मिलन डी काप्री निर्देशित सिनेमा ‘षट्कोण’को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार इन्टरनेटमा रिलिज गरिएको साइकोलजिकल थ्रिलर सिनेमाको ट्रेलरमा कर्मा एक मर्डर मिस्ट्रीको खोजीमा लागेको पत्रकारको भूमिकामा देखिएका छन्। षट्कोण मिलनको डेब्यु निर्देशकीय सिनेमा हो। सिनेमा टिजर र ट्रेलरभन्दा निकै राम्रो बनेकाले दर्शकले मन पराउनेमा मिलन विश्वस्त रहेको बताउँछन्।
क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मसकाे ब्यानरमा निर्माण भएको सिनेमा वैशाख २३ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुने बताइएको छ। कोरोना महामारीअगाडि नै निर्माण भएको सिनेमाको सम्पूर्ण काम सकेर प्रदर्शनको पालो कुरेर बसेकाले अहिले समय उत्तम लागेकाले रिलिजका लागि तयार भएको निर्माण टिमको भनाइ छ।
सिनेमामा कर्मा र भोलाराज सापकोटाका अलवा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बू वानेम, असिम लामालगायतको अभिनय रहेको छ । शिशिर लिम्बू वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन्।