गठबन्धन टुटाउने प्रयास असफल भयो : प्रचण्ड

शुक्रबार, ९ बैशाख, २०७९
डिजिटल संस्करण

माओवादी अध्यक्ष प्रचण्डले स्थानीय तहको आसन्न निर्वाचनमा गठबन्धन फुटाउन खोज्नेहरूको षड्यन्त्र असफल भएको बताएका छन् । महानगर र उपमहानगरमा तालमेल गरेर जाने सहमतिसँगै त्यस्तो षड्यन्त्र असफल भएको प्रचण्डको भनाइ छ । 

कैलालीको मसुरियामा बिहीबार भएको जनसभामा प्रचण्डले एमालेलाई लक्षित गर्दै पटक–पटक गठबन्धन टुटाउने प्रयास भएको आरोप लगाए । ‘एमसिसीलाई लिएर गठबन्धन तोड्ने प्रयास भयो । अहिले चुनावको मुखमा पनि षड्यन्त्र भइरहेको थियो । सिट बाँडफाँडमा सहमति नभएर गठबन्धन टुट्छ, तालमेल हुन सक्दैन र फेरि प्रतिगमनको बाटो खुल्छ भनेर हिजो बेलुकासम्म पनि अनेक षड्यन्त्र भए,’ उनले भने, ‘तर, प्रतिक्रियावादी र प्रतिक्रान्तिवादीहरूलाई एकचोटि फेरि परास्त गरियो ।’

सिट बाँडफाँडलाई लिएर केही असन्तुष्टि देखिए पनि ती साम्य हुने प्रचण्डले दाबी गरे । गठबन्धनमा भएको सहमतिसँगै जनता पनि आश्वस्त देखिएको उनले बताए । ‘गठबन्धनले देशलाई पार लगाउँछ भनेर जनता विश्वस्त भएका छन्,’ उनले भने । गठबन्धनमा भएको सहमति कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै प्रचण्डले अन्य तहमा पनि तालमेल गरेर जान आह्वान गरे । ‘यति वेला हामीले संविधानको रक्षा गर्नुपर्ने छ । त्यसैले मेरो गोरुको बाह्रै टक्का नभनी लचिलो भएर अन्य तहमा पनि आ–आफ्नो हैसियतअनुसार तालमेल 
गरेर जान म आग्रह गर्दछु,’ प्रचण्डले भने । 

पूर्वमाओवादीलाई एकताको आह्वान
देशमा भएका परिवर्तनलाई संस्थागत गर्न माओवादी पार्टी बलियो हुन आवश्यक रहेको भन्दै उनले पूर्वमाओवादीलाई धु्रवीकरणमा आउन आग्रह गरे । मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्दलगायत पूर्वमाओवादी नेताहरूलाई मूल पार्टीमै फर्कन प्रचण्डले आह्वान गरे । ‘वैद्यजी र वैद्यजीसँग रहनुभएका कमरेडहरू, बाबुरामजी र बाबुरामजीसँग रहनुभएका कमरेडहरू, विप्लवजी र विप्लवजीसँग रहनुभएका कमरेडहरू अविलम्ब धु्रवीकरणमा आउन अपिल गर्दछु,’ उनले भने, ‘ढिलो गर्नुभयो भने उहाँहरू व्यक्ति मात्रै रहनुहुनेछ, उहाँहरूसँग कुनै संस्था रहनेछैन ।’ विगतका कमजोरीलाई आत्मसमीक्षा गर्न आफू तयार रहेको भन्दै उनले पार्टीलाई विगतकै जस्तो अवस्थामा फर्काउन पूर्वमाओवादी एक ठाउँमा आउनैपर्ने जिकिर गरे ।

अहंकारी प्रवृत्ति हारे वाम एकता सम्भव
एमाले अध्यक्ष ओलीलाई संकेत गर्दै प्रचण्डले निरंकुश र अहंकारी प्रवृत्तिलाई यो निर्वाचनमा समाप्त गर्न सके नेपालमा वामपन्थीबीचको धु्रवीकरण सम्भव रहेको बताए । अहिलेको र आउने निर्वाचनमा माओवादी सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी बन्न सके भविष्यमा कम्युनिस्ट एकता सम्भव रहेको उनले दाबी गरे । ‘निरंकुश, अहंकारी प्रवृत्तिलाई अहिले परास्त गरेपछि फेरि कम्युनिस्ट एकता हुन्छ र त्यो एकता माओवादी र प्रचण्डको नेतृत्वमा भए मात्रै टिक्छ । केपीको नेतृत्व र एमालेको नेतृत्वले टिक्न दिएन,’ प्रचण्डले भने, ‘माओवादी एक नम्बर पार्टी हुनेबबित्तिकै माओवादीको नेतृत्वमा फेरि वाम एकता हुन्छ । 

See More On

सुझावित समाचार