वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा एक सय ४५ पदका लागि चार सय ९४ जनाको उम्मेदवारी परेको छ। आइतबार र सोमबार भएको मनोनयन दर्ताको समयमा जिल्लामा चार सय ९४ जनाको उम्मेदवारी परेको हो।
जिल्लाको पाँच गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्य गरी चार सय ९४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकृत श्रीराम थापाले जानकारी दिए। आमाछोदिङमाे गाउँपालिकामा २७ जनाका लागि ८६ जनाको उम्मेदवारी परेको छ। पालिका अध्यक्षमा सातजना र उपाध्यक्षमा चारजनाले उम्मेदवारी दिएका छन्।
त्यसैगरी, जिल्लाको उत्तरगया गाउँपालिकामा २७ जनाका लागि एक सय नाैजनाको उम्मेदवारी परेको छ। पालिका अध्यक्षमा १० जना र उपाध्यक्षमा सातजनाको उम्मेदवारी परेको छ। यता, कालिका गाउँपालिकामा २७ जनाका लागि एक सय १० जनाको उम्मेदवारी परेको छ। पालिका अध्यक्षमा ११ जना र उपाध्यक्षमा ६ जनाले उम्मेदवारी दिएका छन्।
गोसाइँकुण्ड गाउँपालिकामा ३२ जनाका लागि ७४ जनाको उम्मेदवारी परेको छ। पालिका अध्यक्षमा सात र उपाध्यक्षमा तीनजनाको उम्मेदवारी परेको छ। नौकुण्ड गाउँपालिकामा ३२ जनाका लागि एक सय १५ जनाको उम्मेदवारी परेको छ। पालिका अध्यक्ष र उपाध्यक्षमा पाँच–पाँचजनाको उम्मेवारी परेको छ।
उम्मेदवारी दर्ताका लागि सोमबार दलहरू बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए। दलहरूले राति अबेरसम्म मनोनयन दर्ता गराएका थिए। जिल्लाको पाँचै स्थानीय तहमा शान्तिपूर्ण तरिकाले उम्मेदवारी दर्ता भएको छ।
पाँचवटा गाउँपालिका रहेको रसुवामा २७ वटा वडा रहेका छन् भने जिल्लामा ३८ हजार पाँच सय ४५ मतदाता रहेकाे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लामा ३४ वटा मतदान केन्द्र र ५१ वटा मतदानस्थल तोकिएको छ।