मकवानपुरका १३ क्रियाशील पत्रकारलाई अवार्ड प्रदान र सातजनालाई सम्मान गरिएको छ। न्यु मिडिया एकेडेमी प्रालिले शनिबार तेस्रो तथा चौथो हेटौँडा जर्नालिजम अवार्डबाट क्रियाशीललाई १३ विधाका अवार्ड र सातजनालाई पत्रकारितामा योगदान पुर्याएको भन्दै सम्मान गरेको हो।
जर्नालिजम अवार्ड कार्यक्रममा नयाँ पत्रिकाका जिल्ला ब्युरो प्रमुख दीपक अधिकारीलाई अग्रजका रूपमा सम्मान र मकवानपुर संवाददाता सुदीप सिवाकोटीलाई उत्कृष्ट आर्थिक पत्रकारिता अवार्ड– २०७९ प्रदान गरिएको थियो।
सम्मानित हुनेहरूमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्षद्वय रूपेश दुलाल र सम्झना कार्की, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी (पोष्टराज), नेपाल समाचारपत्र मकवानपुर संवाददाता रोशन पराजुली, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनील खड्का, नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरिप्रसाद हुमागाईं रहेका छन्।

विभिन्न विधाका अवार्डमध्ये उत्कृष्ट वर्ष पत्रकारिता अवार्डबाट पुरुषतर्फ ग्यालेक्सी टिभीका देवराज पन्त र महिलातर्फ थाहा खबरकी सिर्जना नेपाल, उत्कृष्ट सम्पादक वर्ष अवार्डबाट मनहरी एफएमका शिवकुमार रिजाल काशी, उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्डबाट प्रदेश दैनिक पत्रिकाका गणेशदर्पण अधिकारी, उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्डबाट अनलाइन खबरका अमृत चिमरिया पुरस्कृत भएका हुन्।

यसैगरी, अनलाइन पत्रकारिता वर्ष अवार्डबाट रातोपाटीका गणेश दुलाल, उत्कृष्ट क्रियाशील पत्रकारिता वर्ष अवार्डबाट प्रस्ट खबर डटकमका वरिष्ठ संवाददाता सुनील सिवाकोटी, उत्कृष्ट कला पत्रकारिता अवार्डबाट टिम टेलिभिजनका कपिल खड्का, उत्कृष्ट रेडियो पत्रकारिता अवार्डबाट रेडियो मकवानपुरकी सम्झना रिजाल, उत्कृष्ट टेलिभिजन पत्रकारिता वर्ष अवार्डबाट कान्तिपुर टिभीका बालकृष्ण अधिकारी, उत्कृष्ट नवप्रवेशी पत्रकारिता अवार्डबाट पुरुषतर्फ खबर ब्रेकका सुमन दाहाल र महिलातर्फ पहिलो पोस्ट अनलाइनकी निशा गुरुङ पुरस्कृत भएका छन्।
एकेडेमीले ०७५ मा पहिलो हेटौँडा जर्नालिजम अवार्ड युएईमा सम्पन्न गरेको थियो भने दोस्रो ०७६ मा हेटौँडामा गरेको थियो। न्यु मिडियाका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा कार्यक्रममा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्कालगायतको आतिथ्यता रहेको थियो।