शनिबार मध्यरातिसम्मको मतगणनाको नतिजाले स्थानीय तहमा पाँच वर्षअघिको राजनीतिक शक्तिसन्तुलनमा हेरफेर हुने संकेत, ०७४ को निर्वाचनबाट पहिलो शक्ति बनेको एमालेको बिरासत दोस्रो स्थानमा रहेको कांग्रेसले खोस्ने सम्भावना

शनिबार मध्यरातिसम्मको मतगणनाको नतिजाले स्थानीय तहमा पाँच वर्षअघिको राजनीतिक शक्तिसन्तुलनमा हेरफेर हुने संकेत देखिएको छ । ०७४ को निर्वाचनबाट पहिलो शक्ति बनेको एमालेको बिरासत दोस्रो स्थानमा रहेको कांग्रेसले खोस्ने सम्भावना देखिएको छ ।
यद्यपि, नतिजा आइसकेका १४ स्थानीय तहमा भने एमालेको अग्रता छ । एमालेले ६ प्रमुख र पाँच उपप्रमुख, कांग्रेसले पाँच प्रमुख र पाँच उपप्रमुख, एकीकृत समाजवादीका दुई प्रमुख र एक उपप्रमुख तथा माओवादीले एक प्रमुख र दुई उपप्रमुखमा जित निकालेको छ ।
मतगणना जारी रहेका स्थानीय तहमध्ये कांग्रेसले २६३ प्रमुख र २०८ उपप्रमुख, एमालेले १६७ प्रमुख र १७९ उपप्रमुख, माओवादीले १०१ प्रमुख र १२७ उपप्रमुख तथा जसपाले २३ प्रमुख र १९ उपप्रमुखमा अग्रता लिइरहेका छन् । त्यस्तै, एकीकृत समाजवादीको १० प्रमुख र १९ उपप्रमुख तथा लोसपाको ६ प्रमुख र ५ उपप्रमुखमा अग्रता छ । कतिपय पालिकामा स्वतन्त्र उम्मेदवार अगाडी छन् ।
पाँचदलीय गठबन्धनबीच तालमेल भएकाले ६ महानगर र ११ उपमहानगरमा पनि एमालेले ०७४ को वर्चस्व बचाउन कठिन देखिएको छ । ०७४ मा एमालले तीन महानगर र सात उपमहानगरमा जित निकालेको थियो । तर, प्रारम्भिक गणनाले एमालेका लागि सहज जित देखाएको छैन । त्यस्तै, सत्तागठबन्धनले जितको अपेक्षा गरेका काठमाडौं महानगर तथा जनकपुर र धनगढी उपमहानगरपालिकामा पनि पनि स्वतन्त्र उम्मेदवारले अग्रता कायम गरिरहेका छन् ।
१५ चैतमा पाँचदलीय गठबन्धनबीच चुनावी तालमेल गरेर जाने निर्णय गरेर कांग्रेसले तत्कालका लागि वामगठबन्धनको ढोका बन्द गराएको थियो, जसको प्रत्यक्ष लाभ स्थानीय निर्वाचनमा उसलाई मिलेको छ । स्थानीय निर्वाचनमार्फत राजनीतिक शक्तिसन्तुलन हेरफेर भए यसले आसन्न प्रदेश र संघीय निर्वाचनलाई समेत प्रभावित गर्नेछ । संघीय संसद्मा अहिले एमाले पहिलो शक्ति छ । तर, पाँचदलीय गठबन्धनको सरकार रहेकाले एमाले संघ र सातै प्रदेशमा सरकारबाहिर छ ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा वामगठबन्धन रोक्न अस्त्रका रूपमा अहिलेको गठबन्धनलाई प्रदेश र संघीय निर्वाचनसम्म निरन्तरताको पक्षमा छन् । स्थानीय निर्वाचनमा कांग्रेसको भूमिका र आफ्नो पक्षको नतिजा हेरेर अगाडि बढ्ने पाँचदलीय गठबन्धमा रहेका अन्य दल माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको योजना छ ।
०७४ मा एक सय २३ प्रमुख, एक सय ३७ उपप्रमुख, एक सय ७१ अध्यक्ष र एक सय ९४ उपाध्यक्ष जितेर एमाले पहिलो दल बनेको थियो । यसैगरी एक सय पाँच प्रमुख, ८४ उपप्रमुख, एक सय ६१ अध्यक्ष र एक सय ९३ उपाध्यक्षसहित कांग्रेस दोस्रो दल बनेको थियो । माओवादी तेस्रो स्थानमा आउँदा उसले ३४ प्रमुख, ४३ उपप्रमुख, ७२ अध्यक्ष र ६८ उपाध्यक्षमा जित निकालेको थियो ।
रेसुंगा नगरपालिकामा मेयर र उपमेयर दुवै कांग्रेसले जित्यो
गुल्मीको रेसुंगा नगरपालिकामा मेयर र उपमेयर दुवै कांग्रेसले जितेको छ । मेयरमा खिलध्वज पन्थी र उपमेयरमा अमृतादेवी कुँवर विजयी भएका हुन् । पन्थीले एमालेका उम्मेदवार राजेन्द्र पाण्डेयलाई एक हजार तीन सय ४२ मतान्तरले पराजित गरेका हुन् । पन्थीको आठ हजार ६ सय १४ र पाण्डेयको सात हजार तीन सय २० मत आएको छ । त्यस्तै, कुँवरले एमालेकी रिता पाण्डेयलाई एक हजार पाँच सय ७८ मतान्तरले हराएकी हुन् । कुँवरले आठ हजार ६ सय १९ मत ल्याउँदा पाण्डेयको सात हजार दुई सय ३१ मत आएको छ ।
१४ वडा रहेको रेसुंगामा १० वटा कांग्रेसले जितेको छ । चार वडामा एमाले विजयी भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार वडा नं. २, ३, ४, ५, ७, ९, १०, १२, १३ र १४ मा कांग्रेसको प्यानल नै विजयी भएको हो । त्यस्तै, वडा नं. ६, ८ र ११ मा एमालेको प्यानल नै विजयी भएको छ । वडा नं. १ मा भने एमालेले वडाध्यक्ष मात्रै जितेको छ ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका अध्यक्षमा कांग्रेसका इन्द्रबहादुर कार्की दोब्बर मतान्तरसहित निर्वाचित भएका छन् । कार्कीले तीन हजार तीन सय ८४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस (विपी)का सुरेन्द्र मालीले एक हजार हजार ६ सय चार मत पाएका छन् । उपाध्यक्षमा कांग्रेसकै ज्ञानुकुमारी सेटी तीन हजार १३ मतले बिजयी भएकी छिन् । प्रतिद्वन्द्वी एमालेका इन्द्रबहादुर महराले एक हजार सात सय तीन मत ल्याएका छन् ।
मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा सत्तागठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन् । उनले एमालेका सञ्जयकुमार थकालीलाई दुई मत पराजित गरेका हुन । लालचनले सात सय ६० र थकालीले सात सय ५८ मत पाएका छन् । त्यस्तै, उपाध्यक्षमा ६ सय ९३ मत ल्याएर कांग्रेसका जमुना थकाली विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मीमकुमारी शेरचनले ६ सय १८ मत पाइन् । मुस्ताङकै बारागुङ–मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्षमा रिनजिङ नामगेल गुरुङ र उपाध्यक्षमा ढिकी गुरुङ निर्वाचित भएका छन् । उनीहरू दुवै एमालेका हुन् ।
त्यस्तै, लोमान्थाङ गाउँपालिकामा एमालेका टसी न्हर्वु गुरुङ ६६८ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका टसी गुरुङले ५१४ मत पाए । उपाध्यक्षमा एमालेकै छयुमी विष्ट गुरुङ निर्वाचित भएकी छिन् । उनले ६३२ मत पाउँदा कांग्रेसका छिरिङ ढोका गुरुङले ५२९ मत पाइन् । मुस्ताङकै लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका लोप्साङ छोम्पेल विष्ट ६८९ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एकीकृत समाजवादीका देवबहादुर गुरुङले १८५ मत पाए । त्यस्तै, उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हामो गुरुङ निर्वाचित भएकी छिन् । उनले ६४१ मत पाउँदा कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाइन् ।
मनाङको ङिस्याङ गाउँपालिकाको अध्यक्षमा एमालेका कान्छा घले निर्वाचित भएका छन् । आठ सय ६१ मत ल्याएका घलेले कांग्रेसका छिरिङ ओङमा गुरुङलाई एक सय ४२ मतले पराजित गरेका हुन् । गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ धावा गुरुङ निर्वाचित भएका छन् । मनाङकै नासों गाउँपालिकाको अध्यक्षमा कांग्रेसका धनबहादुर गुरुङ र उपाध्यक्षमा माओवादीका वेदबहादुर गुरुङ निर्वाचित भएका छन् । त्यस्तै, मनाङकै चामे गाउँपालिकामा एमालेका लोकेन्द्रबहादुर घले ३२० मत ल्याएर अध्यक्ष निर्वाचित भएका छन् । उनको प्रतिद्वन्द्वी कांग्रेसका छिरिङध्वर्जे लामालले २७९ ल्याएका थिए । उपाध्यक्षमा कांग्रेसकी मिङ्मार ढोमा लामा ३२५ मत ल्याएर निर्वाचित भइन् । मनाङकै नार्पाभूमि गाउँपालिकामा कोन्जोतेन्जिङ लामा १५८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत पाए । त्यस्तै, उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा निर्विरोध निर्वाचित भएका छन् ।
डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्ष नारासिंह रोकाया र उपाध्यक्षमा अमृता बोहरा निर्वाचित भएका छन् । उनीहरू दुवै माओवादीका हुन् । रोकायाले सात सय ७० र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हेमबहादुर महताराले सात सय ४६ मत पाए । त्यस्तै, उपाध्यक्षमा बोहरा सात सय ५९ तथा उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी चन्द्रावती थापाले सात सय ४९ मत पाए ।
डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका अंगदकुमार राना र उपाध्यक्षमा कांग्रेसकी निमा बूढा निर्विरोध निर्वाचित भएका छन् । छार्कातोङसोङ गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका सेनाङ गुरुङ र उपाध्यक्षमा एमालेका कर्मढुण्डुप गुरुङ निर्वाचित भएका छन् । डोल्पाकै से–फोक्सुन्डो गाउँपालिकाको अध्यक्षमा एमालेका धावासम्डुक गुरुङ र डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका पेम्पा धोर्चे गुरुङ निर्विरोध निर्वाचित भइसकेका छन् । यी दुई पालिकामा बाँकी पदको मतगणना भने सुरु भइसकेको छैन ।
देउवाकै वडामा हार्यो कांग्रेस
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको डडेल्धुरास्थित गृहवडामै कांग्रेस उम्मेदवार पराजित भएका छन् । गन्यापधुरा गाउँपालिका– १ को वडाध्यक्षमा कांग्रेस (बिपी)का नरेश भण्डारी १२९ मतान्तरले निर्वाचित भएका हुन् । भण्डारीले ६ सय ७३ मत पाए भने कांग्रेसका चन्द्रबहादुर देउवाले पाँच सय ४४ मत ल्याए । सभापति देउवासँग असन्तुष्ट पूर्वजिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले एमालेसँग तालमेल गरेर कांग्रेस (बिपी)को चुनाव चिह्न करुवामार्फत भण्डारीलाई उम्मेदवार बनाएको थियो । उनको प्यानलै विजयी भएको छ ।
बाबुरामको वडामा जसपाको प्यानल नै विजयी
पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गोरखास्थित गृहवडामा जसपाको प्यानल नै विजयी भएको छ । पालुङटार नगरपालिका– १ मा ६ सय ४८ मत ल्याएर कृष्णबहादुर परियार वडाध्यक्ष निर्वाचित भएका हुन् । प्रतिद्वन्द्वी कांग्रेसका रेशमबहादुर थापाले पाँच सय आठ मत पाएका छन् । ०७४ मा पनि परियारले नै तत्कालीन नयाँ शक्ति पार्टीबाट वडाध्यक्ष जितेका थिए ।
सोलुखुम्बुको सोताङमा कांग्रेस–माओवादी झडपमा एकको मृत्यु
सोलुखुम्बुको सोताङ गाउँपालिकामा कांग्रेस र माओवादी कार्यकर्ताबीच शुक्रबार झडप हुँदा घाइते भएका एक युवकको शनिबार उपचारका क्रममा ज्यान गएको छ । सोताङ– ३ का माओवादीनिकट ३५ वर्षीय सुदीप राईको जिल्ला अस्पताल फाप्लुमा मृत्यु भएको डिएसपी सुनीलजंग शाहले बताए । शुक्रबार भोट हाल्न मतदान केन्द्र पुगेकी बिरामी वृद्धाको विषयलाई लिएर दुई पार्टीका कार्यकर्ताबीच झडप भएको थियो । भोटका लागि वृद्धालाई बोकेर ल्याएको, तर मतदान गरिसकेपछि घर पुर्याउन बेवास्ता गरेको आरोप कांग्रेस कार्यकर्ताले लगाएका थिए । त्यसैक्रममा भनाभन चल्दा कांग्रेस कार्यकर्ताले प्रहार गरेको ढुंगाले राईको टाउकोमा गम्भीर चोट लागेको थियो । घटनामा संलग्न तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बिरामी वृद्धाको भने शुक्रबार साँझै नै ज्यान गएको थियो ।
रोल्पामा गोलाप्रथाद्वारा माओवादी केन्द्र विजयी
रोल्पाको एक स्थानीय तहको वडामा दुई उम्मेदवारको मत बराबर भएपछि गोलाप्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक गरिएको छ । रोल्पा नगरपालिका– २ मा कांग्रेसका देउचन घर्तीमगर र माओवादीका प्रकाश डाँगीबीच बराबर मत आएपछि गोलाप्रथाद्वारा अन्तिम मत सार्वजनिक गरिएको हो । दुवै उम्मेदवारले पाँच सय ४३ मत प्राप्त गरेपछि भएको गोला प्रथाबाट माओवादीका डाँगी विजयी भएका छन् । सो वडाका दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने कांग्रेसले जितेको छ ।
शुद्धोधन गाउँपालिका– १ मा १ मत अन्तरमा हारजित
रुपन्देहीको शुद्धोधन गाउँपालिकाको वडाध्यक्षमा १ मत अन्तरको हारजित भएको छ । वडा नं. १ को वडाध्यक्षमा १ मतको हारजित भएको हो । एक मतको अन्तरमा विजयी जसपाका उदयराज गडेरियाले नौ सय ९२ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार जंगबहादुर यादव नौ सय ९१ मत पाएका थिए ।
मतदान स्थगन भएका केन्द्र बढे, ८५ पुग्यो
स्थानीय निर्वाचनमा मतदान स्थगन भएका केन्द्रको संख्या ८५ पुगेको छ । निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्राप्त विवरणअनुसार लुम्बिनी प्रदेशबाहेक ६ वटा प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका ८५ केन्द्रमा मतदान स्थगन भएको छ । तीमध्ये कतिपयमा पुनः निर्वाचनको मिति तोकिएको छ भने अन्यमा निर्णय भइसकेको छैन । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पुनः निर्वाचनको मिति तय गर्नुपूर्व स्थगन हुने कारण विश्लेषण, निर्वाचन सामग्रीको भण्डारण, सुरक्षा स्थितिको आकलन गरिनेछ । कतिपय मतदानस्थलमा देखिएको विवाद मिलाउन आयोगबाट टोली पनि जाने भएको छ ।
एमालेले ०७४ मा जितेका पाँच स्थानीय तह गुमायो, तीन नयाँ जित्यो

एमालेले ०७४ मा जितेका गुल्मीको रेसुंगा नगरपालिका, डोल्पाको काइके गाउँपालिका, मनाङको नार्पाभूमि गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका र दार्चुलाको अपी हिमाल गाउँपालिकाको प्रमुख यसपटक गुमाएको छ । त्यस्तै, यसअघि जितेका चार स्थानीय तहका उपाध्यक्ष पनि एमालेले यसपटक गुमाएको छ । शनिबार मध्यरातिसम्मको नतिजाअनुसार अघिल्लोपटक नजितेका मुस्ताङका लोघेकर–दामोदरकुण्ड, लोमान्थाङ गाउँपालिका र बारागुड–मुक्तिक्षेत्र गाउँपालिकामा यसपटक अध्यक्ष जितेको छ । त्यस्तै, अघिल्लोपटक नजितेका दुई पालिकाका उपाध्यक्ष पनि यसपटक जितेको छ । अघिल्लोपटक जितेका तीन पालिका अध्यक्ष एमालेले यसपटक पनि जित हासिल पारेको छ ।
कांग्रेसले ०७४ मा जितेका दुई पालिका गुमायो, तीन नयाँमा जित्यो

कांग्रेसले ०७४ मा जितेका दुई स्थानीय तह यसपटक गुमाएको छ । अघिल्लोपटक नजितेका तीन पालिकाको अध्यक्ष भने हात पारेको छ । उसले मुस्ताङका लोमान्थाङ गाउँपालिका र बारागुड–मुक्तिक्षेत्र गाउँपालिका गुमाएको छ । त्यस्तै, दुई पालिकाको उपाध्यक्ष पनि गुमाएको छ । कांग्रेसले ०७४ मा हार व्यहोरेका गुल्मीको रेसुंगा नगरपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका र मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्ष भने जितेको छ । त्यस्तै, अघिल्लोपटक नजितेका चारवटा पालिकाको उपाध्यक्ष पनि जितेको छ । ०७४ मा जितेका दुई पालिका अध्यक्ष यसपटक पनि जितेको छ ।
०७४ मा जितेको एक स्थानीय तह अहिले पनि माओवादीकै हातमा

मध्यरातिसम्मको नतिजाअनुसार माओवादीले एक स्थानीय तहको अध्यक्ष जितेको छ । ०७४ निर्वाचनमा जितेको डोल्पाको जगदुल्ला गाउँपालिकामा यसपटक पनि माओवादीले अध्यक्ष–उपाध्यक्ष दुवै जितेको छ । गठबन्धनबाट उम्मेदवारी दिएको मनाङको नासोँ गाउँपालिकाको उपाध्यक्ष माओवादीले जितेको छ ।
पहिलोपटक चुनाव लडेको एकीकृत समाजवादीले दुई अध्यक्ष हात पार्यो
एमाले विभाजन गरेर बनेको एकीकृत समाजवादी पहिलोपटक चुनावमा सहभागी भयो । उसले डोल्पाका काइके गाउँपालिका र छार्कातोङसोङ गाउँपालिकामा अध्यक्ष तथा डोल्पोबुद्ध गाउँपालिकामा उपाध्यक्ष निर्विरोध हात पारेको छ । ०७४ मा उपाध्यक्ष जितेको डोल्पाको काइके गाउँपालिका योपटक राप्रपाले गुमाएको छ ।
जहाँ छ स्वतन्त्र र बागीको अग्रता
काठमाडौं महानगर, धनगढी र जनकपुर उपमहानगरलगायत केही स्थानीय तहमा एमाले, कांग्रेस र माओवादीजस्ता ठूला दलका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र र बागी उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्
प्रारम्भिक चुनावी परिणाममा केही स्थानीय तहको मेयरमा स्वतन्त्र र बागी उम्मेदवारले अग्रता लिएका छन् । काठमाडौं महानगर, धनगढी र जनकपुर उपमहानगर, धुलिखेल, बर्दिबास र कन्काई नगरपालिकामा एमाले, कांग्रेस र माओवादीजस्ता ठूला दलका उम्मेदवारलाई स्वतन्त्र र बागी उम्मेदवारले पछि पारिरहेका छन् । शनिबार मध्यरातिसम्मको मतगणनामा काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साहले सत्तागठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंह र एमाले उम्मेदवार केशव स्थापितलाई पछि पारेर चुनौती दिएका छन् । सुरुदेखि पहिलो नम्बरमा रहेका बालेनले अग्रता कायमै राखेका छन् । पेसाले इन्जिनियर बालेन र्यापर पनि हुन् ।
सुदूरपश्चिमको राजधानी धनगढी उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुदेखि दोब्बरभन्दा बढी मतान्तरले ठूला दलका उम्मेदवारमाथि अग्रता लिँदै आएका छन् । उनको मुख्य प्रतिस्पर्धा गठबन्धनबाट कांग्रेस उम्मेदवार नृपबहादुर वडसँग छ । यसअघि ०७४ मा पनि हमाल र वडबीच तीव्र प्रतिस्पर्धा भएको थियो । वडले झिनो मतान्तरले जितेका थिए । हमाललाई ‘सुन्दर सुदूरपश्चिम अभियान’ले लोकप्रिय बनाएको थियो ।
कांग्रेसको निर्णयमा असन्तुष्टि जनाउँदै पार्टीका आधिकारिक उम्मेदवारलाई नै चुनौती दिएर जनकपुर उपमहानगरको मेयरमा बागी उम्मेदवार बनेका मनोजकुमार साह सुडीले दोब्बरभन्दा बढी मतान्तरले अग्रता लिएका छन् । सत्तागठबन्धनले जसपाका लालकिशोर साहलाई उम्मेदवार बनाएपछि असन्तुष्ट सुडीले पार्टी परित्याग गरेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, प्रारम्भिक नतिजामा भने सुडीको निकट प्रतिद्वन्द्वीका रूपमा एमालेका शिवशंकर साह देखिएका छन् ।
काभ्रेको धुलिखेल नगरपालिकाको मेयरमा पनि कांग्रेसका बागी उम्मेदवार विदुरबहादुर बस्नेतले अग्रता लिएका छन् । चुनावी तालमेलका क्रममा गठबन्धनले एकीकृत समाजवादीका दयासागर श्रेष्ठलाई टिकट दिएपछि बस्नेतले बागी उम्मेदवारी दिएका थिए । प्रारम्भिक नतिजामा बस्नेतसँग एमालेका उम्मेदवार अशोककुमार ब्याञ्जू निकट प्रतिस्पर्धामा छन् ।महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा पनि स्वतन्त्र उम्मेदवार प्रह्लादकुमार क्षेत्रीको अग्रता छ । एमाले उम्मेदवार टेकबहादुर बलम्पाकीले उनलाई पछ्याइरहेका छन् ।
झापाको कन्काई नगरपालिकामा समेत कांग्रेसकै बागी उम्मेदवार शेरबहादुर थापाले पनि मतान्तर बढाउँदै अग्रता कायम गरेका छन् । पार्टीले टिकट नदिएपछि उनले बागी उम्मेदवारी दिएका थिए । प्रतिस्पर्धामा एमालेका राजेन्द्रकुमार पोखरेल दोस्रो नम्बरमा छन् । कांग्रेसका आधिकारिक उम्मेदवार रुद्रप्रसाद चिमरिया तेस्रो नम्बरमा छन् ।