युवा अन्तरक्रियामा एमाले अध्यक्ष ओलीले भने- बेथिति नियन्त्रणमा युवाहरूको भूमिका महत्वपूर्ण हुन्छ

बिहिबार, ८ बैशाख, २०७९
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले समाजमा व्याप्त असन्तुष्टि र बेथिति नियन्त्रणमा युवाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । ललितपुरको गोदावरीमा बुधबार आयोजित ‘युवासँग म अन्तरक्रिया’ कार्यक्रममा ओलीले युवाहरूको असन्तुष्टिले समाज र राष्ट्रमा सुधार ल्याउन सक्नुपर्ने बताए । 

युवामा देखिने असन्तुष्टि समाज र राष्ट्रमा सुधार ल्याउन उपाय दिने खालको रचनात्मक सुझाव हुनुपर्नेमा ओलीको जोड थियो । ‘विकृति, विसंगति, भ्रष्टाचार, अकर्मण्यतामा, बेठीक नियत, खराब कुराहरूमा युवाहरूको असन्तुष्टि हुनुपर्छ,’ ओलीले भने, ‘असन्तुष्टि भएर मात्र हुँदैन । ती कुरालाई नियन्त्रण गर्ने, तिनलाई कम गराउँदै निर्मूल गर्दै लैजानेमा पनि सुझाव हुनुपर्छ ।’ 

राजनीतिक र न्यायिक क्षेत्र, शासन सञ्चालन र युवा प्रतिभाको संरक्षणलगायतका विभिन्न विषयमा विभिन्न क्षेत्रका युवाले ओलीलाई प्रश्न गरेका थिए । विभिन्न क्षेत्रका करिब तीन हजार युवासँगको अन्तरक्रियामा ओलीले प्रतिनिधिमूलक हिसाबले सबैको प्रश्नको सिलसिलेवार जवाफ दिएका थिए ।

प्रतिनिधिमूलक एक प्रश्नको जवाफमा ओलीले आफ्नो पार्टीले नातावाद, कृपावाद स्वीकार नगर्ने बताए । ‘एमालेमा नो नेपोटिजम, नो फेबरिजम, मेरो नजरमा सबै युवा, सबै बालबालिका छोराछोरी हुन्,’ उनले भने । ओलीले एमालेले गणेश प्रवृत्तिलाई स्वीकार नगर्ने पनि बताए ।

कार्यक्रममा एक युवकले ओलीलाई एक युवा र सात करोड लिएर आउने व्यक्ति कसलाई छान्नुहुन्छ भनेर पेचिलो प्रश्न गरेका थिए । जवाफमा ओलीले अनुचित पैसा र अनुचित कारोबार एमालेले स्वीकार नगर्ने बताए । उनले एमालेलाई खरिद गर्न सम्भव नभएको पनि बताए । 

सर्वोच्च अदालतका न्यायाधीशहरू पार्टीले नियुक्ति गरेको र त्यसैको विकृति देखिँदा लोकतन्त्र संकटमा पर्दै गएकोलगायतका विषयमा युवाहरूले खुलेर असन्तुष्टि राखेका थिए ।कार्यक्रममा काठमाडौं स्कुल अफ लका २० वर्षीय सरोज भट्टराई, एमबिबिएस परीक्षा टपर सुजल पौडेल, राइडर कम्पनी पठाओका म्यानेजिङ डाइरेक्टर असीममानसिंह बस्नेत, चीनमा युवा वैज्ञानिकका रूपमा कार्यरत सुरज गौतम, युवा उद्यमी सतिश आचार्य, विज्ञान संकायका विद्यार्थी प्रज्वल भण्डारी, कलाकार राजा राजेन्द्र, पाइलट उदीप श्रेष्ठ, पूर्वक्रिकेटर विनोद दास, ओलम्पियन दीपक विष्टसहित दुई दर्जनभन्दा बढी युवाले प्रश्न गरेका थिए ।

See More On

सुझावित समाचार