पैसा बाँड्दै गरेको अवस्थामा एमालेका वडाध्यक्ष उम्मेदवार रंगेहात पक्राउ

बिहिबार, २९ बैशाख, २०७९
डिजिटल संस्करण

मौन अवधिमा मतदाता प्रभावित पारिरहेको अवस्थामा लमजुङमा एमालेका वडाध्यक्षका उम्मेदवार शिवप्रसाद जोशीलाई स्थानीयले रंगेहात पक्राउ गरेका छन् । लमजुङको बेँसीसहर नगरपालिका– ११ रामचोकबेँसीको बस्तीमा पैसा बाँड्दै गरेको अवस्थामा स्थानीय शिव सेढाईंको समूहले जोशीलाई बुधबार राति साढे १० बजेको समयमा फेला पारेको हो ।

उम्मेदवारले मतदातालाई लुकिछिपी पैसा दिएर अथवा अन्य प्रलोभनमा पारेर भोट मागेको थाहा पाएपछि जोशीको साथबाट एक लाख ३५ हजार नगद पैसासहितको झोला, मोटरसाइकलको साँचो, पैसा बाँडेको नामावली भएको डायरी र अन्य कागजपत्र नियन्त्रणमा राखिएको स्थानीय अनिता सेढाईंले बताइन् । 

२७ गते राति १२ बजेदेखि स्थानीय तह निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको जान्दाजान्दै जोशीले पैसा बाँड्दै भोट माग्दै गरेको अवस्थामा  स्थानीयले फेला पारेका हुन् । घटनाको अनुसन्धानका लागि प्रहरीलाई बुधबार राति नै घटनास्थलमा खटाइएकाले यस विषय प्रमाणित भए कानुनअनुसार कारबाही हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मौन अवधिमा पैसा बाँडेको विषयलाई लिएर बेँसीसहर ११ चितिका स्थानीयले जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार जोशीविरुद्ध उजुरी दिने तयारी गरेको स्थानीय विकल सेढाईंले बताए । 

निर्वाचन आचारसंहिता २०७८, बमोजिम मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था छ ।
 

See More On

सुझावित समाचार