गोरखाको लाप्राक गाउँमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’सुरु भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका– ४ लाप्राकमा मंगलबार चलचित्र महोत्सवको उद्घाटन गरिएको हो ।
उद्घाटनका अवसरका गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङले गाउँमा चलचित्र महोत्सव हुँदा खुसी लागेको बताए । महोत्सवले गाउँ पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे । महोत्सवको सुरुवात गुरुङ चलचित्र ‘फुङ’बाट गरिएको छ । यस्तै, मंगलबार स्थानीयसँग ग्रामीण चलचित्र सम्बन्धि अन्तरक्र्रियासमेत गरिएको छ ।
बुधबारसम्म चल्ने महोत्सवमा विभिन्न भाषामा बनेका अन्य सांस्कृतिक चलचित्र, वृत्तचित्र, सर्ट मुभी र फिचर फिल्मसमेत प्रदर्शन गरिने आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले बताए । कलाकार रवीन्द्र खड्का, लेखक एवं निर्देशक शिवम् अधिकारी, सम्पादक शिव पुरी, साउन्ड एडिटर किशोर आचार्य, पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी महोत्सवको जुरी टिममा छन् ।
जुरी टिमले छनोट गरेका उत्कृष्ट नौ विधामा अवार्ड वितरण गर्दै महोत्सव सकिनेछ । नेपाल चलचित्र विकास बोर्डको सहकार्य रहेको महोत्सवको सह–आयोजकमा ‘भ्वाइस अफ नेपाल म्युजिक इन्डस्ट्रिज’ रहेको छ ।