गठबन्धन देशको आवश्यकता हो, कांग्रेसले हुबहु कार्यान्वयन गर्नुपर्छ : शेरबहादुर देउवा

बुधबार, २१ बैशाख, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षाका लागि पाँचदलीय  गठबन्धन निर्माण भएकोले स्थानीय तह निर्वाचनमा हुबहु कार्यान्वयन गरेर देखाउन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । कांग्रेस मोरङले विराटनगरमा बुधबार आयोजना गरेको चुनावी सभालाई  सम्बोधन गर्दै देउवाले गठबन्धन वर्तमानमा मात्र नभएर भविष्यका लागि पनि आवश्यक भएकोले कुनै पनि तलमाथि नगरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 

देउवाले देश सबै जातजातिको भएको र कांग्रेसले गठबन्धनमा अन्तर्घात गर्दैन भन्ने उदाहरण प्रस्ट पार्न पनि तलमाथि नगरी विराटनगर महानगर मात्र नभएर सबै महानगरका गठबन्धनका उम्मेदवारहरुलाई मत दिन निर्देशन दिए । उनले भने, ‘नेपाली कांग्रेसले कुनै हालतमा धोका दिँदैन भन्ने उदाहरण तपाईंहरूले दिनुपर्छ । यो लोकतन्त्रको रक्षाका लागि देशको आवश्यकता हो ।’

देउवाले विराटनगर कांग्रेसका सस्थापक नेताहरू बिपी र गिरिजाप्रसाद कोइरालाको नगर भएकोले यहीँबाट कांग्रेसले पहिलो चुनावी सभा सुरु गरेको र यसले गठबन्धनमा सकारात्मक सन्देश जानुपर्ने बताए । 

उनले ३० वैशाखमा हुने निर्वाचनमा कुनै डरत्रासको वातावरण नरहेकोले ढुक्क भएर मतदान गर्न पनि मतदाताहरूलाई आग्रह गरे ।

सुझावित समाचार