१० सिनियर खेलाडीले बन्द प्रशिक्षण छाडेर हिँडेपछि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नयाँ खेलाडीलाई मौका दिए
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले शुक्रबार बन्द प्रशिक्षणका लागि १७ जना नयाँ खेलाडीलाई बोलाएका छन् । नयाँ खेलाडीलाई समेट्दै प्रशिक्षक अलमुताइरीले दशरथ रंगशालामा अभ्यास सुरु गरेका छन् । १० जना सिनियर खेलाडीले विद्रोह गर्दै बन्द प्रशिक्षण छाडेर हिँडेपछि प्रशिक्षक अलमुताइरीले नयाँ खेलाडीलाई मौका दिएका हुन् ।
अलमुताइरीकै निर्देशनमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले अभ्यासका लागि नयाँ खेलाडी बोलाएको हो । प्रशिक्षक अलमुताइरीको यस निर्णयसँगै फुटबलभित्रको पछिल्लो विवादले नयाँ मोड लिएको देखिन्छ । प्रशिक्षक अलमुताइरीले बन्द प्रशिक्षण छाडेर गएका १० सिनियर खेलाडीहरूलाई बोलाउने छाँटकाँट देखाएका छैनन् ।
प्रशिक्षक अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रोहित चन्द, विशाल श्रेष्ठ, विशाल राई, दिनेश राजवंशी, सुमन लामा, तेज तामाङ, विमल घर्तीमगर, अनन्त तामाङ, अन्जन विष्ट र सुजल श्रेष्ठले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण छाडेका थिए । माल्दिभ्समा रहेका कप्तान किरणकुमार लिम्बूले पनि प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै खेलाडीलाई समर्थन गरेका छन् ।
नयाँ खेलाडी समावेश गरी प्रशिक्षण सुरु भएपछि १० सिनियर खेलाडीहरूको राष्ट्रिय टोलीमा फर्कने बाटो लगभग बन्द भएको छ । राष्ट्रिय टोलीका एट्याकिङ मिडफिल्डर रोहित चन्द र प्रशिक्षक अलमुताइरीबीचको विवादले चर्को रूप लिएपछि सिनियर खेलाडीले रातारात नै होटेल छाडेका थिए । खेलाडीहरूले प्रशिक्षककै निर्देशनमा बाध्य भएर बाहिरिएको दाबी गरिरहेका छन् ।
बन्द प्रशिक्षण विद्रोह गरेका १० खेलाडीले बिहीबार पत्रकार सम्मेलन गरी आ–आफ्नो धारणा राखेका थिए । उनीहरूले संयुक्त रूपमा दोषीमाथि कारबाही हुनुपर्ने माग राखेका छन् । फुटबलको सर्वोच्च निकाय एन्फाले प्रशिक्षक र खेलाडीबीचको विवादबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
प्रशिक्षक अलमुताइरीले बोलाएका खेलाडीमा राष्ट्रिय टोलीबाट खेलिसकेका सन्जोक राई, जर्जप्रिन्स कार्कीसहित बी डिभिजनमा सहभागी खेलाडी पनि बन्द प्रशिक्षणमा छन् । यसैगरी, अघिल्लोपटकको बन्द प्रशिक्षणमा समावेश नभएका गोलरक्षकहरू विकेश कुथु, विशाल सुनार तथा अभिषेक बरालले यसपटक मौका पाएका छन् । नेपालले ११ र १५ जेठमा अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । नेपालले एसियन कपको छनोटअघि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यो खेल कतारमा हुनेछ ।
नेपालले छनोट खेल कुवेतमा खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल जोर्डनसँग २५ जेठमा कुवेत सिटीमा खेल्नेछ । नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रशिक्षक अलमुताइरीले २ वैशाखमा बन्द प्रशिक्षणको पहिलो दिन नै नेपाल एसिया कपमा छनोट हुन नसक्ने बताएका थिए । राष्ट्रिय टोलीमा खेलाडी र प्रशिक्षकबीच विवाद हुँदा यसको असर मैत्रीपूर्ण र छनोट खेलमा पर्ने देखिन्छ ।
विकेश प्रशिक्षणमा नजाने
नयाँ १७ खेलाडीमा परेका गोलरक्षक विकेशले प्रशिक्षणमा जान अस्वीकार गरेका छन् । विकेशले सामाजिक सञ्जालबाट प्रशिक्षणमा सहभागी हुन नसक्ने जनाएका हुन् । उनले सिनियर खेलाडीको जायज मागको समर्थन गर्दै आफूले पनि समर्थन गरेको बताएका छन् । ‘म राष्ट्र र राष्ट्रिय टोलीको सम्मान गर्दै यसपटक राष्ट्रका लागि सदा डटिरहने खेलाडी साथीहरूको जायज मागप्रति समर्थन गर्छु, राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागी हुन असमर्थ रहेको जानकारी गराउँछु,’ सामाजिक सञ्जालमा विकेशले लेखेका छन् ।
उनले आफू फिट भएका वेला मिडियामा बोलेका कारण नै टोलीबाट बाहिर राखिएको आरोपसमेत लगाएका छन् । ‘हालको घटनाक्रम मलाई पूर्ण रूपमा अवगत भएको र खेलाडी साथीहरूमा पर्न गएको समस्या मैले बुझेको छु, साथै विगतमा म पूर्ण रूपमा फिट हुँदाहुँदै पनि मलाई मिडियामा बोलेको भनेर आरोप लगाउँदै राष्ट्रिय टोलीबाट अलग गरिएको घटना यथावत् नै छ,’ विकेशले लेखेका छन् ।
१७ नयाँ खेलाडी
विकेश कुथु (गोलरक्षक), विशाल सुनार (गोलरक्षक), अभिषेक बराल (गोलरक्षक), आकाश बुढामगर, अनिश चौधरी, विकाश तामाङ, जर्जप्रिन्स कार्की, मनीष जर्घामगर, निरकुमार राई, राजन गुरुङ, रोशन रानामगर, रूपबहादुर लामा, सन्जोक राई, सेसेहाङ आङ्देम्बे, शिव गुरुङ, सुनील श्रेष्ठ, सुशील राई
तत्काल बैठक बोलाउन माग
एन्फाका तीन उपाध्यक्षले कार्यसमिति बैठक तत्काल बोलाउन माग गरेका छन् । राष्ट्रिय फुटबल टोलीका खेलाडी र मुख्य प्रशिक्षकबीचको उत्पन्न विवाद अत्यन्त संवेदनशील विषय भएको उल्लेख गर्दै तीन उपाध्यक्षले एन्फाको कार्यसमिति बैठक तत्काल बोलाउन माग गरेका हुन् । वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्षद्वय कृष्णबहादुर थापा, वीरबहादुर खड्कासहित केन्द्रीय सदस्य दावा लामाले तत्काल बैठक बसेर निर्णय गर्नुपर्ने भएकाले यथाशीघ्र बैठक बोलाउन माग राखेका हुन् ।
खेलाडी संघको भर्त्सना
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले फुटबल खेलाडीमाथि भएको अन्यायप्रति भर्त्सना गरेको छ । संघका अध्यक्ष दीपक श्रेष्ठले खेलाडीलाई दुर्व्यवहार र निरुत्साहित गर्ने प्रशिक्षकलाई कारबाहीको माग राखेका छन् । ‘गलत तरिकाबाट खेलाडीलाई निकालेको त्यो निन्दनीय र अन्यायपूर्ण निर्णय हो, संघ यसको घोर भर्त्सना गर्छ,’ श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय नेपाली खेल क्षेत्रलाई नै नकारात्मक सन्देश प्रवाह गर्ने प्रशिक्षकलाई एन्फालगायत सम्बन्धित निकायबाट कारबाहीका लागि अनुरोध गर्छौँ ।’