मिनु र सन्जुमाया क्वार्टरफाइनलमा

स्पर्धाका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुने खेलाडीले समान ७५ सय रुपैयाँ पाउनेछन् ।

बुधबार, ७ बैशाख, २०७९
डिजिटल संस्करण

नेपाल आर्मीकी मिनु गुरुङ गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन् । प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न महिला ५१ केजीमा १३औँ दक्षिण एसियाली खेलकुद (साग)की स्वर्णधारी मिनुले मधेस प्रदेशकी रमिशा श्रेष्ठलाई पराजित गर्दै अन्तिम आठको स्थान पक्का गरेकी हुन् । एपिएफकी सन्जुमाया थिङले प्रदेश १ की सुस्मिता श्रेष्ठलाई निराश पार्दै क्वार्टरफाइनलमा पुगिन् । 

महिला ५७ केजीमा बागमती प्रदेशकी स्वस्तिका तिरुवाले कर्णाली प्रदेशकी सुशीला थापाले हराइन् । प्रदेश १ की सुस्मिता राईले सुदूरपश्चिम प्रदेशकी सन्जिता चौधरीलाई पाखा लगाउँदै क्वार्टरफाइनल स्थान पक्का गरेकी छिन् । वीर गणेशमान सिंह स्पोर्टस् कमिटीद्वारा आयोजित प्रतियोगिताको पुरुष ५२ केजीमा गण्डकी प्रदेशका आकाश रानाले लुम्बिनी प्रदेशका सुरज ओलीलाई हराए । एपिएफका प्रदीप महर्जनले कर्णाली प्रदेशका मोहन गुरुङलाई हराउँदै क्वार्टरफाइनलमा पुगेका छन् ।

वसन्तपुर डबलीमा भइरहेको प्रतियोगिताको पुरुष ५७ केजीमा नेपाल प्रहरी क्लबका शम्भु राजवंशीले सुदूरपश्चिमका रामबहादुर थापाले अंकका आधारमा हराए । एपिएफका पुरन राईले बागमती प्रदेशका मार्सल गुरुङलाई पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान बनाए । पुरुष ६३ केजीमा एपिएफका सोनाम सार्की र लुम्बिनीका अनिल पुन मगर पनि अन्तिम आठमा पुगे ।

सोनामले सुदूरपश्चिमका वीरेन्द्र रावललाई पाखा लगाए । अनिलले प्रदेश १ का तोबिन प्रधानमाथि जित निकाले । पुरुष ६९ केजीमा एपिएफका विक्रम चौधरीले मधेसका सचिन शाक्यमाथि सहज जित निकाल्न सफल भए । लुम्बिनीका विकास राना मगरले गण्डकीका सुनील विकलाई निराश पार्दै क्वार्टरफाइनलमा स्थान पक्का गरे । पुरुष ७५ केजीमा आर्मीका दीपेश लामाले लुम्बिनीका गणेश सुनारमाथि जित निकाले ।

प्रतियोगिताको पूर्वउपप्रधानमन्त्री एवं गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले उद्घाटन गरे । १३औँ सागका स्वर्णधारी मिनुसहित भूपेन्द्र थापा मगर र सुनील शाहीलाई नगदसहित सम्मान गरिएको थियो । उनीहरूलाई नेपाल बक्सिङ संघ एवं आयोजक कमिटीका सदस्य ओमनारायण श्रेष्ठले व्यक्तिगत जनही एक लाख नगद पुरस्कार प्रदान गरे ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुदको तयारीमा जुट्न सरोकारवालालाई आग्रह गरेका छन् । प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच गरी १२ स्पर्धा समावेश छन् । सातै प्रदेश र तीन विभागीय टोली आर्मी, प्रहरी र एपिएफ गरी १० टोलीकाब एक सय दुई खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जनाएका छन् ।  प्रत्येक स्पर्धाका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुने खेलाडीले समान ७५ सय रुपैयाँ पाउनेछन् । उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर प्रदान गरिनेछ । 

सुझावित समाचार