एमाले अध्यक्ष केपी ओलीले पार्टीले भिजन भएको अनुभवी केशव स्थापितलाई मेयर र संस्कृति र सभ्यता बुझेकी सुनिता डंगोललाई उपमेयरको उम्मेदवार बनाएको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आइतबार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेका उम्मेदवार योग्य रहेको दाबी गरे ।
उनले काठमाडौंलाई बुझेको, प्रशासन बुझेको अनुभवी व्यक्तित्व स्थापित र युवा जोस–जाँगर बोकेकी डंगोललाई मिलाएर उम्मेदवार बनाएको बताए । ‘मेयर चलाएर अनुभव लिइसकेको र काठमाडौंलाई आधुनिक काठमाडौंमा बदल्ने र यहाँका सडकलाई चौडा बनाउने, काठमाडौं बुझेको, प्रशासन बुझेको, महानगरपालिका–नगरपालिका बुझेको र यसलाई परिवर्तन कसरी गर्ने भन्ने सोच, विचार र संकल्प भएको केशव स्थापितलाई उम्मेदवार बनाएका छौँ,’ ओलीले भने, ‘अनुभव र जोस–जाँगरको संयोजन छ ।’ ओलीले स्थापितको विवादबारे भने केही बोलेनन् ।
प्रतिस्पर्धी उम्मेदवारमाथि स्थापितको गैरराजनीतिक टिप्पणी
एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले प्रतिस्पर्धी उम्मेदवारमाथि गैरराजनीतिक टिप्पणी गरेका छन् । उनले मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले काठमाडौंका जनतालाई झुक्याएको आरोप लगाएका छन् भने सिर्जना सिंहले गणेशमानकी बुहारी भएकै कारण टिकट पाएको टिप्पणी गरेका छन् ।
स्थापितले काठमाडौंवासीलाई झुक्याएको दाबी गर्दै शाहलाई ठग भनेका छन् । शाहप्रति उनको जातीय टिप्पणी पनि आएको छ । ‘एउटा फुच्चे बालेन शाह भन्ने अन्तर्राष्ट्रिय ठग पो रहेछ । मसँग परिचय गर्दा उसले काठमाडौंमा जन्मिएको, पहाडिया ठकुरी हुँ भन्याथ्यो । हिजो टिकटक हेरेको त, ऊ यहाँको शाह नै होइन रहेछ, मधेसतिरको साह । सुरुवातमै ठग कुरा गर्नेको हालत के हुन्छ ? दर्तावाल ठग’ आइतबार एक कार्यक्रममा स्थापितले भने, ‘काठमाडौंका मान्छेलाई ठग्न पाइन्छ ? म मधेसको मान्छे आँट गरेर आउनुपर्दैन ?’
काठमाडौंको वास्तविक जनसंख्या थाहा नहुने पनि मेयरको प्रतिस्पर्धी भएको भन्दै स्थापितले थप कटाक्षसमेत गरे । ‘अस्ति एउटा मेयरको उम्मेदवारले काठमाडौंमा ८० लाख जनसंख्या छ भन्यो । उसलाई काठमाडौंको कति जनसंख्या पनि थाहा छैन । हाम्रो सिंगो उपत्यका बनेपासम्मको गणना गर्दा ४० लाख जनसंख्या छ । तर, पहिल्यै ८० लाख भन्नेको सुरुकै योजना भताभुंग भएन । यस्ता मान्छेका पछाडि युवा लागेपछि त्यसले कहाँ पुर्याउँछ ? अरू फुच्चेफाच्चेको कुरै नगरौँ, उहाँहरूसँग प्रतिस्पर्धा गर्नुछैन,’ स्थापितले भने ।
स्थापितले प्रतिस्पर्धी कांग्रेसबाट मेयरकी उम्मेदवार सिंह तुलनात्मक रूपमा आफूभन्दा धेरै कमजोर रहेको पनि टिप्पणी गरे । ‘सिर्जना सिंह कांग्रेसको उम्मेदवार हुने महिला हो ? गणेशमानको बुहारी हो भने तागत त देखाउनुपर्यो नि ! तागतै नभएको महिला सहर हाँक्न आउँछु भन्ने ? हुँदैन । उनलाई एक भोट पनि हाल्नुहुँदैन,’ स्थापितले भने, ‘मैले सयवटा इन्टरभ्यु दिसकेँ, उहाँले एउटा पनि इन्टरभ्यु दिनुहुँदैन । अनि गगन थापा बोल्न आउनुहुन्छ । बोल्न आउने हो भने उनी आफैँ मेयर हुन आउनुपथ्र्यो नि ! मैले खसी खोइ भनिसकेपछि सिध्दियो !’