उदयपुरमा गठबन्धन दलबीच सहमति : माओवादी केन्द्रले टुंग्यायो उम्मेदवार, कांग्रेसको बाँकी

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण

पाँचदलीय गठबन्धनले उदयपुरमा भागबन्डा टुंग्याएसँगै नेकपा माओवादी केन्द्र उदयपुरले उम्मेदवारको पनि टुंगो लगाएको छ । आइतबार दिउँसो गठबन्धनमा आबद्ध दलहरूमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाले पालिका भागबन्डा टुंग्याएका थिए । 

भागबन्डा टुंगिएसँगै माओवादी केन्द्रले आफूले पाएको लिम्चुङबुङ गाउँपालिका अध्यक्षको लागि मेजरकुमार राई, रौतामाई गाउँपालिकामा वीरेन्द्रकुमार मगर, ताप्ली गाउँपालिकामा दुङराज बिकलाई अध्यक्ष पदको उम्मेदवार बनाउने टुंगो लगाएको माओवादी केन्द्र उदयपुरका अध्यक्ष विनोद कटुवाल दिवसले बताए । 
कांग्रेस उदयपुरका जिल्ला सभापति हिमाल कार्कीका अनुसार कांग्रेसको भागमा उपाध्यक्ष परेको तीनै गाउँपालिकामा उम्मेदवारको टुंगो सोमबार बिहानसम्म लाग्नेछ । ‘कांग्रेसको भागमा उपाध्यक्ष परेको ठाउँमा उम्मेदवार टुंग्याउन बाँकी छ,’ उनले भने, ‘कटारी नगरपालिकामा कांग्रेसले नगरप्रमुख पाएको छ, तर को उम्मेदवार भन्ने बारेमा कांग्रेसभित्र छलफल भइरहेको छ ।’

कटारी नगरपालिकामा माओवादी केन्द्रले नगर उपप्रमुख पाउने भएको छ । जसमा माओवादी केन्द्र उदयपुरका अध्यक्ष विनोद कटुवाल दिवस उम्मेदवारी दिने तयारीमा छन् । यता गठबन्धनबाट उदयपुरगढी गाउँपालिकामा नेकपा एसबाट मानबहादुर केप्छाकी मगर अध्यक्षको उम्मेदवार बन्ने भएका छन् । उपाध्यक्ष कांग्रेसको भागमा परे पनि उम्मेदवारी नटुंगिएको जिल्ला सभापति कार्कीले बताए । चौदण्डीगढी र त्रियुगा नगरपालिकामा कांग्रेस एक्लै लड्ने भएको छ ।

त्रियुगा नगरपालिकाको नगर प्रमुखमा वसन्त बस्नेत र नगर उपप्रमुखमा सरिता राईले उम्मेदवारको टिकट पाएका छन् । यसैगरी चौदण्डीगढी नगरपालिकामा खगेन्द्र राई नगर प्रमुखको उम्मेदवार उठ्ने भएका छन् भने उपप्रमुखको नाममा छलफल भइरहेको कांग्रेस उदयपुरले जनाएको छ । चौदण्डीगढीमै माओवादी केन्द्र र नेकपा एसलगायतका दलको गठबन्धन बनेको छ । जसमा नेकपा एसबाट नरेन्द्र राउत नगर प्रमुखको उम्मेदवार बन्ने भएका छन् । नेकपा एमालेले भने उदयपुरका आठवटै पालिकामा आइतबार नै उम्मेदवारको टुंगो लगाएको छ ।    

सुझावित समाचार