर पाएको तथा एमालेभित्र अन्तर्विरोध देखापरेको पोखरा महानगरमा पनि क्रस मत देखिएको छ । अहिलेसम्म पोखरा महानगरमा १, २ र १२ वडाको नतिजा आएको छ । 

वडा नम्बर १ मा कांग्रेस, २ र १२ मा कांग्रेसका वडाध्यक्ष विजयी भएका छन् । वडा नम्बर १ मा एमालेका सहारा प्रधानले एक हजार एक सय ४५ मत प्राप्त गरी जित निकालेकी हुन् भने गुरुङले एक हजार एक सय चार मत प्राप्त गरिन् । वडा नम्बर १ मा सत्तारूढ गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार धनराज आचार्यले एक हजार ९३ मत पाएका थिए । यो वडामा गठबन्धनबाट उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले एक हजार ५७ मत पाएकी छिन् । 

एमालेका कृष्णबहादुर थापाले वडाध्यक्षले भन्दा एक सयभन्दा कम अर्थात् एक हजार १८ मत पाएका छन् । एमालेको उपमेयरकी उम्मेदवार मञ्जु गुरुङले मेयरका उम्मेदवारभन्दा एक सयभन्दा धेरै मत अर्थात् एक हजार एक सय ९१ मत पाएकी छिन् । 

मेयरतर्फ वडा नम्बर १ मा सुशीला केसी अधिकारी (विवेकशील साझा)ले आठ, शंकर खराल (राप्रपा)ले एक सय २१ र गनेस पौडेल (स्वतन्त्र)ले ५९ मत पाएका थिए । उपमेयरमा यो वडाबाट रञ्जु सेन (राप्रपा)ले एक सय १५ र माधव भण्डारी (विवेकशील साझा) ले आठ मत पाएका छन् ।

पोखराको वडा नम्बर २ मा कांग्रेसका उम्मेदवार दिवसमान प्रधानांगसहित कांग्रेसको प्यानल नै विजयी भएको छ । प्रधानांगले आफ्ना निकटतम् प्रतिस्पर्धी एमालेका दीपक शाहलाई दुई सय ७८ मतले पछि पार्दै विजयी भएका हुन् । विजयी प्रधानांगले नौ सय ३९ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी दीपक शाहले ६ सय ६१ मत प्राप्त गरेका छन् । 
पोखराको वडा नम्बर २ मा क्रस मतको संख्या धेरै देखिन्छ । कांग्रेसका वडाध्यक्षले नौ सय ३९ मत पाएर चुनाव जित्दा गठबन्धनका मेयरका उम्मेदवार आचार्यलाई सात सय ३६ मत आएको छ । गठबन्धनबाट उपमेयरका उम्मेदवार रानाभाटलाई आठ सय ५० मत आएको छ । 

यो वडामा एमालेका वडाध्यक्षले ६ सय ६१ मत ल्याउँदा मेयरका उम्मेदवार थापालाई पाँच सय ५७ मत आएको छ । उपमेयरमा मञ्जु गुरुङलाई ६ सय ६० मत प्राप्त भएको छ । मेयरमा यो वडाबाट सुशीला केसी अधिकारी (विवेकशील साझा) ले चार, शंकर खराल (राप्रपा)ले एक सय ४० र गनेस पौडेल (स्वतन्त्र)ले ५९ मत पाएका छन् । 

महानगरपालिका वडा नम्बर १२ मा कांग्रेसका सन्तोष बास्तोला विजयी भएका छन् । उनी एक हजार एक सय ८५ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएका हुन् । तर, यो वडामा गठबन्धनका मेयरका उम्मेदवार आचार्यलाई नौ सय दुई मत मिलेको छ । उपमेयरमा भने कांग्रेसकी रानाभाटले एक हजार एक सय १६ मत पाएकी छिन् । वडा नम्बर १२ मा एमालेका उम्मेदवार देशभक्त केसीले एक हजार एक सय १३ मत प्राप्त गरेका छन् । एमालेका मेयरका उम्मेदवार थापालाई नौ सय ७७ मत परेको छ । उपमेयरकी उम्मेदवार गुरुङले एक हजार ८० मत पाएकी छिन् । 

वडा नम्बर १२ मा मेयरतर्फ सुशीला केसी अधिकारी (विवेकशील साझा) लाई ११, शंकर खराल (राप्रपा)लाई दुई सय ३० र गनेस पौडेल (स्वतन्त्र) लाई ८४ मत परेको छ । यसैगरी, उपमेयरतर्फ रञ्जु सेन (राप्रपा)ले दुई सय तीन र माधव भण्डारी (विवेकशील साझा)ले आठ मत पाएका छन् । पोखरामा ३, ४, १३ २३, २४ र २५ वडामा मतगणना जारी छ ।

विराटनगर : कांग्रेसले मेयर र जसपाले उपमेयर पाएको तथा दुवै पदमा बागी रहेको विराटनगर महानगरमा पनि क्रस मत धेरै छ । विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धन उम्मेदवारको अग्रता रहे पनि उपमेयरमा भने गठबन्धनका उम्मेदवार एमालेभन्दा पछाडि छन् । महानगरमा १९ वडा छन् । 

महानगरको वडा नम्बर १६ मा कांग्रेसका उद्धवकुमार भुजेल सात सय ५२ मत पाएर विजयी भएका छन् । यो वडामा गठबन्धनका मेयरका उम्मेदवार नागेश कोइरालाले नौ सय ८९ मत पाएका छन् ।  

यो वडामा एमालेका निकटतम् प्रतिस्पर्धी एमालेका कुमार महर्जनले ६ सय ८५ मत पाए भने एमालेका मेयरका उम्मेदवार सागर थापाले नौ सय ८८ मत पाएका छन् । 

विराटनगर– १८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार जितेन्द्र साह सात सय १६ मत ल्याएर विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी जसपाका दिनेशकुमार यादवले ६ सय २४ र प्रतिस्पर्धी कांग्रेसका तुलानन्द यादवले पाँच सय ३० मत प्राप्त गरेका छन् । गठबन्धनका मेयरका उम्मेदवार कोइरालाले यो वडामा सात सय ४८ मत पाएका छन् । एमालेका वडाध्यक्षका उम्मेदवारले चार सय १८ मत पाएका छन् । 

विराटनगर– १७ मा जसपाका समिम कामरको प्यानल विजयी भएको छ । घोषित मतपरिणामअनुसार उनले एक हजार चार सय ५० मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका असलम आलमले नौ सय ४४ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी एमालेका मोहम्मद हमिद आजादले ६ सय दुई र माओवादी केन्द्रका जाबेद आलमले चार सय १२ मत प्राप्त गरेका छन् । यो वडामा मेयरमा कांग्रेसका कोइरालाले उक हजार एक सय ७७ र एमालेका थापाले ६ सय ८१ मत पाएका छन् । 

विराटनगर– १९ मा एमालेका श्याम घिमिरेको प्यानल विजयी भएको छ । घिमिरे नौ सय ८७ मत पाएर प्यानलसहित विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उदय राजवंशीले नौ सय पाँच मत प्राप्त गरेका छन् । यस्तै, प्रतिस्पर्धीहरू माओवादी केन्द्रका शिवराम थान्दारले पाँच सय ३१ र एकीकृत समाजवादीका प्रेमलाल खवासले एक सय १० मत प्राप्त गरेका छन् । यो वडामा कांग्रेसका मेयरका उम्मेदवारले आठ सय आठ र एमालेका थापाले पाँच सय २३ मत पाएका छन् । 

विराटनगरमा गणेश लम्साल, वीरगन्जमा तिवारी यादव, चितवनमा विवेक पोख्रेल, पोखरामा गोविन्द सुवेदी र काठमाडौंमा केशवप्रसाद पाण्डे

सुझावित समाचार