सन् २०२१ को अध्ययनले सन् १९९१ यता अत्यधिक गर्मीका कारण हुने तीनमध्ये एकको मृत्यु जलवायु परिवर्तनसँग जोडिएको देखाएको छ
भारतीय उपमहाद्वीपको तापमान दर्साउने नक्सा डरलाग्दो गरी रातो देखिएको छ । गर्मी सुरु हुन एक महिना छँदै तीव्र लुले उपमहाद्वीपका दसौँ लाख मानिसलाई जोखिममा पारेको छ । भारत र पाकिस्तानको सीमा क्षेत्रमा यो साता तापमान ४८ डिग्री सेल्सियस पार गर्ने देखिन्छ । एक महिनाअघि गर्मी एक सय २२ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । हालको खराब मौसम र भविष्यको तीव्र गर्मीलाई सामना गर्न मानिसले के गर्न सक्छन् ?
हालको असह्य गर्मीले भारत र पाकिस्तानका विशेषतः ग्रामीण इलाकाका जनताका घरबाहिर गरिने महत्वपूर्ण कार्य समयमा कटौती हुनेछ । ल्यान्सेटको एक अनुसन्धानअनुसार सन् २०१८ मा एक खर्ब ५० अर्ब घन्टाको कार्यसमय चरम तापमान एवं आर्द्रताका कारण गुमेको छ । यो प्रवृत्तिले वैश्विक रूपमा प्रभाव पार्ने परिणाम निम्त्याउनेछ । ‘विश्वको आधा खाद्य पदार्थ साना खेती–किसानी गर्ने किसानको शारीरिक श्रमबाट उत्पादन हुन्छ,’ युनिभर्सिटी कलेज अफ लन्डनका अर्थ सिस्टमका प्राध्यापक मार्क मस्लिन बताउँछन् । जसै ‘विश्व तात्दै जान्छ, शारीरिक रूपमा घरबाहिरका काम असम्भवप्रायः हुन्छ । नतिजा, उत्पादन र खाद्य सुरक्षामा ह्रास आउँछ,’ मस्लिन थप्छन् ।
सहरमा जहाँ जनसंख्याको बढ्दो हिस्सा बसोबास गरिरहेका छन्, त्यहाँ अत्यधिक गर्मी हुँदा सडकपेटीलाई सहज बनाउने अवसर छन् । सबैभन्दा चर्चित उपाय भनेको कंक्रिट बस्तीमा वृक्ष एवं अन्य बोट–बिरुवा रोपेर हरियालीकरण गर्नु हो । तर, कार्डिफ विश्वविद्यालयका मार्क ओ कुथबर्टको नेतृत्वमा फेबु्रअरीमा प्रकाशित अध्ययनले घरका छाना वा पर्खाललाई हरियो बनाउँदा बाढी रोक्न सकिन्छ वा गर्मी कम गर्न सकिन्छ, तर दुवै एकैपटक सम्भव हुँदैन भन्ने देखाएको छ । कुथबर्ट र उनका सहलेखकका अनुसार सहरहरूले गर्मी मौसममा अत्यधिक तात्नु र भारी वर्षाको समयमा बाढी झेल्नुको कारण एउटै हो । कंक्रिट र स्टिलको प्रचुरताले गर्मीपन अवशोषित भइरहन्छ, जब कि कंक्रिट र स्टिलकै संरचनाले ‘माटोझैँ पानी सोस्ने’ काम गर्न सक्दैन । यी शोधकर्ताका अनुसार उत्तरी युरोप र भूमध्यरेखा वरपरका धेरै वर्षा हुने क्षेत्रका हरियाली सहरमा लु प्रवेश गर्ने सम्भावना धेरै हुन्छ, किनभने बोटबिरुवाले प्रकाश संश्लेषणका क्रममा पानीको वाष्प छोड्छन् अर्थात् आर्द्रता बढ्छ । यी शोधकर्ताका अनुसार भारत र पाकिस्तानका सहरजस्ता सुक्खा एवं सीमित वर्षा हुने क्षेत्रमा सहरी हरियालीकरणका लाभ कम हुने बताउँछन् । तर, यी स्थानमा हरियाली विस्तार गर्दा थोरबहुत लाभ पनि छ अर्थात् माटोले पानी सोस्ने सम्भावना बढ्छ र बाढी रोक्न मद्दत पुग्न सक्छ ।
नोभेम्बर २०२१ मा संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन शिखर सम्मेलनका वेला प्रकाशित एक प्रतिवेदनले अफ्रिका विश्वका अन्य क्षेत्रको तुलनामा छिटो तातिरहेको देखाएको छ । केन्याको आगा खान विश्वविद्यालयका सह–प्राध्यापक अब्दु मोहिद्दिनका अनुसार सन् २०३० सम्ममा ११ करोड ८० लाख अति विपन्न मानिस खडेरी र तीव्र गर्मीको विनाशकारी प्रभावको सिकार हुनेछन् । मोहिद्दिन अफ्रिका महाद्वीपलाई गर्मी हुँदै गएको वातावरणमा अनुकूलन गर्न तत्काल आर्थिक एवं प्राविधिक सहयोग र त्यसका साथै जोखिम मूल्यांकन गर्न अनुसन्धान कोषको आवश्यकता रहेको बताउँछन् ।

यी क्षेत्रमा परम्परागत वास्तुकला ढाँचा र निर्माण प्रविधिले राहतका केही मितव्ययी र दिगो उपाय प्रदान गर्न सक्छन् । नटिंघम ट्रेन्ट विश्वविद्यालयका इन्टेलिजेन्ट इन्जिनियरिङ सिस्टमका प्राध्यापक अमिन अल–हबाइबेहले तीव्र लू हुने पर्सियन खाडीमा शताब्दीयौँदेखि मानिसले आफूलाई कसरी चिसो राखेका छन् भनेर अध्ययन गरेका छन् । यहाँ चुनढुंगा र अन्य प्राकृतिक सामग्रीले बनेका घरले गर्मी आर्द्रता सोस्छ र तातो एवं घमाइलो दिनमा यो आर्द्रता वाष्पीकरणमार्फत छोड्छ । यसरी यी घरले वातावरण अनुकूलन गर्ने गरेका छन् । भवनको बलौटे बनोट र रंगले पनि धेरै सौर्य विकिरणलाई विकर्षण गर्छ । त्यहाँका बस्तीका साँघुरा सडक र गल्लीले छाया बढाउँछ, जहाँ सिसाविनाको सानो झ्याल हुन्छ, जसले हावाको प्रवाहलाई कायम राख्छ, तर सूर्यको तापलाई छेक्छ । घरका भित्री आँगनले दिउँसो घाम चरम अवस्थामा रहेका वेला तातो हावा माथि फ्याँक्छ र वरपरका कोठामा चिसो हावाले विस्थापित गर्छ ।
चतुरता र ऐक्यबद्धताले समुदायलाई बढ्दो क्रूर लुसँग अनुकूलन गर्न मद्दत गर्न सक्छ । यद्यपि किंग्स कलेज लन्डन र क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका जलवायु वैज्ञानिक टम म्याथ्युज र कोलिन रेमन्ड यसको सीमा रहेको बताउँछन् । ‘मानिसले पृथ्वीमा सामना गर्न सक्ने मौसमको दायरा ग्रह तात्दै जाँदा कम हुँदै छ,’ वैज्ञानिकद्वय बताउँछन् । सन् २०२१ को अध्ययनले सन् १९९१ यता अत्यधिक गर्मीका कारण हुने तीनमध्ये एकको मृत्यु जलवायु परिवर्तनसँग जोडिएको देखाएको छ । यदि तपाईं लू झेल्दै हुनुहुन्छ भने युनिभर्सिटी अफ रिडिङमा जलवायु परिवर्तन र मानव स्वास्थ्यमा परेका नतिजाबारे अध्ययन गर्ने विद्यावारिधिका विद्यार्थी क्लो ब्रिमिकोम्बको सुझाब मनन गर्नुहोस्– चिसो रहनुहोस् अर्थात् चिसो पानीमा आफ्नो खुट्टा चोबलिराख्नुस् वा नुहाइराख्नुस्, पर्दा र घाम आउने झ्याल बन्द गरिराख्नुहोस् । उनी घरमा हावा प्रवाह गर्न पंखा पनि चलाउन सुझाब दिन्छिन् । लूमा पसिनाबाट धेरै पानी गुम्ने भएकाले तिर्खा नलागेका वेला पनि तपाईंले सामान्य अवस्थाभन्दा धेरैपटक पानी पिउनुपर्छ ।
(मार्ले द कन्भर्सेसनको बेलायती संस्करणका वातावरण एवं ऊर्जा सम्पादक हुन्)
द कन्भर्सेसनबाट