कार्डबाट भिसा शुल्क तिर्न मिल्छ, तर पर्यटकलाई अध्यागमन भन्छ– नगद नै ल्याऊ

विमानस्थलस्थित राष्ट्रिय वाणिज्य बैंकले भिसा, मास्टर कार्डलगायत जुनसुकै अन्तर्राष्ट्रिय कार्डबाट पनि भिसा शुल्क लिन्छ, तर अध्यागमन कार्यालयले सूचना निकालेर भन्यो– अनअराइभल भिसामा नेपाल आउने भए दुई सय डलर नगद नै बोकेर आऊ

सोमबार, ५ बैशाख, २०७९
डिजिटल संस्करण

राज्यले नै डिजिटल भुक्तानीलाई पर्वद्धन गरिरहेका वेला अध्यागमन विभागले भने पर्यटकलाई दुई सय अमेरिकी डलर नगद नै साथमा बोकेर ल्याउन सूचना निकालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आइतबार ‘अनअराइभल भिसा’ लिने पर्यटकलाई नगद नै बोकेर आउन सार्वजनिक सूचना जारी गरेको हो । जबकि भिसा शुल्क संकलन गर्ने राष्ट्रिय वाणिज्य बैंकले पिओएस मेसिनमा कार्डमार्फत नै रकम संकलन गर्ने गर्छ । कथंकदाचित वाणिज्य बैंकको पिओएसले काम नगरे प्रभु बैंकको एटिएमबाट पैसा निकालेर पनि भिसा शुल्क तिर्न मिल्छ ।

तर, नगद नबोकेका कारण पर्यटकले भिसा शुल्क तिर्न समस्या भएको तर्क अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाहीले दाबी गरे । संसारभरि नै डिजिटल भुक्तानी बढिरहेको र नेपालमा पनि त्यसको प्रयोग आम बनिरहेका वेलामा अध्यागमनले गरेको यस्तो निर्णयबारे थाहा पाए विदेशीहरू अचम्मित हुने होटेल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाह बताउँछन् । ‘अध्यागमनको निर्णय सुने विदेशी हाँस्नेछन्,’ उनले भने ।

पर्यटकले नगदमा मात्रै होइन, आफूले बोकेका जुनसुकै अन्तर्राष्ट्रिय कार्डबाट भिसा शुल्क जम्मा गर्न सक्ने राष्ट्रिय वाणिज्य बैंकका डेपुटी जनरल म्यानेजर देवेश लोहनी बताउँछन् । ‘अनअराइभल भिसा’ लिन पर्यटकले भिसाको अवधिअनुसार निश्चित शुल्क तिर्नुपर्ने हुन्छ । विमानस्थल परिसरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको काउन्टरमा पर्यटकले नगद जम्मा वा कार्डमार्फत भुक्तानी गरेर भौचर वा कोड नम्बर दिएपछि बल्ल अध्यागमन विभागले भिसा जारी गर्छ । पर्यटकले मास्टर कार्ड, भिसा कार्ड तथा अन्य विद्युतीय पेमेन्ट सिस्टम बोकेर आउँछन्, ती सबै कार्डमार्फत भुक्तानी लिइरहेको र भुक्तानी लिन कुनै समस्या नभएको राष्ट्रिय वाणिज्य बैंकका डेपुटी जनरल म्यानेजर लोहनीले बताए । तर, भिसा शुल्कबापतको रकम कार्डबाटै भुक्तानी गर्न मिल्ने अवस्था हुँदाहुँदै अध्यागमन कार्यालयले पर्यटकलाई नगद नै बोकेर आउन गरेको आग्रह अचम्मलाग्दो छ । 

‘हामी नगद पनि लिन्छौँ, डलर कार्ड पनि स्वाप गर्छौँ,’ राष्ट्रिय वाणिज्य बैंकका डेपुटी महाप्रबन्धक लोहनीले भने, ‘नेपाल राष्ट्र बैंकले अनुमति दिएका कन्भर्टिबल करेन्सीको भिसा वा मास्टर कार्ड जुन लिए पनि स्वाप गरेर भुक्तानी लिइरहेका छौँ ।’ पर्यटकले आफ्नो देशमा मात्र चल्ने कार्ड बोकेर आए भने नेपालमा नचल्न सक्छ, त्यो पिओएसमा पनि चल्दैन, एटिएममा पनि । नेपाल आउँदा कार्डको सेवा नखोली आएमा कार्ड नचल्न सक्छ । ‘कार्डमै समस्या भएबाहेक त्यसबाट भुक्तानी लिन कुनै समस्या छैन,’ उनले भने, ‘कार्डबाट भुक्तानी नहुने समस्या एकदमै कम मात्र हुन्छ ।’

अध्यागमनले नगद नै बोकेर आउन सूचना जारी गरेपछि राष्ट्रिय वाणिज्य बैंकको टिम टिआइए काउन्टर पुगेको र त्यहाँ कुनै समस्या छ कि भनेर हेरेको उनले जानकारी दिए । ‘अनुगमनका क्रममा कार्ड चलिरहेकै देखियो, एकाधदुईको कार्ड नचल्ने हुन सक्छ,’ उनले भने । आफूहरूले अध्यागमन कार्यालय र टिआइए व्यवस्थापनसँग पनि समस्याबारे छलफल गरेको र भिसा शुल्क संकलनमा आफूहरूका तर्फबाट कुनै समस्या नभएको पनि लोहनीले बताए । त्यहाँ राष्ट्रिय वाणिज्य बैंकले सेवा प्रवाह गरे पनि एटिएम मेसिन राखेको छैन । ‘एयरपोर्टमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम राख्न पहिलेदेखि नै प्रयास गरेका थियौँ, तर नियामकले तिमीहरूको एक्सचेन्ज काउन्टर होइन, फी कलेक्सन सेन्टर मात्र हो भनेर एटिएम मेसिन राख्न दिन मानेको छैन,’ उनले भने ।

विदेशी नागरिक नेपाल प्रवेश गर्ने एक मात्र गेटवे टिआइएमा एउटा मात्र प्रभु बैंकको एटिएम मेसिन रहेको छ । एयरपोर्टमा एउटा मात्र एटिएम भएको, त्यसको सेवा चुस्त नभएको, पर्यटकले पैसा झिक्न नसकेर हैरानी व्यहोर्नुपरेको भनेर अध्यागमन कार्यालयका प्रमुख शाहीले भने । एक वर्षदेखि प्रभुको एटिएमले प्रभावकारी काम नगरेको आरोप जोशीले लगाए । ‘पर्यटकले बोकेका भिसा कार्ड, मास्टर कार्डले काम नै गर्दैनन्, हामीले कम्प्लेन गरेपछि प्रभुले बनाउँछ, तर एक–दुई दिनमै बिग्रिन्छ,’ उनले भने, ‘हामीले राष्ट्र बैंकमा पनि कम्प्लेन गरिरहेका छौँ, नियामक निकायले पनि त्यति चासो देखाइरहेको छैन ।’ एउटा मात्र बैंकलाई एकाधिकार दिँदा सेवा चुस्त नभएको बताउँदै उनले राष्ट्र बैंक र टिआइए व्यवस्थापनले ठाउँ उपलब्ध गराएर अरू बैंकलाई पनि एटिएम बुथ राख्न दिनुपर्ने उनको भनाइ छ ।

तर, प्रभु बैंकका सिइओ अशोक शेरचनले आफूहरूको एटिएम मेसिनबाट प्रभावकारी सेवा नदिएको भन्ने आरोप स्वीकार गरेनन् । ‘त्यो मेसिनबाट साउनदेखि अहिलेसम्म करिब १३ सय कारोबार भएको रहेछ, सयजनामा चार–पाँचजनाको कार्डमा केही समस्या भएको होला,’ उनले भने, ‘कतिपयको पिन नम्बर नमिल्न सक्छ, यहाँ धेरै देशका मान्छे, धेरै प्रकारका कार्ड बोकेर आउन सक्छन्, कतिपय कार्ड कतिपय एटिएम मेसिनबाट नचल्ने पनि हुन सक्छ, त्यस्तो वेलामा कुनै–कुनै कार्डबाट ट्रान्जेक्सन नहुन सक्छ ।’

‘कतिपय पर्यटकका कार्डबाट ट्रान्जेक्सन नै नभएपछि उसलाई प्रहरीको जिम्मा लगाएर बाहिरका एटिएमबाट पैसा झिकेर ल्याउन दिनुपर्ने अवस्थासम्म आइलाग्यो,’ अध्यागमन कार्यालय प्रमुख जोशीले भने, ‘यसबाट पर्यटकले हैरानी त पाउने नै भए, देशको पनि राम्रो सन्देश बाहिर जाँदैन ।’ पर्यटकले साथमा नगद बोकेर आउँदा भिसा शुल्क तिर्न, ट्याक्सी भाडा तिर्नका लागि कार्ड नचले पनि समस्या नहुने देखेर दुई सय डलर नगद ल्याउन आग्रह मात्र गरेको उनको भनाइ छ । एयरपोर्टले ठाउँ दिएर अरू बैंकलाई पनि एटिएम राख्न लगाउन सक्ने प्रभु बैंकका सिइओ शेरचनले बताए । 

हामी १० वर्ष पछाडि फर्किन खोज्यौँ, यो सुनेर विदेशी हाँस्छन्

 विनायक शाह
वरिष्ठ उपाध्यक्ष, होटेल संघ नेपाल

 अहिले सम्पूर्ण विश्व अनलाइन पेमेन्ट प्रणालीमा गइसक्यो । धेरै देशमा क्यास नै चल्दैन । नेपालमा पनि क्यासलेस भुक्तानी प्रणाली विकास हुँदै छ । अहिले धेरै नेपाली पनि अनलाइनबाटै भुक्तानी गर्न थालिसकेका छन् । यस्तो वेलामा अध्यागमन कार्यालयले पर्यटकलाई दुई सय डलर नगद बोकेर आऊ भन्नु हामी १० वर्षपछि फर्कन खोज्नु हो । यो एकदमै गलत निर्णय भयो । अहिले क्यास त कसैले पनि बोक्दैन । 

हामीले सरकारी निर्णय–आदेश अन्तर्राष्ट्रिय एजेन्टलाई जानकारी गराउनुपर्छ । यो सुन्दा विदेशी एजेन्ट कम्पनीहरू पनि हाँस्छन् । तिमीहरू सेवा चुस्त बनाउनुपर्नेमा किन पछाडि फर्किंदै छौ भन्छन् । कुनै पर्यटकले नगद बोकेर आउँछ र नगद नै तिर्छ भने त्यो उसको कुरो भयो । तर, हामीले नियम नै बनाएर दुई सय डलर बोकेर आऊ भन्न मिल्दैन । हामीले आफ्नो भुक्तानी प्रणाली चुस्त बनाउने हो ।

अन्तर्राष्ट्रिय एयरपोर्टजस्ता ठाउँमा हरेक सेवाहरू अत्यन्तै चुस्त हुनुपर्छ ।  कोभिडपछि हामीले सेवामा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नुपरिरहेको छ । अहिले ठूला–साना, धनी–गरिब सबैलाई पर्यटक चाहिएको छ । कुनै पनि देशको आर्थिक प्रगतिका लागि पर्यटन ठूलो आधार हो । अहिले हाम्रो अर्थतन्त्रमा पनि दबाब सिर्जना भइरहेको छ, त्यो संकट पार लगाउने पर्यटनले नै हो । पछिल्लो समय पर्यटक नआउँदा पनि विदेशी विनिमय सञ्चितिको समस्या आएको हो । अध्यागमनको निर्णयले पर्यटकलाई नेपाल आउन प्रोत्साहित होइन, निरुत्साहित गर्छ । यस्ता निर्णयहरू गर्नुपूर्व पर्याप्त छलफल गर्नुपथ्र्यो । सरोकारवाला पक्षसँग सुझाव लिनुपथ्र्यो ।
 

सुझावित समाचार