राजापाक्षेको श्रीलंका बन्ने कि विभीषणको लंका ?

लामो समयसम्म चर्को ब्याज तिर्नुपर्ने व्यावसायिक वैदेशिक ऋण नभएकाले नेपालको अवस्था श्रीलंकाको जस्तो छैन

बुधबार, १४ बैशाख, २०७९
डिजिटल संस्करण

तपाईंलाई लाग्ला, यो स्तम्भकारले किन रावणको लंका नभनेर लेखको शीर्षकमा विभीषणको लंका भन्यो ? समाजको सर्वांगीण विकासका लागि शासक वर्गले सुन मात्रै थुपारेर पुग्दैन, शासित वर्गप्रति सामाजिक न्याय पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यो लेख यसैको सेरोफेरोमा केन्द्रित रहनेछ । आज नेपालको अर्थतन्त्रमाथिको शंकाले लंका जलाएको अवस्था छ । के हामी पनि श्रीलंका बन्ने मार्गमा अग्रसर छौँ ? विदेशी मुद्रा सञ्चिति मात्र हेरी समग्र आर्थिक संकट आयो भन्नु उचित नहुने विश्व बैंकले बताएको छ । नेपालको सार्वजनिक ऋण चालू आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ४३.१ र आगामी आर्थिक वर्ष ४४.५ प्रतिशतसम्म मात्रै पुग्ने प्रक्षेपण छ । लामो समयसम्म चर्को ब्याज तिर्नुपर्ने व्यावसायिक वैदेशिक ऋण नभएकाले नेपालको अवस्था श्रीलंकाको जस्तो छैन । 

श्रीलंकाको आर्थिक संकट रातारात आएको होइन । तर, कसरी आयो त लंकाको संकट ? या रुस, म्यानमार, पाकिस्तानजस्ता देशको आर्थिक–राजनीतिक संकटचाहिँ कसरी आयो ? यी सबै देशको शासकीय प्रणालीलाई राजनीतिक स्थिरता र आर्थिक प्रगतिका साथै मानवीय विकास सूचकांक (हेचडिआई)मा अग्रणी स्थानमा रहेका नर्डिक (फिनल्यान्ड, नर्वे) या न्युजिल्यान्डजस्ता देशसँग तुलना गर्दा समृद्धिका केही अनिवार्य सर्त उजागर हुन्छन् ! जहाँ–जहाँ निरंकुश, जहानियाँ शासन लामो समय मौलाउँछ नातावाद, कृपावादले त्यहाँ प्रश्रय पाउँछ । केही व्यक्ति, परिवार र आसेपासेको राज हुन्छ । जनतामाझ गरिबी र निराशा मात्रै बढ्दै जान्छ । जनताका दैनिक जीवनस्तरमा सुधार ल्याउन नसकेपछि उनीहरूको ध्यान भड्काउन उग्रराष्ट्रवादका नारा लाग्छन्, धर्मको राजनीति मौलाउँछ र अल्पसंख्यक र आमनागरिकमाथि अत्याचार हुन्छ ।

जनताको विरोधका आवाज दबाउन वाक् स्वतन्त्रतामा अंकुश लाग्छ । मिडियालाई सके किनिन्छ नसके धम्क्याउने काम हुन्छ । जनता सडकमै उत्रिए राज्यसत्ता र निरंकुश सेनाको आडमा दमन गरिन्छ । यस्तो गृहयुद्ध र अलोकतान्त्रिक सरकार भएका देशको आफ्ना छिमेकी देशसँग तनाव हुन्छ । पर्यटन र विदेशी लगानीमा ह्रास आउँछ । आमजनताको अवहेलनाले कुनै देश समृद्ध बन्न सक्दैन । रुस, म्यानमार, पाकिस्तान र अहिले श्रीलंकाको अर्थराजनीतिक संकट उग्रराष्ट्रवाद, धर्मको राजनीति, अल्पसंख्यक अनि आमनागरिकमाथि राज्यसत्ताको अत्याचारजस्ता उग्रवाम र उग्रदक्षिणपन्थी राजनीतिको एकमुष्ठ परिणाम हो ।

श्रीलंकाको अहिलेको अर्थराजनीतिक संकट उग्रराष्ट्रवाद, धर्मको राजनीति, अल्पसंख्यक अनि आमनागरिकमाथि राज्यसत्ताको अत्याचारजस्ता उग्रवाम र दक्षिणपन्थी राजनीतिको एकमुष्ठ परिणाम हो 

नेपालमा पनि शासकहरूले जनतालाई इतिहासदेखि वर्तमानसम्म विभिन्न कालखण्डमा प्रताडित गरिरहे । राज्यशक्तिको दुरुपयोग गर्दै पाइलैपिच्छे सरकारी ढुकुटीको दोहन चलिरह्यो । एकपटक सत्तामा पुग्ने परिवारका सदस्य प्रायः अलिखित अर्बपतिको सूचीमा पुगे । जहानियाँ राणाशासनको अन्त्यपछि पनि पटक–पटक सरकारमा जानेहरूका खलक उच्च ओहदाबाट झरेनन् । राजनीतिक परिवर्तनका आन्दोलनमा महŒवपूर्ण भूमिका निर्वाह गरेका वामपन्थी देशको समष्टिगत आर्थिक–सामाजिक रूपान्तरणमा असफल भए ।

चुनावी घोषणापत्रमा जनतामाझ बिकाउ हुने अब कुनै नारा बाँकी रहेनन् । त्यसैले, आज नेपाली राजनीतिमा पनि अब भारतको जस्तो ‘राष्ट्रवाद’को बलियो डोजर चल्दै छ । खासगरी २०७२ को नयाँ संविधानपछि यो राष्ट्रवादी डोजरको प्रयोग बढेको छ । स्वघोषित देश (राज) भक्तहरू कहिले भ्रष्टाचारविरोधी मुकुन्डो लगाएर त कहिले आमाको रगतको कसम खाएर जनताका भावनामाथि खेल्छन् । कहिले राष्ट्रवादका चर्का नारा लगाएर त कहिले षड्यन्त्रका सिद्धान्त र फेक न्युज फैल्याई आफूलाई ‘राष्ट्रवादी’ र अरूलाई ‘राष्ट्रघाती’ र विदेशी ‘एजेन्ट’ भनेर सामाजिक सञ्जालमा कुर्लने गर्छन् । यी नेता, पूर्वपत्रकार, अभियन्ता, पूर्वसेना, पुलिस या अधिवक्ताहरू आफू मात्र इमान्दार, देशभक्त र धर्म–संस्कृतिको संरक्षक भएको दाबी गर्छन् । आश्चर्यको कुरा त के छ भने, यी ‘राष्ट्रवादी’ संसारमा सबै सफल, समृद्ध देशमा स्थापित धर्मनिरपेक्षता (पन्थ निरपेक्षता), समावेशिता, विकेन्द्रीकरण र संघीयताजस्ता लोकतन्त्रका आधारभूत मूल्य–मान्यताविरोधी पनि हुन्छन् । यो सबमा भाजपा र आरएसएसको शैली झल्किन्छ ।

नेपालका सबै राजनीतिक दलका नेताले आफ्नो कुर्सी टिकाइरहन अहिले दिल्ली दरबारमा धर्मनीतिमा आएको परिवर्तनलाई रिझाउने प्रयास गरिरहेका छन्  । साँचो राष्ट्रवाद देश प्रेम हो, स्वावलम्बन हो र जनतामा निहित सार्वभौमसत्ता हो । देशप्रेम र दक्षिणपन्थी पश्चगमन, जाति र धर्मको कुरूप राजनीतिमा आकाश–पातालको अन्तर छ । धर्मनिरपेक्षताको ताŒिवक अर्थ राज्यले कुनै एक धर्मको रक्षा र प्रवद्र्धन नगरी सबैलाई समान संरक्षण गर्नु हो । अनि एउटा धर्मले प्रलोभन, भय र बाध्यतामा पारेर अरूलाई धर्म परिवर्तन गराउन नपाउनु पनि हो, जुन अधिकार वर्तमान संविधानले सुनिश्चित गरेको छ । अरूभन्दा हाम्रो धर्म, जात, वर्ग, छालाको रङ श्रेष्ठ हो भन्ने भावले समाजमा न एकता ल्याउँछ न समृद्धि । दक्षिणपन्थले समाजलाई रुढीवाद र अतिवादतिर धकेलिदिन्छ ।

सुझावित समाचार