अन्तरदेशीय प्रसारण लाइन बनाउने कम्पनीमा लगानी गर्न प्राधिकरणलाई स्वीकृति

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणले नेपाल र भारतबीच विद्युत् व्यापारका लागि प्रस्तावित न्यू बुटवल–गोरखपुर चार सय केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने कम्पनीमा वैदेशिक लगानीको स्वीकृति पाएको छ । 

भारतले प्रसारण लाइन आयोजनाअन्तर्गत भारततर्फको खण्ड निर्माण गर्न बुटवल गोरखपुर क्रसबोर्डर ट्रान्समिसन कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको हो । न्यू बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइनअन्तर्गत भारततर्फ पर्ने लाइन निर्र्माण गर्न प्राधिकरण र भारत सरकारको स्वामित्वको पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेडको ५०–५० प्रतिशत सेयर रहने गरी संयुक्त कम्पनी स्थापना हुनेछ । नेपालतर्फको प्रसारण लाइन भने प्राधिकरण आफैँले निर्माण गर्नेछ । 

यसअघि मन्त्रिपरिषद्को १९ साउन ०७८ को बैठकले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको भारततर्फको खण्ड निर्माणका लागि स्थापना गरिने कम्पनीमा ५० प्रतिशत सेयर लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो । 

नवलपरासीको सुनवल नगरपालिका–१३ स्थित न्यू बुटवल सबस्टेसनबाट सुरु भई भारतको गोरखपुर सबस्टेसनसम्म पुग्ने चार सय केभी डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब एक सय २० किलोमिटर छ । त्यसमध्ये नेपालतर्फ करिब २० किलोमिटर पर्छ । कम्पनीको ५० प्रतिशत इक्विटीको हुन आउने ४६ करोड भारतीय रुपैयाँ (७३ करोड ६० लाख रुपैयाँ) रकम भारतमा स्थापना हुने संयुक्त कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणले स्वीकृति पाएको हो । कम्पनीमा पावर ग्रिडको पनि प्राधिकरणको बराबर नै लगानी रहनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले वैदेशिक लगानीको स्वीकृति पाएसँगै आयोजना निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको लगानीमा भारतमा संयुक्त कम्पनी संस्थापनाको बाटो खुलेको बताए । ‘कम्पनी संस्थापनाका लागि प्रबन्धपत्र र नियमावली तयारी अवस्थामा छन्, अब प्राधिकरणले भारतबाट वैदेशिक लगानीको स्वीकृति पाएसँगै कम्पनी संस्थापनाको प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।

नेपाल–भारत ऊर्जासचिव तथा सहसचिवहरूको संयन्त्रको २७–२८ असोज ०७६ मा भएको सातौँ बैठकले प्रसारण लाइन निर्माणको लगानी स्वरूपलाई टुंगो लगाएको थियो । अनुमानित लागत करिब चार अर्ब ६२ करोड भारु (सात अर्ब ३९ करोड रुपैयाँ) रहेको आयोजनाको वित्तीय व्यवस्थापन ८० प्रतिशत ऋण र २० प्रतिशत इक्विटीबाट जुटाइनेछ । प्रसारण लाइन निर्माणका लागि ठेकेदार छनोटका निम्ति टेन्डर डकुमेन्ट बनाउने काम भइरहेको घिसिङले बताए । तीन वर्षभित्रमा निर्माण सक्ने लक्ष्यका साथ निर्माण प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए ।

प्राधिकरण र पावर ग्रिडबीच भदौ ०७८ मा कम्पनी स्थापनाका लागि संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा हस्ताक्षर भएको थियो । करिब दुई हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने क्षमताको प्रसारण लाइन निर्माण गर्न लागिएको हो । हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तरदेशीय चार सय केभी प्रसारण लाइनभन्दा बुटवल–गोरखपुर प्रसारण लाइनले झन्डै डबल क्षमतामा विद्युत् प्रवाह गर्न सक्नेछ । 

सुझावित समाचार