- ४९ जिल्लामा ९१ लाख ११ हजार मतपत्र ढुवानी
- ३५ हजार २२१ पदका लागि करिब एक लाख ४५ हजारले प्रतिस्पर्धा गर्ने
अनुमान गरेभन्दा बढी स्वतन्त्र उम्मेदवारी परेपछि निर्वाचन आयोगले ३० पालिकामा पुनः मतपत्र छपाइ गर्नुपर्ने भएको छ । अनुमानभन्दा बढी स्वतन्त्र उम्मेदवारी परेपछि ३० पालिकामा करिब ६ लाख मतपत्र पुनः छाप्नुपर्ने भएको आयोगले जनाएको छ ।
आयोगले शनिबारसम्म ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ गरिसकेको थियो । आयोगले यसपटकको निर्वाचनमा जिल्लाअनुसार मतपत्र छापेको थियो ।
विगत अनुभवका आधारमा राष्ट्रिय मान्यता प्राप्त ६ दल, जिल्लामा सक्रिय दलको संख्या र स्वतन्त्र उम्मेदवारीको अनुमान गरेर आयोगले विभिन्न जिल्लाका लागि १६ देखि ५६ लहरसम्मको मतपत्र छपाइ थालेको थियो । तर, कतिपय स्थानमा मतपत्रमा स्वतन्त्र उम्मेदवारीका लागि राखिएको निर्वाचन चिह्नको संख्याभन्दा उम्मेदवार संख्या बढी भएपछि मतपत्र पुनः छाप्नुपर्ने अवस्था आएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।

उनका अनुसार निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त प्रारम्भिक तथ्यांकअनुसार करिब ३० पालिकाका करिब ६ लाख मतपत्र पुनः छाप्नुपर्नेछ । उनका अनुसार स्वतन्त्र उम्मेदवारका लागि मतपत्रमा राखिएको चिह्नभन्दा स्वतन्त्र उम्मेदवारी धेरै परेको सम्पूर्ण विवरण आउन बा“की रहेको बताए ।
‘प्रारम्भिक रिपोर्टअनुसार करिब ३० वटा पालिकाका लागि ६ लाख मतपत्र पुुनः छाप्नुपर्ने देखिएको छ । पहिले जिल्लाअनुसार छापिएको थियो । अब पालिकाअनुसार छाप्नुपर्ने भयो,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘आइतबार बेलुकासम्म ६ महानगरपालिका, भक्तपुर जिल्ला र पुनः छाप्नुपर्ने पालिका गरी सबैको मतपत्र डिजाइन टुंग्याउँछौँ ।’
उनले महानगरपालिकाहरूको मतपत्र उम्मेदवारको अन्तिम टुंगो लागेपछि छाप्ने भनेर आयोगले गरेको निर्णय ठीक भएको बताए । उनका अनुसार भक्तपुर जिल्लामा आयोगले अनुमान गरेभन्दा कम उम्मेदवारी परेको छ । ‘भक्तपुरमा अनुमान गरेभन्दा थोरै उम्मेदवारी परेको छ । पहिले नै मतपत्र छापेको भए त्यो निकै ठूलो हुने रहेछ, नछापेर आयोगले ठिकै गरिएछ,’ उनले भने ।
४९ जिल्लामा मतपत्र ढुवानी
स्थानीय निर्वाचनका लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै जिल्ला, बागमती प्रदेशका पाँच जिल्लामा मतपत्र पुगिसकेको छ । आइतबार लुम्बिनी प्रदेशका १२ जिल्लामा मतपत्र पठाउने निर्वाचन आयोगको तयारी छ । हिमाली जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ । आयोेगले १३ वैशाखदेखि मतपत्र ढुवानी सुरु गरेको थियो । आयोगले करिब दुई करोड मतपत्र छाप्दै छ ।
आठ हजारले उम्मेदवारी फिर्ता लिए, ३५ हजार २ सय २१ पदका लागि करिब एक लाख ४५ हजारले प्रतिस्पर्धा गर्ने
स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गराएकामध्ये करिब आठ हजारले उम्मेदवारी फिर्ता लिएका छन् । योस“गै आसन्न निर्वाचनमा ३५ हजार दुई सय २१ पदका लागि करिब एक लाख ४५ हजारले प्रतिस्पर्धा गर्ने भएका छन् । आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार जम्मा एक लाख ५३ हजार दुई सय ७३ मध्ये आठ हजारले उम्मेदवारी फिर्ता लिएका हुन् । उनका अनुसार यो संख्यामा छिटफुट रूपमा तलमाथि पर्न सक्छ । ११ र १२ वैशाखमा भएको उम्मेदवारी मनोनयनको १६ वैशाखमा फिर्ता लिने आयोगको कार्यतालिका थियो ।
उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान
स्थानीय तह निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको छ । मनोनयनपत्र दर्तामाथि जाँचबुझ, फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा भएपछि आयोगले शनिबार निर्वाचन चिह्न प्रदान गरेको हो । देशभरका उम्मेदवारलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न प्रदान गरेको हो । राष्ट्रिय मान्यता प्राप्त ६ दल तथा निर्वाचनमा सहभागी हुने अन्य ६० दललाई जिल्ला संगठनका आधारमा उनीहरूकै चुनाव चिह्न प्रदान गरिएको छ । आयोगका अनुसार राष्ट्रिय मान्यता प्राप्त नगरेका ७३ मध्ये १३ दलले कुनै पनि उम्मेदवारी दर्ता गराएका छैनन् । स्वतन्त्र उम्मेदवारलाई आयोगले निर्धारण गरेको स्वतन्त्र चिह्नको समूहबाट निर्वाचन चिह्न प्रदान गरिएको छ । आयोगले शनिबार नै नमुना पतपत्र सार्वजनिक गरेको छ ।