दार्चुला सदरमुकाम खलंगामा गर्मी बढेसँगै व्याँसी सौका समुदाय ‘कुञ्चा’को तयारीमा जुटेका छन् । बसाइसराइलाई सौका समुदाय ‘कुञ्चा’ भन्छन् । ६ महिना सदरमुकाम र ६ महिना व्याँसको छांगरु तिङ्करमा बसोबास गर्ने व्याँसीहरूले वैशाख दोस्रो साता ‘कुञ्चा’को तयारी गरेका हुन् ।दार्चुलामा मात्र बसोबास रहेका व्याँसी सौका समुदाय व्याँस गाउँपालिका–१ को छांगरु र तिंकरमा बसोबास गर्छन् । उनीहरू गर्मी छल्न हरेक वर्ष वैशाख पहिलो र दोस्रो साता खलंगाबाट बसाइँ सर्ने गर्छन् । अहिले उनीहरू गाउँ जानका लागि बहुयात्रा अनुमतिपत्र बनाइरहेका छन् ।
बहुयात्रा अनुमति जिल्ला समन्वय समिति, सीमा प्रशासन कार्यालयको सिफारिसमा भारतीय एसडिएम कार्यालयले जारी गर्छ । यसपटक छांगरु र तिंकरका स्थानीय १३, १४ र १५ वैशाखमा बसाइँ सर्ने तयारीमा रहेको व्याँस गाउँपालिका–१ का वडाअध्यक्ष अशोकसिंह बोहराले बताए । भारतको धारचुलाका एसडिएमको सरुवा भएको कारण केही दिन अनुमतिमा ढिलाइ भएको छ ।
भारतीय प्रशासनकै समन्वयमा ‘कुञ्चा’ सर्नेमिति तय गरिएको हो । भारतले अहिले धारचुला हुँदै कालापानीसम्मको सडक स्तरोन्नति अघि बढाएका कारण पशुचौपायालाई समस्या हुन नदिने गरी मिति तय गरेको बोहरा बताउँछन् । ‘नेपालतिरबाट सबै प्रक्रिया पूरा भएको छ,’ उनले भने, ‘भारतीय प्रशासनले अनुमति दिनेबित्तिकै छांगरु र तिंकरका बासिन्दा पशुचौपायासहित व्याँस उक्लिन्छौँ ।’
छांगरु र तिंकरका अधिकांशले अनुमति पत्र सिफारिस लिइसकेका छन् । जिल्ला समन्वय समितिका अनुसार साढे सात सयजनाले सिफारिस लिएका छन् । सीमा प्रशासन कार्यालयले साढे पाँच सयभन्दा बढी सिफारिस दिएको नायब सुब्बा मानबहादुर खडायतले जानकारी दिए ।गाउँमा गएर खेतीपाती लगाउनुपर्ने समय भइसकेकाले बसाइँ सर्न हतार गरिरहेका छन् व्याँसी सौका समुदाय । ‘गाउँ पुगेर आलु, फापर, कोदो, जौ, मुला, तरकारीलगायत बाली लगाउनुपर्ने हुन्छ,’ स्थानीय वीरेन्द्र तिंकरीले भने । खेतीपाती लगाइसकेर फेरि यार्सागुम्बा संकलनमा जाने गर्छन् । तिंकर भन्छन्, ‘हाम्रा पशुचौपाया चिसोमै बस्छन् । अहिले यता गर्मी बढिसकेको छ ।’ छांगरु र तिंकरका एक सय ६० परिवार हरेक वर्ष ‘कुञ्चा’ सर्ने गर्छन् । सदरमुकाम खलंगाबाट उनीहरू पाँच दिन लगाएर मात्रै व्याँसको छांगरु, तिंकर पुग्छन् ।
जहाँ भारतीय अनुमतिले मात्रै गाउँ पुगिन्छ
‘आफ्नै गाउँ जान भारतीय अनुमति र भारतीय भूमी प्रयोग गर्नुपर्छ । भारतले अनुमति र बाटो नदिने हो भने गाउँ पुग्नै सकिँदैन, गाउँ जानसमेत परनिर्भर हामी कसरी राज्यको अनूभूति गरौँ ?,’ व्याँस गाउँपालिका–१ तिंकरका अगुवा एसोदा तिङ्करी भन्छिन् ।देशको सबैभन्दा चर्चा पाइरहने ठाउँ, राजनीति रूपमा सधैँ मुद्दा बनिरहने दार्चुलाको व्याँस गाउँपालिका–१ छांगरु र तिङ्कर गाउँ पुग्न नेपालतिर बाटो छैन । पैदल हिँड्नेसमेत बाटो नभएपछि दुई गाउँका नागरिक भारतीय बाटोमा निर्भर छन् ।
सरकारले नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर ७ जेठ ०७७ मा नक्सा जारी ग¥यो । राजनीतिक तथा प्रशासनिक नक्सामा समेटिएका यहाँका गाउँमा कसरी पुग्नेसम्म सरकारले चिन्ता गरेको छैन । यी दुई गाउँका नागरिक ६ महिना छांगरु, तिंकर र ६ महिना सदरमुकाम खलंगा बसोवास गर्छन् । जाडो छल्न सदरमुकाम खलंगा झरेका व्याँसी सौका समुदाय वैशाख दोस्रो साता गर्मी छल्न गाउँ उक्लिन्छन् ।
सरकारले नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर ७ जेठ २०७७ मा नक्सा जारी गर्यो । राजनीतिक तथा प्रशासनिक नक्सामा समेटिएका यहाँका गाउँमा कसरी पुग्नेसम्म सरकारले चिन्ता गरेको छैन । यी दुई गाउँका नागरिक ६ महिना छांगरु तिंकर र ६ महिना सदरमुकाम खलंगा बसोबास गर्छन् । जाडो छल्न सदरमुकाम खलंगा झरेका व्याँसी सौका समुदाय वैशाख दोस्रो साता गर्मी छल्न गाउँ उक्लिन्छन् ।
‘भारत पिथौरागढ धारचुला तहसिलका एसडिएम कार्यालयबाट अनुमति नपाइने हो भने गाउँ पुग्न सकिँदैन,’ तिंकरी भन्छिन् । जिल्ला समन्वय समिति, सीमा प्रशासन कार्यालयको सिफारिसपछि भारतीय एसडिएम कार्यालयले व्याँसको छांगरु तिंकर जान अनुमति जारी गर्छ । त्यही अनुमतिका आधारमा पशुचौपाय र मानिसको आवतजावत हुन्छ । उनले सुनाइन्, ‘पहिले त दुःख पाएकै थियौँ । संघीयता आयो, सिंहदरबार गाउँ पुग्दासम्म पनि गाउँ जाने घोरेटो बाटो नबन्दा सबैभन्दा पीडादायी अवस्थामा बसेका छौँ ।’
तीन वर्षदेखि ठप्प ताक्लाकोट व्यापार
छांगरु र तिंकरका स्थानीयको मुख्य पेसा व्यापार हो । यहाँका नागरिक ६ महिना चीनको ताक्लाकोट गएर व्यापार गर्थे । तर, कोरोना महामारी सुरु भएयता नेपाल–चीन जोड्ने तिंकर नाका तीन वर्षदेखि बन्द छ । चीनमा कोरोना भाइरस फैलिएसँगै नेपालसँग सीमा जोडिएको दार्चुलाको १ नम्बर सीमानाका बन्द छ । व्यापारपछि यहाँका नागरिक जडीबुटी र खेतीपाती गर्छन् । चीनसँगको नाका नखुल्दा कामकाज गर्न समस्या भएको स्थानीय योगेश बोहरा बताउँछन् ।