उदयपुरमा पाँचदलीय गठबन्धनले पालिकाको भागबन्डा टुंग्याउने जिम्मेवारी प्रदेश संयन्त्रलाई दिने निर्णय गरेको छ। आइतबार बसेको जिल्लास्तरीय गठबन्धनको बैठकले पालिका भागबन्डा जिल्लाले टुंग्याउन नसकेपछि प्रदेश संयन्त्रलाई जिम्मा लगाउने निर्णय गरेको हो।
उदयपुरका चार नगरपालिका र चार गाउँपालिकामा गठबन्धनका सबैले दाबी गरेपछि भागबन्डामा समस्या भएको छ। दैनिक रूपमा जिल्लास्तरीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको बैकठ बस्ने गरेको छ। तर, बैठकले कुनै निष्कर्ष निकाल्न सकेको छैन।
जिल्लामा गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसले धेरै पालिकामा दाबी गरिरहेको छ। गठबन्धनका पाँचवटै दलले प्रत्येक पालिकामा दाबी गरेको कारण निष्कर्षमा पुग्न नसकेको कांग्रेस उदयपुर सभापति हिमाल कार्कीले बताए। ‘हामीले सबैलाई मिलाएर लैजानुपर्छ, तर सबैको दाबी भएकाले पालिकाको भागबन्डा लगाउने जिम्मा प्रदेश संयन्त्रलाई दिने निर्णय गरेका हौँ।’
प्रदेशस्तरीय संयन्त्रबाट पालिकाको भागबन्डा सोमबार विराटनगरमा बस्ने बैठकले टुंगाे लगाउने माओवादी केन्द्र उदयपुरका अध्यक्ष विनोद कटुवाल दिवसले बताए। जिल्लास्तरीय संयन्त्रले वडा भागबन्डा टुंगाे लगाउने कटुवालको भनाइ छ। पालिकामा पार्टीको यसअघिको मतभार र संगठनको अवस्थाबारे गरिएको अध्ययन प्रतिवेदनसहित प्रदेशस्तरीय संयन्त्रलाई पठाइएको छ। यसभन्दा अघिल्लो स्थानीय चुनावमा कांग्रेसले चौदण्डीगढी नगरपालिका र माओवादी केन्द्रले लिम्चुङबुङ गाउँपालिकामा मात्र जितेको थियो। जितेको ठाउँ दुवै पार्टीले लिने र अन्य ६ वटा स्थानीय तहमा भागबन्डा गर्ने तयारी छ।
तत्कालीन नेकपा एमालेबाट विजयी त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरी र उदयपुरगढी गाउँपालिकामा अध्यक्ष मानबहादुर केप्छाकी मगर हाल एकीकृत समाजवादीमा छन्। एकीकृत समाजवादीले त्रियुगा नगरपालिका र उदयपुरगढी गाउँपालिकामा दाबी गरेको एकीकृत समाजवादी उदयपुरका अध्यक्ष राममणि पोखरेल बताउँछन्।
०७४ सालमा भएको स्थानीय चुनावमा बेलका, कटारी, त्रियुगा नगरपालिका र उदयपुरगढी गाउँपालिकामा कांग्रेस दोस्रो भएको थियो। दोस्रो भएजति सबै आफूहरूले पाउनुपर्ने कांग्रेसको माग छ। यसैगरी रौतामाई गाउँपालिकामा माओवादी दोस्रो भएको थियो। कांग्रेसले यसअघि दोस्रो भएका सबै स्थानीय तहमा दाबी गरेपछि सकस भएको एकीकृत समाजवादीका उदयपुर अध्यक्ष पोखरेलको भनाइ छ।