चुनावबारे अन्योल सिर्जना नगर्न दलका नेता–कार्यकर्तालाई निर्वाचन आयोगको आग्रह

शुक्रबार, २ बैशाख, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोगले आसन्न स्थानीय निर्वाचनका विषयमा अन्योल सिर्जना गर्ने अभिव्यक्ति नदिन राजनीतिक दलका नेता–कार्यकर्तालाई आग्रह गरेको छ । राजनीतिक दलका नेता कार्यकर्ताले तोकिएको समयमा निर्वाचन नहुने अभिव्यक्ति दिएकोप्रति आयोगले ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो आग्रह गरेको हो । 

बिहीबारको नियमित पत्रकार भेटघाटमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘निर्वाचनका विषयमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरू राजनीतिक दलका नेता एवं कार्यकर्ताबाट आएकोप्रति आयोगको ध्यानाकर्षण भएको छ । निर्वाचनका विषयमा अन्योल सिर्जना गर्ने अभिव्यक्ति नदिन सरोकारवाला सबैलाई आयोग आग्रह गर्दछ ।’ उनले निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तीव्रताका साथ आयोगले काम गरिरहेको जनाए । ‘आयोगले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न तीव्रताका साथ काम गरिरहेको छ । निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ,’ उनले थपे । 

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाँचदलीय सत्तागठबन्धनले स्थानीय चुनाव सार्न खोजेको आरोप लगाएका थिए । २९ चैतमा ललितपुरमा आयोजित एक कार्यक्रममा उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई चुनावमा सहभागी गराउने बहानामा गठबन्धनले निर्वाचन सार्न खोजेको आरोप लगाएका थिए । 

त्यसैगरी, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ३० वैशाखमा निर्वाचन हुनेमा संशय पैदा गर्ने अभिव्यक्ति दिएका थिए । दोलखा–काठमाडौं सम्पर्क मञ्चले २६ चैतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले एकै चरणमा निर्वाचन गर्ने निर्णयले ०७४ असोजमा भएको तेस्रो चरणको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको भावनालाई सम्बोधन गर्न नसकेको बताएका थिए । कानुनमा त्रुटि रहेको बताउँदै उनले निर्वाचन सर्न सक्ने सम्भावना पनि रहेको आशय व्यक्त गरेका थिए । 

शालिग्राम शर्मा पौडेल प्रवक्ता, निर्वाचन आयोग

निर्वाचन आयोगले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न तीव्रताका साथ काम गरिरहेको छ । निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । यस्तोमा निर्वाचनका विषयमा अन्योल सिर्जना गर्ने अभिव्यक्ति नदिन आयोग सरोकारवाला सबैलाई आग्रह गर्दछ ।

३९ जिल्लाको मतपत्र छापियो
स्थानीय तह निर्वाचनका लागि आवश्यक एक करोड ९४ लाख मतपत्रमध्ये ७० लाख ३३ हजार मतपत्र छापिएको छ । आयोगका अनुसार ३९ जिल्लाका लागि आवश्यक ७० लाख मतपत्र छपाइको काम सम्पन्न भएको हो । हाल दैनिक रूपमा करिब आठ लाख मतपत्र छपाइ भइरहेको आयोग प्रवक्ता पौडेलले जानकारी दिए । 

पर्यवेक्षणका लागि ६५ संस्थाको आवेदन 
स्थानीय तह निर्वाचन पर्यवेक्षणका लागि ६५ वटा राष्ट्रिय संस्थाले निवेदन दिएका पनि आयोगले जनाएको छ । आयोगले पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाका लागि पर्यवेक्षण अनुमतिका लागि गत चैत १३ गते सूचना प्रकाशित गरेको थियो । पर्यवेक्षणका लागि ती संस्थाबाट ११ हजार ६९४ पुरुष, आठ हजार ४८२ महिला र अन्य २९१ गरी २० हजार चार सय ६७ जनाले आवेदन दिएका हुन् । ती संस्थाहरूको निवेदनउपर जाँचबुझ गरी यथाशीघ्र निर्णय गर्ने आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि र सूचनाको सहज रूपमा जानकारी दिन आयोगले बिहीबारदेखि हरेक दिन स्थानीय तह निर्वाचन ई–बुलेटिन प्रकाशन सुरु गर्ने आयोगका प्रवक्ता पौडेलले बताए । उनका अनुसार बुलेटिन आयोगको वेबसाइटमा उपलब्ध हुनेछ ।

आचारसंहिता उल्लंघनका घटना ‘नोटिस’मा 
निर्वाचन आयोगका प्रवक्ता पौडेलले २५ चैतबाट लागू निर्वाचन आचारसंहिता उल्लंघनका घटनाहरू आयोगको ‘नोटिस’मा रहेको बताए । आचारसंहिताविपरीत भएका केही क्रियाकलापमा आयोगले सम्बन्धितलाई पत्राचारसमेत गरेको उनले बताए । आचारसंहिता उल्लंघनका घटनामाथि आयोगले अध्ययन गरिरहेको भन्दै उनले उल्लंघन गर्नेसँग स्पष्टता खोज्ने र त्यसका आधारमा कारबाही गरिने जनाए । ‘आचारसंहिता उल्लंघनका जे जति घटना बाहिर आएका छन्, त्यसलाई आयोगले नोटिस गरिरहेको छ । कतिपयलाई पत्राचार गरिएको छ भने कतिपय घटना अध्ययनकै क्रममा छन्,’ उनले भने, ‘पेस गरिएका जवाफलाई अध्ययन गरेर आयोगले जेजस्तो कारबाही गर्नुपर्ने हो, त्यो गर्छ ।’ 

आयोगले एकीकृत आचारसंहिताकै विषयमा एकीकृत समाजवादी र कांग्रेस नेता शशांक कोइरालालाई स्पष्टीकरण सोधेको थियो । एकीकृत समाजवादीलाई आमसभाको विषयमा र कोइरालालाई ०७४ को संघीय चुनावमा गरेको खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर आयोगले पत्र काटेको थियो । 

जुन चिह्नबाट लड्यो, उम्मेदवार त्यही पार्टीकै हुन्छ : आयोग
निर्वाचन आयोगले जुन चिह्नबाट चुनाव लड्छ, उक्त व्यक्ति सोही पार्टीको हुने स्पष्ट पारेको छ । राप्रपा नेपाल र परिवार दलले सूर्य चिह्नबाट चुनाव लड्ने गरी तालमेलका लागि एमालेसँग सहमति गरेको अर्को दिन आयोगको भनाइ आएको हो । 

‘सम्बन्धित पार्टीको आधिकारिक व्यक्तिले दस्तखत गरेर दिएको अवस्थामा त्यो उम्मेदवार हुन सक्ने हो । कुन व्यक्ति कुन दलमा छ भन्ने विषय आयोगलाई जानकारी हुँदैन । आयोगलाई सम्बन्धित दलको आधिकारिक व्यक्तिले टिकट दिएपछि त्यो व्यक्ति चुनाव लड्न पाउने हो,’ आयोग प्रवक्ता पौडेलले भने, ‘उदाहरणका लागि कुनै पार्टीको चुनावचिह्न क्यामेरा छ । उक्त पार्टीको चुनावचिह्न क्यामेराबाट निर्वाचन लडेपछि चुनाव लड्ने व्यक्ति क्यामेरा चिह्न भएकै पार्टीको मान्छे हो भनेर आयोगले बुझ्छ ।’

सुझावित समाचार