देशभर १० हजारभन्दा बढीसँग छ हतियार, १२ सयले मात्रै बुझाए प्रशासनलाई

शुक्रबार, २३ बैशाख, २०७९
डिजिटल संस्करण
देशभर १० हजारभन्दा बढीसँग छ हतियार, १२ सयले मात्रै बुझाए प्रशासनलाई

प्रतिकात्मक तस्बिर ।

स्थानीय तह निर्वाचनमा सुरक्षालाई मध्यनजर गर्दै गृह मन्त्रालयले व्यक्तिसँग भएका हातहतियार फिर्ता गर्न निर्देशन दिएपछि जम्मा एक हजार दुई सयवटा हातहतियार मात्रै प्रशासनलाई प्राप्त भएको पाइएको छ। देशभर करिब १० हजार व्यक्तिगत हातहतियार भएको तथ्यांक भए पनि निर्वाचनको वेला थोरै व्यक्तिले मात्रै प्रशासनलाई हातहतियार फिर्ता गरेका हुन्।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले देशभरि विभिन्न व्यक्तिले जम्मा एक हजार दुई सयवटा हातहतियार मात्रै बुझाएको जानकारी दिएका छन्। त्यसमध्ये पनि नवीकरण गरिएका मात्रै हातहतियार छन्। नवीकरण नगरिएका र पछिल्ला वर्षहरूमा अनुमति लिएकाहरूबाट हातहतियार फिर्ता नआएको प्रवक्ता पोखरेलले बताए। ‘नियमित रूपमा नवीकरण भएका हातहतियार मात्रै गृह प्रशासनलाई प्राप्त भएको छ,’ उनले भने, ‘यसबाहेकका हातहतियार कहाँ कति छन् भन्नेबारे विद्युतीय रेकर्ड अद्यावधिक गरिएको छैन। यसलाई हामीले व्यवस्थित गर्दैछौँ।’

व्यक्तिले लिएका हतियारको दुरुपयोग गरेको पाइएमा कानुनी कारबाही हुने प्रवक्ता पोखरेलले बताए। अन्यथा हातहतियार फिर्ता नगर्नेलाई कारबाही नहुने पनि उनले बताए। गृह मन्त्रालयले वैशाखको पहिलो सातासम्म व्यक्तिको नाममा रहेका हातहतियार बुझाउन निर्देशन दिएको थियो। तर, निकै कम व्यक्तिले मात्रै निजी रूपमा राखेका हातहतियार प्रशासनलाई बुझाएका हुन्।

काठमाडौंमा मात्रै हातहतियार राख्नेको संख्या पाँच हजार भए पनि फिर्ता गर्नेको संख्या शून्य छ। प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले काठमाडौंमा हतियार फिर्ता गर्नेको संख्या शून्य रहेको जानकारी दिए। उनले चुनावमा धम्क्याउने र त्यसको दुरुपयोग गरेको भेटिएमा कानुनी कारबाही हुने बताए। ‘काठमाडौंका धेरै व्यक्तिले अनुमति लिएर नै हतियार राखेका छन्, तर बुझाउन कोही आएनन्,’ उनले भने, ‘चुनावी सुरक्षामा मात्रै हाम्रो चिन्ता हो।’

प्रजिअ रिजालका अनुसार सुरक्षा थ्रेट भएका व्यक्तिलाई आवश्यकताको आधारमा हतियार राख्न अनुमति दिइन्छ। तर, त्यसमा साना र स्वचालित हातहतियार पर्दैनन्। एकनाले र दुईनालेजस्ता बन्दुक व्यक्तिले राख्न पाउँछन्। खुकुरीलगायतका धारिला हतियार भने प्रशासनलाई बुझाउन पर्दैन। स्वेच्छाले बुझाएका हातहतियार सुरक्षित राखिने र चुनावपछि फिर्ता हुने प्रशासनले जनाएको छ। यसबाहेक प्रशासनले अनुमति नदिएका हातहतियार राख्नेमाथि पनि अनुगमन हुनेछ।

हातहतियारको दुरुपयोग भएमा कारबाही हुने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनाली बताउँछन्। उनका अनुसार चुनावको वेलामा फिर्ता गर्न भनिएका हतियार फिर्ता नगरेको सूचना पाइए प्रहरीले जफत गर्न सक्नेछ। सुरक्षा ‘थ्रेट’ महसुस भएका व्यक्तिले आफ्नो सुरक्षाका लागि अनुमति लिएर हतियार राख्न पाउँछन्। एक व्यक्तिलाई तीनवटासम्म हतियार राख्न दिने कानुनी व्यवस्था छ।

सुझावित समाचार