सुरुमा गठबन्धनको विपक्षमा रहेका कांग्रेस नेता डा. शेखर कोइरालाको गृहनगर विराटनगरमा पाँचदलीय गठबन्धनको जग नै कमजोर छ, त्यसमाथि मेयरमा जसपा र उपमेयरमा माओवादी नेताको बागी उम्मेदवारी परेपछि कांग्रेसले आफ्नो गढ मानेको विराटनगरको चुनाव थप पेचिलो बनेको छ
पार्टी सभापति शेरबहादुर देउवासँग धेरै चरण वार्ता र ‘बार्गेनिङ’पछि कांग्रेस नेता डा. शेखर कोइराला विराटनगर महानगरमा आफूनिकट नागेश कोइरालालाई मेयरको उम्मेदवार बनाउन सफल भए । उनी सुरुमा कांग्रेस एक्लै चुनावी मैदानमा जानुपर्ने पक्षमा थिए । सत्तागठबन्धनका तर्फबाट नागेश उम्मेदवार भएपछि उनलाई मेयर बनाउन शेखर विराटनगरमै अड्डा जमाएर बसेका छन् ।
६ महानगर र ११ उपमहानगरका मेयर–उपमेयरको सिट बाँडफाँड हुँदा विराटनगर महानगरको उपमेयर गठबन्धनमा रहेको अर्को दल जनता समाजवादी पार्टीले पाएको छ । पार्टीका नाममा आएको सिटलाई जसपा अध्यक्ष उपेन्द्र यादवले परिवारकै सदस्यलाई थमाए । अध्यक्ष यादवको छोरा अमरेन्द्र गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार छन् । प्रदेश १ को एक मात्र महानगरमा छोरालाई उपमेयर बनाएर अध्यक्ष यादवले राजनीतिमा पारिवारिक बिरासत तयार गर्न खोजेका छन् ।
एमाले र राप्रपाबाट मात्रै होइन, नागेश र अमरेन्द्रलाई गठबन्धनभित्रकै दलका असन्तुष्टले पनि चुनौती दिएका छन् । ०७४ को स्थानीय निर्वाचनमा मेयर पदका लागि तत्कालीन संघीय समाजवादी फोरमबाट आश्चर्यजनक मत पाएका उमेश यादवले अहिले जसपा छाडेर स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिएका छन् । समानुपातिक समावेशिताको वकालत गर्ने अध्यक्ष यादवले संविधानको मर्मविपरीत छोरालाई उम्मेदवार बनाएको भन्दै जसपाभित्र असन्तुष्टि छ । उता माओवादी केन्द्रकी नमिता न्यौपानेले उपमेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।
बागी गठबन्धनका लागि एक खुकुलो गाँठो हो । यसैकारण कांग्रेस नेता डा। कोइरालाले माओवादी नेताहरूसँग समेत संवाद गरेका छन् । नागेशको चुनावी दौड डा। कोइरालाको राजनीतिक प्रतिष्ठासँग जोडिएको छ । त्यसैले विराटनगरको चुनावी माहोल जति–जति तात्दै छ, त्यति–त्यति नै प्रतिष्ठाको विषय बन्दै छ । तरुण दलको राजनीतिबाट मोरङ कांग्रेसको सचिव हुँदै उपसभापति भएका नागेशले डा। कोइरालाकै जोडबलमा मेयरको टिकट पाएका हुन् ।
विराटनगरलाई कांग्रेसले आफ्नो बिरासत ठानेर प्रभावकारी तालमेल गर्न नचाहँदा गठबन्धन कमजोर भएको माओवादीको विराटनगर महानगर इन्चार्ज शिवकुमार मण्डल बताउँछन् । उनका अनुसार कांग्रेसले प्रदेश र संघको आगामी निर्वाचनलाई ध्यान दिँदै वडासम्म तालमेल गरेको भए सकारात्मक सन्देश जाने थियो । तर, कांग्रेसकै दम्भका कारण विराटनगरमा गठबन्धन खुकुलो भएको इन्चार्ज मण्डलको भनाइ छ । एकीकृत समाजवादी प्रदेश १ का सचिव महेश रेग्मी पनि कांग्रेसकै दम्भले गठबन्धन अपेक्षाकृत नभएको बताउँछन् । ‘कांग्रेसले दम्भ नदेखाएको भए विराटनगरले पहिलेझैँ देशभरि सकारात्मक सन्देश दिन सक्ने थियो । तर, अब समय धेरै घर्किसकेको छ,’ उनले भने ।
चुनावी परिचालनमा पनि गठबन्धनको कमजोरी देखा परेको छ । चुनावी सरगर्मी अन्तिम चरणमा आइपुग्दा गठबन्धनमा आबद्ध दल एक्लाएक्लै प्रचारप्रसारमा छन् । मेयरका उम्मेदवार नागेश र उपमेयरका उम्मेदवार अमरेन्द्रको संयुक्त प्रचारप्रसार कहिलेकाहीँ मात्रै हुने गरेको छ । उनीहरूले योजना बनाएर संयुक्त प्रचारप्रसार गरेका छैनन् ।
नागेश पार्टी नेतालाई सहभागी गराएर घरदैलोमा एक्लै व्यस्त छन् । कहिले उनी महेश आचार्य त कहिले डा। कोइरालालाई लिएर घरदैलो गरिरहेका छन् । माओवादी र एकीकृत समाजवादीलाई कांग्रेस र जसपाले संयुक्त प्रचारप्रसारमा साथ लिएका छैनन् । गठबन्धनको संयुक्त घोषणापत्र पनि जारी भएको छैन । जसपाका बागी उम्मेदवार उमेश यादवले नागेशको मत काट्न सक्ने चिन्ता कांग्रेसलाई छ ।
विद्यार्थी राजनीतिबाट उदाएका सागर थापालाई एमालेले मेयरको प्रतिस्पर्धामा उतारेको छ । राप्रपाबाट मेयरमा प्रह्लादप्रसाद साह र उपमेयरमा बबिता आचार्यको उम्मेदवारी छ । एमालेले व्यवस्थित प्रचार गरेको छ । केन्द्रीय नेताहरू नै चुनावी परिचालनमा छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार विराटनगरमा कुल ९७ पदका लागि हुने निर्वाचनमा सात सय २१ जनाको उम्मेदवारी छ । प्रदेश १ को राजधानी विराटनगरको मेयर पदका लागि १६ र उपमेयरमा १५ जनाको उम्मेदवारी कायम छ । विराटनगरमा १९ वडा छन् ।
उम्मेदवारहरूले आ–आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । गठबन्धनबाट मेयरका उम्मेदवार कोइरालाले महानगरमा बेथिति र भ्रष्टाचार पूर्ण रूपमा रोक्ने एजेन्डा अगाडि सारेका छन् । सक्षम र समृद्व विराटनगर बनाउने, शिक्षा र स्वास्थ्यका आधार तयार पार्ने, महानगरको आफ्नै मेट्रो अस्पताल बनाउने, राजनीतिक पर्यटन क्षेत्र बनाउने, सुकुमबासी समस्या समाधान गर्ने, विपन्न समुदायलाई ३० युनिटसम्म बिजुली नि:शुल्क गर्ने, स्वस्थ खानेपानी उपलब्ध गराउने, महानगरको आफ्नै नगरबस चलाउने र डुबानको समस्याबाट महानगरलाई स्थायी रूपमा मुक्त गर्नेलगायतका एजेन्डा अगाडि सारेका छन् ।
एमालेबाट मेयरका उम्मेदवार थापा आफू महानगरवासीसँग परिचित रहेकाले सामाजिक जागरण र विकासको अभियन्ताका रूपमा काम गर्ने, महानगरलाई सुशासनको नमुना बनाउने, विकास अभियानमा सर्वदलीय सहमति जुटाएर अघि बढ्ने, बृहत् विराटनगरको गुरुयोजना तयार गरेर स्मार्ट सिटी बनाउने, शिक्षा क्षेत्रको विकास गर्ने, गरिब तथा विपन्न विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री उपलब्ध गराउने, सबै वडामा महानगर स्वास्थ्य केन्द्र स्थापना गर्ने र सडक, खानेपानी, सरसफाइ र ढल निकासमा विशेष योजना बनाउने एजेन्डामा चुनाव लडेका छन् ।
विराटनगर महानगरको दक्षिणी वडामा राम्रो पकड राख्ने उमेश यादवको उम्मेदवारीले जसपाले उपमेयर बनाएका अध्यक्ष यादवका छोरा अमरेन्द्रलाई जित सुनिश्चित गर्न सकस हुन सक्ने विश्लेषकहरू बताउँछन् । मेयरका स्वतन्त्र उम्मेदवार यादवले परिवारको जितका लागि मेयर छाडिएको भन्दै अध्यक्ष यादवसँग असन्तुष्टि पोखेका छन् । स्थानीयको मनोभावसँग खेलबाड गरिएको उनको गुनासो छ । उनले आफ्ना ठूला योजना नरहेको तर राम्रो विराटनगर बनाउने व्यावहारिक योजना रहेको बताएका छन् ।
स्वतन्त्रतर्फबाट उपमेयरकी बागी न्यौपानेले उम्मेदवारी फिर्ता नलिएपछि गठबन्धनमा चुनौती थपिएको छ । ०७४ को निर्वाचनमा उपमेयरमा प्रतिस्पर्धा गरेकी न्यौपानेले दोस्रो स्थान प्राप्त गरेकी थिइन् । उनले भनिन्, ‘मैले संविधान कार्यान्वयन र महिलाको हक–अधिकार सुनिश्चितताका लागि पार्टीबाट विद्रोह गरेकी हुँ । नगरवासीले विजयी गराउनेमा ढुक्क छु ।’ यहाँ करिब ५५ प्रतिशत महिला मतदाता छन् ।
निर्वाचनमाथि सरोकार राख्नेले यसपटक चुनावी माहोल कमजोर देखेका छन् । बुद्धिजीवी दिनेश श्रेष्ठ यसपटक विराटनगरमा मतदाताको मुड ठीक नरहेको बताउँछन् । ‘नागरिक तहबाट चुनावमा विशिष्ट चासो र उत्साह राखिएन तथा भोट हाल्ने वेला उचित र वस्तुनिष्ठ निर्णय गर्न सकिएन भने स्थानीय समस्या पैदा हुन्छन् । तर, विराटनगरमा यसपालि चुनावी मुड देखिएको छैन । जनतामा चरम निराशा छ । चुनाव प्रचारप्रसारमा हिँडेका उम्मेदवार तथा कार्यकर्तामा पनि अपेक्षित उत्साहको नितान्त अभाव छ,’ उनले भने, ‘कुनै पनि उम्मेदवारले वा राजनीतिक दलले जनलहर ल्याएको अनुभूत गरेको छैन । विगतमा जस्तो चुनावको माहोल छैन । दूरदृष्टि भएका उम्मेदवारको पनि खडेरी छ । भाषणमा आएका एजेन्डा राम्रै भए पनि सिर्जनशीलता र दूरदृष्टि देखिएन ।’
प्राध्यापक पोखरेलका अनुसार विराटनगरमा मतदाताको मनोविज्ञान मिश्रित रहेको र प्रतिबद्धताकै भरमा उनीहरूले सीमित मत पाउने बताउँछन् । ‘३० प्रतिशतजति पार्टीप्रति प्रतिबद्ध छन् भने ५० प्रतिशतजति ढुलमुले प्रकारका छन् । १० प्रतिशतजति मतदाताले पार्टी र उम्मेदवारका एजेन्डा हेरेर गरेर मत दिने र बाँकी लाभले प्रेरित मतदाता छन्,’ उनले भने, ‘मतदाताले पार्टीका घोषणापत्र र उम्मेदवारका प्रतिबद्धतामा उच्च महत्व दिँदैनन् । माहोल र लहरका आधारमा मतदान हुने गरेको छ ।’
अर्का राजनीतिक विश्लेषक रामरिझन यादव पनि विराटनगरमा मतदाताको मनोविज्ञान मिश्रित रहेको सुनाउँछन् । यसैले पनि यसपालि निर्वाचनमा अघिल्लो निर्वाचनमा जस्तो उत्साह नदेखिएको उनको बुझाइ छ । उनका अनुसार यहाँका मतदातामा ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने मनोविज्ञान छ ।
कसैले गढ ठोकुवा गरेका आधारमा वा आफ्नो पुरानो काम र प्राप्त गरेकै आधारमा जित हासिल गर्न निकै कठिन पर्ने यादवको विश्लेषण छ । विराटनगरका दक्षिणी मतदाताका कारण गठबन्धनलाई अनुकूल रहेको उनी बताउँछन् । ‘विराटनगरको दक्षिणी क्षेत्रमा मधेसी र उत्तरी क्षेत्रमा पहाडी समुदायको पकड बलियो छ । यहाँ गठबन्धन पूर्ण कार्यान्वयन भइहाल्छ भन्ने अवस्था छैन, पार्टीको पकडले गर्दा अनुकूल नतिजाको सम्भावनाचाहिँ बलियो छ ।’
अधिवक्ता तथा सामाजिक अभियन्ता कोषराज न्यौपानेले विगतका जनप्रतिनिधिको कामको मूल्यांकन सन्तोषजनक नभएकाले मतदातामा खासै उत्साह नरहेको बताए । ‘मतदातामा नयाँ जनप्रतिनिधिप्रति आशाभन्दा निराशा बढी छ । सबैले परम्परागत एजेन्डा ल्याएका छन्, जुन पहिले पनि पूरा भएनन्,’ उनले भने, ‘विराटनगर प्रदेश १ को राजधानी मात्र नभई देशकै केन्द्रबिन्दुसमेत भएकाले यहाँ दलहरूले भिजन भएका उच्चस्तरका उम्मेदवारलाई टिकट दिनुपर्ने थियो, तर भएन । सबै पार्टीबाट रुष्ट भएकाले मात्र स्वतन्त्रमा उम्मेदवारी दिएकाले यहाँ उनीहरूको छवि अगाडि आउन नसकेको हो ।’
युवा विश्लेषक अनुकूल क्षेत्री पनि विराटनगरका मतदाताको मनोविज्ञान मिश्रित रहेको मान्छन् । उम्मेदवारी र मतदाताको उत्साह हेर्दा विराटनगरमा गठबन्धन पूर्ण कार्यान्वयन हुनेमा उनलाई आशंका छ । ‘यसपालि कुनै दल वा गठबन्धनको नभएर मिश्रित परिणाम आउँछजस्तो लाग्छ,’ उनले भने ।
गत निर्वाचनमा कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ मत पाएर मेयर पदमा जित सुनिश्चित गराएका थिए । एमालेका विनोद ढकालले १७ हजार तीन सय २१, संघीय फोरमका उमेश यादवले १४ हजार नौ सय ५८ र राप्रपाका प्रह्लादप्रसाद साहले पाँच हजार पाँच सय २४ मत पाएका थिए । त्यसवेला कांग्रेसले आठ, संघीय फोरमले ६, एमालेले तीन, माओवादी र स्वतन्त्रले एक–एक वडामा जित हासिल गरेका थिए । ०७४ को निर्वाचनमा विराटनगरमा कुल मतदाता संख्या एक लाख १३ हजार सात सय ६३ थिए ।निर्वाचन कार्यालय मोरङका अनुसार अहिले विराटनगरमा कुल एक लाख ३३ हजार एक सय ४२ मतदाता छन्, जसमा महिला ६२ हजार ६ सय १८ र पुरुष ७० हजार पाँच सय २४ जना छन् । यसबीचमा एमाले विभाजित भएर बनेको एकीकृत समाजवादी पाँचदलीय गठबन्धनमा छ । ०६४ मा एमालेसँग गठबन्धन गरेको तत्कालीन फोरम लोकतान्त्रिक कांग्रेसमा समाहित भइसकेको छ । पहिले संघीय फोरमबाट मेयर पदमा प्रतिस्पर्धा गरेका उमेश जसपाको बागी उम्मेदवार छन् । माओवादीकी महानगर कमिटी सचिव न्यौपाने उपमेयर लडेकी छिन् ।
महिला अधिकारकर्मी प्रतीक्षा बस्नेत युवा उम्मेदवार आउनु राम्रो भएको बताउँछिन् । ‘यसपालिका उम्मेदवार सबै युवा भएकाले मलाई ठिकै लागेको छ । जनताको माग पनि यही हो । तर, उनीहरूले परम्परागत घोषणापत्रबाट माथि उठेर नयाँ योजना लागू गराउन सक्नुपर्छ । अझै विराटनगरका धेरै वडामा लैंगिक असमानता र घरेलु हिंसा व्याप्त छ । बालबालिकाका समस्या कायमै छन् । यसैले भौतिकवादी मात्र नभएर जनप्रतिनिधिले मानवतावादी भएर काम गर्न सक्नुपर्छ ।’
विश्लेषक यादव राम्रो छवि भएका स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा आउन नसकेको ठान्छन् । युवा विश्लेषक अनुकूल क्षेत्रीको बुझाइ पनि समान छ । भन्छन्, ‘यहाँ स्वतन्त्र उम्मेदवारी दिनेहरू राम्रो छवि भएका छैनन् । दलबाट भागबन्डा नपाएपछि वितृष्ण भएका धेरै छन् । यसैले विराटनगरमा स्वतन्त्रलाई मतदाताले विश्वास गर्ने वातावरण बन्नै पाएको छैन ।’
पाँच वर्षको बीचमा बदलिएको मतदाताको अंकगणित, राजनीतिक समीकरण र उम्मेदवारीका कारण विराटनगरको निर्वाचन सोझै आकलन गर्न सक्ने अवस्था छैन । अहिलेकै अवस्था कायम रहे प्रतिस्पर्धा निकै पेचिलो र मिश्रित नतिजा हुन सक्ने मतदाता र विश्लेषकको बुझाइ छ ।
विराटनगरमा कांग्रेसको एकल चुनावी सभा, नेताहरूले मागे गठबन्धनलाई मत

कांग्रेसले पाँचदलीय गठबन्धनमा आबद्ध अन्य दललाई सहभागी नगरी बुधबार विराटनगरमा प्रदेशस्तरीय एकल चुनावी सभा गरेको छ । प्रदेश १ को राजधानीमा भएको सभामा कांग्रेस मोरङले गठबन्धनका अन्य दललाई आमन्त्रण नै गरेन । गठबन्धन दलमा आबद्ध जसपाका उपमेयरका उम्मेदवार अमरेन्द्र यादव पनि ढिलो गरी सभामा सहभागी भएका थिए ।
कांग्रेसले साथ दिन्छ, तर धोका दिँदैन भन्ने प्रमाणित गरेर देखाउनुपर्छ : देउवा
अहिलेको गठबन्धन प्रजातन्त्रको रक्षाका लागि देशको आवश्यकता हो । यसको लक्ष्य लोकतन्त्रलाई सुदृढ बनाउने हो । यसमा कसैले पनि तलमाथि नगर्नुहोला । कांग्रेसले साथ दिन्छ, तर धोका दिँदैन भन्ने प्रमाणित गरेर देखाउनुपर्छ । यसपटक टिकट दिएर मैले नागेशमाथि न्याय गरेको छु । गठबन्धनबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादव हुनुहुन्छ । दुवैजना पढे–लेखेका युवा हुन् । उहाँहरूलाई भोट माग्न म आएको हुँ । एमालेको दम्भ र घमन्ड परास्त गर्न गठबन्धनका उम्मेदवारले जित्नैपर्छ ।