धबारका दिन भाजपाशासित उत्तर दिल्ली नगर निगमले जहाँगीरपुरीका केही घर–संरचनामा बुल्डोजर चलाएको थियो । नगर निगमले ती घर–संरचना अवैध ढंगले निर्माण गरिएको दाबी गरेको थियो । यी घर–संरचना अधिकांश मुसलमान समुदायका मानिसको स्वामित्वमा थिए । यो विध्वंस अभियान सहरको उत्तरपूर्वी भागमा भएको साम्प्रदायिक हिंसाको चार दिनपछि चलाइएको थियो । सो हिंसा बन्दुक र तरबारसहितको एक हिन्दू धार्मिक जुलुस मस्जिदमा प्रवेश गरेपछि भएको हो ।
यो विध्वंस अभियानले साता दिनदेखि देशका विभिन्न भागमा भइरहेको मुसलमानविरोधी गतिविधिलाई पछ्याएको छ । साम्प्रदायिक हिंसाका घटनापछि भाजपाशासित राज्यले अतिक्रमणका नाममा मुसलमानका घर–संरचनालाई बुलडोजरले भत्काएर सामूहिक दण्ड दिइरहेका छन् । निश्चित रूपमा जेजस्ता घटना विकास भइरहेका छन्, ती अविश्वसनीय ढंगले चिन्ताजनक छन् । यी घटनामा घृणायुक्त धार्मिक जुलुसबाट मुसलमानलाई प्रताडित गर्नेदेखि राज्य प्रायोजनमा श्रमिक वर्गका मुसलमानलाई सामूहिक दण्ड दिनेसम्म भइरहेको छ । गत बुधबार हिन्दुत्व समर्थक र मिडियाको ठूलो हिस्सामा उत्सवको भावभंगी देख्न सकिन्थ्यो । मुसलमान सम्पत्तिको अन्धाधुन्ध विनाशलाई उमंगको घटनाका रूपमा हेरिएको थियो ।
मुसलमानविरोधी हिंसाको उत्सव : मिडिया चमकधमकसहित गरिएको घर–संरचना भत्काउने कामले भाजपाको राजनीतिक उद्देश्यपूर्ति गरेको छ, अर्थात् हिंसाले भाजपाको बलशाली हिन्दुत्वलाई थप बलियो बनाएको छ । समाचार च्यानलले पीडितका घर बुलडोजरले भत्काउने प्रक्रियाको प्रत्येक क्षणलाई प्रसारण गरिरहेका थिए । समाचारवाचकले डोजर चालकलाई तपाईंले के–के संरचना भत्काउनुभयो भनेर प्रश्नसमेत गरेका थिए । सो प्रश्न गराइ निकै विद्रुप देखिन्थ्यो, मानौँ ती डोजर चालक कुनै अन्तर्राष्ट्रिय खेलका सफल खेलाडी हुन् र खेलमा विजय हासिल गरेपछि खेलाडी पत्रकारका प्रश्नको जवाफ दिइरहेका छन् । केही समाचारवाचकले डोजरसमेत चलाउन भ्याएका थिए । र, पछि ट्विटरमा कैयौँ भाजपा आइटी सेल एकाउन्टले केन्द्रीय गृहमन्त्री अमित शाहलाई घर–संरचना भत्काएकामा धन्यवाद पनि दिएका थिए ।
यति धेरै श्रमिक मुसलमानको जीवनमा विध्वंस मच्चिएको घटनालाई लिएर सार्वजनिक रूपमै उत्सव एवं हर्ष छाएको देखिन्थ्यो । यसलाई ‘टाइम्स नाउ’की समूह सम्पादक (ग्रुप एडिटर) एवं समाचारवाचिका नविका कुमारको ट्विटले प्रतनिधित्व गथ्र्यो, जहाँ उनले भारतमा यति धेरै संरचना ढालिँदै छन् कि हामीले बुलडोजर आयात गर्नुपर्नेछ भन्दै प्रहसनयुक्त ट्विट गरेकी थिइन् ।
विभाजनका आधारमा स्थापित आधुनिक भारतमा साम्प्रदायिक हिंसाको लामो इतिहास छ । यद्यपि, हालका दिनमा यी हिंसाविना कुनै संकोच खुलमखुल्ला भइरहेका छन् । मुसलमानविरोधी घृणा एवं उत्तेजनासहितको धार्मिक जुलुसको प्रतिकार गर्दा आममुसलमानका घरमा बुलडोजर चलिरहेका छन् । सार्वजनिक वृत्तको ठूलो हिस्सामा मुसलमानलक्षित हिंसालाई स्वागत गरिएको छ । नविका कुमारको ट्विटले स्वागत मात्रै होइन, हिंसालाई उत्सवकै रूपमा मनाइन्छ भन्ने देखाउँछ । वास्तवमा हिन्दू राष्ट्रवाद भारतीय राजनीतिको आधारस्तम्भ नै बन्न पुगेको छ ।
त्रासदीपूर्ण भविष्य : राष्ट्रवादलाई जातीयतामा संकुचित गर्ने काम नौलो होइन । भारतकै छिमेकी श्रीलंका यसको सबैभन्दा ठूलो उदाहरण हो । सन् १९५० मै जब बेलायती उपनिवेशकारीले श्रीलंका छोडे, बौद्ध सिंहाला राष्ट्रवादले मुलुकलाई नै हल्लाएको थियो, जहाँ तमिलभाषी अल्पसंख्यक हिन्दूमाथि चरम हिंसा मच्चाइएको थियो । यो नांगो बहुसंख्यकवादले संसारकै सबैभन्दा ठूलो गृहयुद्ध मच्चाएको तितो यथार्थ हामीमाझ छ । भारतमा पनि भारतीय राष्ट्रवादको जातीयकरणले चरम खतरा निम्त्याउने देखिन्छ । मुसलमानमाथिको अन्धाधुन्ध आक्रमणले राष्ट्रवादको जातीयकरण हुन थालिसकेको देखाउँछ । राष्ट्रवादको जातीयकरणमा निसंकोच दंगा, लिंचिङ र राज्य प्रायोजित घर–संरचना विध्वंस पर्छन् । यति मात्रै नभई राष्ट्रवादको जातीयकरणमा गृहमन्त्री अमित शाह र प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गरेकै कारण मुसलमान व्यक्तिलाई जेलमा जाक्नेजस्ता गतिविधि पनि पर्छन् ।
भारतमा बढ्दो बहुसंख्यकवादी हिंसा हुँदै गर्दा अधिकांश मुसलमानले आफूलाई भारतीय राज्यसत्ताले संरक्षण गर्दैन भन्ने महसुस गरिरहेका छन् । र, ठीकविपरीत दिल्लीको जहाँगीरपुरीमा झैँ राज्यले नै हिंसालाई समर्थन गर्ने सम्भावना बढी देखिन्छ । चिन्ताको विषय के छ भने मुलुक तीव्र गतिमा बहुसंख्यकवादमा गइरहेको सन्दर्भमा मूलधारको राजनीतिक प्रतिरोधी शक्ति पनि देखिँदैन । हिन्दू राष्ट्रवाद भारतीय राष्ट्रवादमा यसरी बलियो गरी विलय भएको छ कि अहिले विपक्षी दल भाजपालाई सामना गर्ने आँट पनि गर्न सक्दैनन् । उदाहरण, बुधबार दिल्ली जहाँगीरपुरी विध्वंसका समयमा कांग्रेस घटनास्थलमा अनुपस्थित नै रह्यो भने आमआदमी पार्टीले पीडित मुसलमानलाई ‘बंगलादेशी’ भन्नसमेत भ्यायो । स्मरण रहोस्, भारतीय मुसलमानलाई बंगलादेशी भन्नु सामान्य हिन्दुत्व राजनीतिक वक्रोक्ति (डग ह्विसल) हो, जहाँ मुसलमान समुदायलाई तल्लो दर्जामा झारिन्छ । हाल मुसलमानविरोधी हिंसालाई रोक्ने कुनै कानुनी वा राजनीतिक उपाय देखिँदैन । नतिजा भारतमा साम्प्रदायिक अराजकता फैलिएको छ र आउँदा वर्षमा यो अराजकता थप फैलिने देखिन्छ । स्क्रल डट इनबाट