कञ्चनपुरको कृष्णपुरमा मतगणना स्थगित

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

कञ्चनपुरको भीमदत्त नगरपछि कृष्णपुर नगरमा पनि मतगणना रोकिएको छ। कृष्णपुर नगरपालिका– ९ मा खसेको मतभन्दा बढी मत देखिएपछि राजनीतिक दलले मतगणना रोकेका छन्। कांग्रेसबाहेकका राजनीतिक दलले सोमबार बिहान ११ बजेदेखि मतगणना अवरुद्ध गरेका हुन्।

खसेको कुल मतभन्दा बढी देखिएपछि कांग्रेसबाहेकका राजनीतिक दलले मतगणना बहिष्कार गरेका नेकपा (एकीकृत समाजवादी) कृष्णपुरका सचिवालय सदस्य कुवेर खड्काले बताए। उनका अनुसार पञ्चाधिन माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा एक हजार ९१४ मत खसेकोमा गणना गर्दा २ हजार ६४ देखिएपछि गणना रोकिएको हो। ‘हामी समाजवादीसहित एमाले, माओवादी र राप्रपाले बहिष्कार गरेका छौँ,’ उनले भने, ‘मतदानमा भएको फर्जी काम रोक्नुपर्छ।’

समाजवादीले मतदानमा अनियमितता गर्नेमाथि छानबिन गरेर कारबाहीको माग गरेको छ। समाजवादी कृष्णपुरका अध्यक्ष दिवानसिंह कार्कीले हस्ताक्षर गरेको विज्ञप्तिमा राष्ट्रिय मावि (क) बुथमा मृत्यु भएका मान्छेका नाममा फर्जी हालेको भन्दै उजुरी दिएका छन्। एमाले कृष्णपुर नगर कमिटीले समेत सत्तापक्षले चुनाव जित्नका लागि धाँधली गरेको आरोप लगाएको छ।

तर, कांग्रेसका नेताले भने एमालेसहितका दलहरूले हार्न थालेपछि अनेकन आरोप लगाएर विरोधमा उत्रिएको दाबी गरिरहेका छन्। कृष्णपुर नगरका निर्वाचन अधिकृत जनक बुढाले वडा ९ को मतगणनामा कम्प्युटरमा डाटा इन्ट्री गर्दा प्राविधिक त्रुटि भएको बताए।

आइतबार बिहान ११ बजेदेखि मतगणना रोकिएको भीमदत्त नगरपालिकामा सोमबार ५ बजेसम्म सुचारु भएको छैन। भीमदत्त नगरपालिका–२ को मत गणना गर्दा एक-एक सयको पोकामा १२३ मत भेटिएको भन्दै कांग्रेसबाहेकका दलहरूले विरोध गरेपछि मतगणना स्थगित भएको थियो। पुन मत गणनाका लागि भीमदत्त र कृष्णपुरमा सर्वदलीय बैठक जारी छ। 

सुझावित समाचार