राजनीतिकर्मीले चुनावी अभियानमा जानाजान आफूले पूरा गर्नै नसक्ने वाचा गर्ने गर्छन् । लोकतन्त्रको आधारस्तम्भ निर्वाचनमा मतदाताको क्षमता होच्याउने गरी उम्मेदवारले हावादारी वाचा भट्याउँछन् । विज्ञका अनुसार मतदाता भनेका अबुझ हुन् र उनीहरूलाई जेसुकै वाचा गरेर लोभ्याउँदा हुन्छ भन्ने मानसिकताको उपज हो । निर्वाचन आयोगले अनुसन्धान गरेर यस्ता वाचा गर्नेलाई कारबाहीको दायरामा ल्याउने र जवाफदेही बनाउने व्यवस्था नहुँदासम्म लोकतन्त्रको मजाक बनिरहने राजनीतिक पण्डितहरू बताउँछन् । मतदाताले पनि उम्मेदवारको वाचा पूरा हुने–नहुने बुझ्ने कोसिस गर्नुपर्छ । उम्मेदवारहरूले मतदातालाई फकाउन कुनै पनि हदसम्मका वाचा गर्न सक्छन् भन्ने त हाम्रै अनुभवले पनि देखाउँछ । विश्वभर नै उम्मेदवारद्वारा असम्भव वाचा गरिन्छन् । निर्वाचन जित्न जस्तोसुकै लोकप्रिय र आकर्षक नारा मात्र होइन, पूरा गर्नै नसकिने असम्भव, अनैतिक र गैरकानुनी वाचा पनि गर्ने गरिएका प्रशस्तै उदाहरण छन् । विभिन्न मुलुकमा निर्वाचनको समयमा उम्मेदवारद्वारा गरिएका केही यस्ता वाचाहरू :
बालविवाहमा प्रहरी हस्तक्षेप रोक्ने वाचा
सन् २०१८ मा सम्पन्न राजस्थान विधान सभा निर्वाचनमा भारतीय जनता पार्टीको तर्फबाट सोजत निर्वाचन क्षेत्रकी उम्मेदवार शोभा चौहान एउटा भिडियोमा आफ्नो निर्वाचन क्षेत्रको एउटा खास समुदायका मतदातासामु बालविवाहमा प्रहरी हस्तक्षेप हुन नदिने वाचा गरिरहेको देखिइन् । उनको यो वाचालाई लिएर भारतभर हंगामा नै मच्चिएको थियो । तैपनि उनी निर्वाचन जितेर राजस्थान राज्यमा भाजपाकी सशक्त नेतृका रूपमा रहेकी छिन् ।
प्रत्येक परिवारलाई हरेक महिना १० लिटर ब्रान्डी
सन् २०१९ को लोकसभा चुनावमा त्रिरूपपुर निर्वाचन क्षेत्रका स्वतन्त्र उम्मेदवार एम शेख दाभुदले मतदातालाई आकर्षित गर्न आफू निर्वाचित भए आफ्नो क्षेत्रका प्रत्येक परिवारलाई हरेक महिना १० लिटर शुद्ध ब्रान्डी निःशुल्क उपलब्ध गराउने वाचा गरेका थिए । ‘म प्रत्येक परिवारलाई हरेक महिना पोन्डीचेरीको आयातित १० लिटर शुद्ध ब्रान्डी उपलब्ध गराउनेछु,’ उनले भनेका थिए । यसबाहेक प्रत्येक परिवारलाई हरेक महिना २५ हजार, हरेक परिवारका एकजनालाई सरकारी नोकरी, संसद् कोषबाट विवाह गर्न एकतोला सुन र १० लाखलगायतका १५ वाचा गरेका थिए ।
साइकल दुर्घटनामा मृत्यु भए पाँच लाख
भर्खरै सम्पन्न भारतको उत्तरप्रदेश विधान सभा निर्वाचनमा अखिलेश यादवको दल समाजवादी पार्टीका केही चुनावी नारा र उद्घोष निकै विवादास्पद बने । आफ्नो चुनाव चिह्न साइकलको प्रवद्र्धन गर्न अखिलेश यादवको समाजवादी पार्टीले साइकल दुर्घटनामा परेर मृत्यु हुनेहरूलाई सरकारले पाँच लाख दिने उद्घोष गरेको थियो । साथै, समाजवादी पार्टीले आफ्नो ट्विटर ह्यान्डलबाट साँढेसँग जुधेर दुर्घटनामा मृत्यु भएमा सरकारले पाँच लाख दिने भनेर गरिएको उद्घोषलाई पनि धेरैले उडाएका थिए । समाजवादी पार्टीका यी वाचालाई धेरैले चुनाव जित्न जस्तोसुकै नारा दिन पछि नपर्ने प्रवृत्तिका रूपमा आलोचना गरेका थिए ।
एक दिनमा ८२२ घर निर्माणको वाचा
जिम्बाबेमा सन् १९८० देखि सत्तारुढ रहेको रोवर्ट मुगावेको राजनीतिक दल जानु–पिएफले सन् २०१८ को राष्ट्रिय निर्वाचनका क्रममा आफ्नो चुनावी घोषणापत्रमा आगामी कार्यकालमा १५ लाख आवास बनाएर जनतालाई बाँड्ने वाचा सार्वजनिक गर्यो । उसले आफ्नो यो वाचा पूरा गर्न हरेक दिन आठ सय २२ आवास तयार गर्नुपर्थ्यो, जुन कुनै पनि दृष्टिले सम्भव थिएन । जानु–पिएफले मतदातालाई फकाउन यसबाहेक पनि अन्य थुप्रै असम्भव, तर आकर्षक वाचा गरेको थियो । तर, उसले आफूले गरेका कुनै पनि वाचा अहिलेसम्म पूरा भने गरेको छैन । यद्यपि अहिले पनि यही दल सत्तामा छ ।
सन् २०२० सम्ममा चन्द्रमामा सहर बसाउने
लोकतन्त्र र आफूले गरेको वाचाप्रति धेरै हदसम्म जवाफदेही रहने भनेर मानिएको अमेरिकामा पनि निर्वाचनका क्रममा उम्मेदवारहरूले विभिन्न असम्भव र अनौठा वाचा गर्ने गर्छन् । सन् २०१२ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारको प्रतिस्पर्धामा रहेका पूर्वसांसद निउट गिङरिचले आफूले जिते सन् २०२० सम्ममा चन्द्रमामा अमेरिकाको स्थायी सहर बसाउने योजना सुनाएका थिए । उनले चन्द्रमामा निर्माण गरिने त्यो सहर विज्ञान, पर्यटन र म्यानुफ्याक्चरिङका साथै हवाई सेवामा आधारित मजबुत उद्योग सिर्जना गर्न उपयोग गरिने आधारहीन सपना पनि बाँडेका थिए ।
हरेक अमेरिकीलाई एक गधा उपहार
सन् २०१२ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारीको प्रतिस्पर्धामा रहेका एक प्रत्याशी एवं रंगकर्मी भर्मिन सुप्रिमले आफू राष्ट्रपतिमा निर्वाचित भए हरेक अमेरिकीलाई एक–एकवटा गधा उपहार दिने वाचा गरेका थिए । साथै, उनले आफूले मुलुकको अर्थतन्त्रलाई गधामा आधारित बनाउन चाहेको भनेका थिए ।
(एजेन्सीहरूको सहयोगमा)