ओली सरकारका भ्रष्टाचार, अनियमितता र संविधानविपरीतका कामको भण्डाफोर गर्ने कार्यादेश
देशैभर स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने पाँचदलीय गठबन्धनको सहमतिलगत्तै कांग्रेसले निर्वाचनका लागि सबै पालिकामा प्रतिनिधि पठाउने निर्णय गरेको छ । कांग्रेसले सात प्रदेशमा सहमहामन्त्रीहरू, जिल्लामा केन्द्रीय प्रतिनिधि (केन्द्रीय कार्यसमिति सदस्य) र पालिकामा प्रदेश प्रतिनिधि (प्रदेश कार्यसमिति सदस्य) खटाउने निर्णय लिएको हो ।
शुक्रबार बसेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको कार्यादेश, २०७८ लाई अनुमोदन गर्दै यस्तो निर्णय गरेको हो । कांग्रेसले पार्टी उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले स्थानीय तह निर्वाचनका लागि सातवटा प्रदेश र ७७ वटै जिल्लामा काम, कर्तव्य र अधिकारसमेत तोकी केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो । बैठकले प्रदेश कार्यसमितिलाई मातहतका जिल्लाअन्तर्गतका पालिकामा प्रदेश प्रतिनिधि खटाउन निर्देशन दिएको छ ।
बैठकले स्थानीय तह निर्वाचनको चुनावी सभा व्यवस्थित गर्न चुनावी सभा व्यवस्थापन मापदण्डसमेत अनुमोदन गरेको छ । समितिले बनाएको मापदण्डअनुसार पालिकास्तरका चुनावी सभा बढीमा दुई घन्टाभित्र सकिनुपर्ने केन्द्रीय सदस्य नैनसिंह महरले बताए । वडा र टोलस्तरका सभा भने एक घन्टाभित्रै सक्नुपर्ने गरी मापदण्ड तयार पारिएको उनले बताए । बैठकले सभामा आसनग्रहण र वक्ताको संख्याबारे पनि मापदण्ड निर्धारण गरेको छ ।
कांग्रेसको पक्षमा चुनावी गीत बनाउनेलाई दुई लाख ७५ हजार पुरस्कार
कांग्रेसले आफ्नो पक्षमा उत्कृष्ट चुनावी गीत बनाउनेलाई दुई लाख ७५ हजार नगद पुरस्कार घोषणा गरेको छ । प्रवक्ता डा. प्रकाशशरण महत संयोजकत्वको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिअन्तर्गत रहेको सांस्कृतिक समन्वय उपसमितिले यस्तो घोषणा गरेको हो । उपसमिति संयोजक डिबी गुरुङका अनुसार आसन्न स्थानीय निर्वाचनलक्षित गरी कांग्रेसको पक्षमा चुनावी गीतहरू (अडियो÷भिडियो) निर्माण गरी प्रचार–प्रसार भइरहेको गीत पठाउनुपर्नेछ । समितिका अनुसार यसरी पठाइएका गीतलाई छनोट समितिको निर्णयअनुसार पुरस्कृत गरिनेछ ।
प्रतिनिधिको कार्यादेश
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रबाट केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय सदस्यलाई जिल्लामा खटाउनेछ । प्रदेश कार्यसमितिले पालिकामा प्रतिनिधि पठाउँछ । उनका अनुसार प्रतिनिधिलाई स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने, समन्वय र सहजीकरण गर्ने, कांग्रेसका नेता–कार्यकर्ता, शुभचिन्तक, भ्रातृ तथा शुभेच्छुक संस्थालगायतको उत्साह एकता कायम गर्ने र ओली सरकारले गरेका भ्रष्टाचार, अनियमितता तथा संविधानविपरीतका कामको भण्डाफोर गर्ने कार्यादेश छ ।
महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखबारे निर्णय लिन आज कार्यसम्पादन समिति बैठक
महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखबारे निर्णय लिन कांग्रेसको कार्यसम्पादन बैठक बस्ने भएको छ । मुख्यसचिव पौडेलका अनुसार बैठक पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्नेछ । बैठकमा गठबन्धन दल र कांग्रेसबीच महानगर र उपमहानगरमा दाबीलगाायतका विषयमा छलफल हुनेछ ।