आजबाट ‘नयाँ पत्रिका’ सोह्रौँ वर्षमा प्रवेश

बिहिबार, १ बैशाख, २०७९
डिजिटल संस्करण

प्रकाशकीय

आजबाट ‘नयाँ पत्रिका’ले सोह्रौँ वर्षको यात्रा सुरु गरेको छ । डेढ दशक लामो यो यात्रामा साथ र सद्भावका लागि हामी आदरणीय पाठक, विज्ञापनदाता, वितरक र शुभेच्छुकका ऋणी छौँ ।

सोसल मिडियाको युगमा पत्रकारिता अझ बढी चुनौतीपूर्ण र प्रतिस्पर्धी बनिरहेको छ । तर, छापा माध्यमको सबैभन्दा ठूलो पुँजी विश्वसनीयता हो र हामी त्यसलाई गुम्न दिनेछैनौँ । वैकल्पिक पत्रिका होइन, वैकल्पिक पत्रकारिताको हाम्रो संकल्प आगामी दिनमा पनि कमजोर हुनेछैन ।

कोभिड महामारीले सबैभन्दा बढी संकट छापा पत्रकारितालाई पार्यो । बजार व्यवस्थापनदेखि वितरणसम्मको संयन्त्र प्रभावित भयो । पाठक वर्गलाई थाहै छ– ती अप्ठ्यारा दिनमा पनि ‘नयाँ पत्रिका’ले कहिल्यै हात उठाएन र अब पनि उठाउनेछैन ।

हामीले पत्रकारितालाई केवल समाजको ऐना मानेका छैनौँ, बरु दृश्यमाथिको सार्थक हस्तक्षेप ठानेका छौँ । लोकतन्त्रले जब तन्त्र समातेर लोकलाई छोड्छ, हामी लोकका पक्षमा उभिएका छौँ र उभिइरहेछौँ । राष्ट्रको दैनिकीलाई अभिलिखित गर्दागर्दै पनि हामी निस्पृह हुनेछैनौँ, सार्थक र रचनात्मक हस्तक्षेप रोज्नेछौँ ।

आगामी दिनमा हामी अझ बढी पाठकमैत्री र प्रयोगधर्मी हुनेछौँ । पाठकले हामीबाट खोजेको उच्च व्यावसायिकता र जिम्मेवारीबाट हामी भाग्नेछैनौँ । यहाँहरू सबैलाई नयाँ वर्ष २०७९ को हार्दिक शुभकामना ।

सुझावित समाचार