दलहरूको असमावेशी चरित्र र दलित वञ्चितीकरण

जात व्यवस्थाभित्रको संकीर्ण सोच र परम्परागत मान्यताको निरन्तरताका कारण दलितहरू जहिल्यै उपेक्षामा पर्दै आइरहेका छन्

बिहिबार, २२ बैशाख, २०७९
डिजिटल संस्करण

दलित समुदायका विज्ञ व्यक्तित्वहरू विभिन्न राजनीतिक दलप्रति आस्था राखेर दलित समुदायको अधिकार तथा मुक्तिका लागि लामो समयदेखि संघर्षमा थिए र छन् । देशमा आएका ठूला परिवर्तनमा दलित समुदायले सकेको योगदान दिएको प्रस्ट छ । राज्यका उच्च तहमा दलित समुदायको अर्थपूर्ण सहभागितालाई राजनीतिक दलहरूले उपेक्षा गर्दै आएको तथ्य विगतमा २० राजदूत नियुक्त हुँदा एकजना पनि दलित समुदायबाट नपर्नुले छर्लंग भएको छ । दलित समुदायका व्यक्तिहरू न मन्त्रीका लागि दलको प्राथमिकतामा पर्छन्, न राजदूतका लागि नै । समावेशिता देखाउनुपर्ने भएकाले कहिलेकाहीँ मन्त्रीमा दलितलाई नियुक्त गरिहाले पनि दलित अधिकारसँग सरोकार नै नभएको मन्त्रालयमा लगेर दलितलाई मन्त्री बनाइन्छ । दलित समुदाय राज्यका उच्च तहमा पुग्नका लागि राजनीतिक दलबाटै उपेक्षामा पर्नु भनेको असह्य जातीय विभेद हो । 

दलितहरू योग्य नभएर राज्यका उच्च तहमा पुग्न नसकेका होइनन् । जात व्यवस्थाभित्रको संकीर्ण सोच र परम्परागत मान्यताको निरन्तरताका कारण दलितहरू जहिल्यै उपेक्षामा पर्दै आइरहेका छन् । राजनीतिक दलहरूले मन्त्री तथा राजदूत पदमा नियुक्त गर्न दलित समुदायका व्यक्तिलाई सिफारिस नगरे पनि दलमा आबद्ध भएर राजनीति गर्ने दलित खरो रूपमा विरोधमा उत्रिन सक्दैनन् । आफ्नै दलका नेताविरुद्ध बोल्दै हिँड्दा राजनीतिक भविष्य नै अँध्यारो बन्ने हो कि भन्ने भय दलित अगुवामा अझै कायम छ । यदि त्यसो नहुँदो हो त राज्यको उच्च तहका लागि दलले दलित समुदायका व्यक्तिलाई सिफारिस नगर्दा ती दलित अगुवाले दलभित्र चर्को विरोध गर्नुपर्ने हो । आफूहरूमाथि उपेक्षा गर्ने दलभित्रबाट तत्काल बाहिर आएर संघर्ष गर्ने हिम्मत दलित समुदायका नेताले राख्न जरुरी छ । राजनीतिक दलका नेताहरूले बोलीमा जति नै समावेशी र दलितमैत्री पार्टी हो भनेर गीत गाउँदै हिँडे पनि व्यवहारमा दलितलाई उपेक्षा गरिरहेकै छन् । 

दलित समुदायप्रति संकीर्ण सोच राखेर दलितलाई तल्लोस्तरमा नै राखिराख्नुपर्छ भन्नेहरूको भिड समाजमा कायमै छ । दलित समुदायका व्यक्ति जति नै विज्ञ भए पनि उनीहरूप्रति अनुदार भाव राख्नेहरूका नजरमा अयोग्य ठहरिनु अनौठो होइन । दलहरूले मन्त्री, राजदूत नियुक्तिका लागि सिफारिस गर्दा नातावाद, कृपावादलाई प्राथमिकतामा राख्ने गरेका थुप्रै उदाहरण जीवितै छन् ।

दलभित्रै पनि महत्वपूर्ण विभागमा दलितलाई प्रमुख बनाइँदैन । दलका नेता नै दलितलाई त्यस्तो जिम्मेवारी दिन हच्किने गरेको तितो याथार्थ हामीले देखिरहेकै छौँ । दलको समावेशिताविरोधी निर्णयमा दलित समुदायका नेताहरू मौन बस्नु उदेकलाग्दो छ । राज्यका सबै तहमा सबै निकायमा समावेशी सिद्धान्तलाई अंगीकार गर्नुपर्नेमा संविधानले स्पष्ट गरेको छ । राज्य ऐन–नियममा समावेशितालाई पालना गर्नुपर्ने व्यवस्था छँदै छ । राजनीतिक दलका संविधानमा पनि समावेशिताको व्यवस्था उल्लेख भएका छन् । दलका चुनावी घोषणापत्रमा समेत समावेशितालाई आत्मसात् गर्ने बुँदा थुप्रै छन् । तर, व्यवहारमा राजनीतिक दलहरूले गर्ने हरेक निर्णय असमावेशी बन्दै गएका छन् । 

आफूहरूमाथि उपेक्षा गर्ने दलबाट तत्काल बाहिर आएर संघर्ष गर्ने हिम्मत दलित समुदायका नेताले राख्न जरुरी छ

संवैधानिक निकायमा गरिने राजनीतिक नियुक्ति, राजदूत, मन्त्री, मुख्यमन्त्री प्रदेश प्रमुखलगायत महत्वपूर्ण पदमा दलित समुदायका व्यक्तिलाई सिफारिस या नियुक्त गर्न दलहरूका नेतृत्व तयार देखिँदैनन् । राजनीतिक दलहरूको असमावेशी चरित्रलाई दलित अगुवा, दलित पत्रकार तथा दलित नेताहरूले खबरदारी नगर्नु ठूलो समस्या हो । यो मुलुकमा सबै जातजातिको अधिकार समान हुन्छ । सबैले सबै निकायमा अवसर पाउनुपर्छ भन्ने तथ्य निर्णायक भूमिकामा रहनेहरूलाई कहिले महसुस हुन्छ ? समाज र समुदायबाट पछाडि पारिएका र परेका वर्ग समुदायलाई राज्यको मूलधारमा ल्याएर त्यस्ता वर्ग र समुदायको उत्थानमा ध्यान दिने विषय राजनीतिक दलहरूको प्राथमिकतामा कहिले पर्छ ? दलित समुदायका व्यक्ति पनि नेतृत्व पंक्तिमा रहेर काम गर्न सक्षम छन् भन्ने विश्वास दलका नेतृत्वमा कहिले पलाउँछ ?

महत्वपूर्ण मन्त्रालयको नेतृत्व दलित समुदायका व्यक्तिले पनि गर्न सक्छन् भन्ने विश्वास दलका नेतृत्वमा कहिले पलाउँछ ? यी र यस्ता प्रश्नले गर्दा आज आमदलित समुदाय दलहरूबाट उपेक्षित भइराखेका छन् । दलका नेताहरूको विश्वास या प्राथमिकतामा नपर्दा योग्य र क्षमतावान् दलितहरू पनि अवसरबाट वञ्चित हुनुपरिरहेको छ ।

 आफूसँग भएको क्षमता मुलुकको समृद्धिमा लगाउनबाट धेरै दलित वञ्चित छन् । दलितको शिक्षाको स्तर निकै सुधारिन थालेको छ । पिएचडी गर्ने दलितको संख्यामा समेत वृद्धि भइराखेको अवस्थामा दलका नेताले दलितका पिएचडी देख्दैनन् । ओली सरकारको पालामा डा. निर्मल विश्वकर्मा दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त भए । तर, गठबन्धन सरकार आएपछि राजनीतिक प्रतिशोधको सिकार भएर पूरा कार्यकाल काम गर्न नपाई फिर्ता हुनुप¥यो । गठबन्धन सरकारको प्राथमिकतामा त कुनै दलित नै परेनन् राजदूतका लागि । पार्टीमा बसेर आजीवन काम गरेका योग्य र सक्षम दलितलाई दलहरूले गर्ने राजनीतिक नियुक्तिका लागि सिफारिसमा नपार्नु आमदलित समुदायकै दुर्भाग्य भएको छ ।

यसले राजनीतिक दलहरूभित्र इमानदारीको खडेरी परेको बुझ्न कठिन छैन । दलित समुदायका नेता तथा दलित अधिकारकर्मीले आफूले आस्था राखेको पार्टीले नै आफूमाथि उपेक्षा गर्छ भने ‘एस म्यान’ भएर बस्नुभन्दा जात व्यवस्थाभित्रको सामन्ती सोचविरुद्ध संगठित आवाज उठाउन ढिला भइसकेको छ । संविधान र कानुनले व्यवस्था गरेको अधिकारलाई जात व्यवस्थाका मतियारहरूले खोस्न खोज्छन् भने त्यसविरुद्ध बोल्ने आँट दलितमा हुनुपर्छ । पार्टीमा समस्या हुन्छ, नेता रिसाउँछन् भनेर पार्टीले असमावेशी निर्णय गर्दा पनि मौन बस्नु भनेको दलित आन्दोलनमाथि गम्भीर कुठाराघात गर्नु हो । त्यसैले, पार्टीभित्रको गलत प्रवृत्तिविरुद्ध बोल्न सबै दलित नेता तथा दलित अगुवा एकठाउँमा आउन आवश्यक भएको छ । आफैँमाथिको बेवास्तालाई विभिन्न पार्टीमा आस्था राख्ने दलितले नै पहिचान गर्न नसक्नु गम्भीर कमजोरी हो ।

सुझावित समाचार