पोखराका उम्मेदवारले एउटै मञ्चबाट जनाए प्रतिबद्धता

आइतबार, १८ बैशाख, २०७९
डिजिटल संस्करण

पोखरा महानगरपालिकाका उम्मेदवारहरूले एउटै मञ्चबाट आफ्नो प्रतिबद्धता जनाएका छन् । हाम्रो कास्कीकोट युवा सञ्जालले आइतबार आयोजना गरेको कार्यक्रममा पोखरा महानगरपालिकाका राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले आ-आफ्नो प्रतिबद्धता जनाएका हुन् । 

एमालेको तर्फबाट मेयरका उम्मेदवार कृष्णबहादुर थापा, सत्तागठबन्धन दलको समर्थनमा नेकपा एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार धनराज आचार्य, राप्रपाका शंकर खराल, नेकपा माओवादी समाजवादीका भोजराज त्रिपाठी, मौलिक जरोकिलो पार्टीका संजय तिमिल्सिना र अटेरी समूहबाट स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस),ले आ-आफ्नो पोखराको विकास गर्ने प्रतिबद्धता जनाएका हुन् ।

क्लबले मेयर तथा वडाध्यक्षका उम्मेदवारलाई एउटै मञ्चमा ल्याएर आफ्नो उम्मेदवारीको औचित्य झल्काउने मेरो उम्मेदवारी, योजना तथा प्रतिबद्धता प्रस्तुतीकरण कार्यक्रम गरेको हो । क्लबमा राजनीतिक प्रभावभन्दा बाहिर रहेका युवा संलग्न छन् । 

निर्वाचनमा स्वच्छ प्रतिस्पर्धाका माध्यमबाट सबैभन्दा असल, सक्षम र जिम्मेवार उम्मेदवारको पहिचान गरी निर्वाचित बनाउन आममतदातालाई सघाउ पुर्याउन कार्यक्रमले सघाउने विश्वास क्लबको रहेको छ । 

गौरव त्रिपाठीको संयोजन तथा सञ्जालका संयोजक शालिकराम गिरीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको सुरुवात सञ्जालका सचिव अर्जुनबहादुर अधिकारीले गरेका थिए । उम्मेदवारको प्रस्तुतीकरण कार्यक्रम पत्रकार केशवशरण लामिछानेले सञ्चालन गरेका थिए ।

सुझावित समाचार