दश दिनपछि काठमाडौं उपत्यकाको फोहाेर व्यवस्थापनको काम सुरु भए पनि यसअघि थुप्रिएको सबै फोहाेरलाई अन्तिम विसर्जनस्थलसम्म पुर्याउन अझै केही दिन लाग्ने जनाइएको छ ।
तारकेश्वर नगरपालिकाको मुड्खु–तिनपिप्ले सडकखण्डका बासिन्दाले सडक कालोपत्रे गर्न ढिलाइ भएको भन्दै काठमाडौं उपत्यकाबाट फोहाेर व्यवस्थापनका लागि सिसडोल जान रोकेका थिए । सोमबारदेखि फोहाेरको गाडी सिसडोल जान थालेको भए पनि लामो समयदेखिको रोकिएको फोहाेर व्यवस्थापन हुन भने समय लाग्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
स्थानीय र ठेकेदार कम्पनीबीच सडक मर्मतको काम तत्काल गर्ने सहमति भएपछि सोमबारदेखि फोहाेर लान थालिएको हो । पछिल्लो समय १० दिन फोहाेर नउठेको भए पनि गत फागुनमा पनि स्थानीयको अवरोधका कारण १९ दिन फोहाेर सडकमै रह्याे । गत फागुन १ देखि पनि तिनपिप्लेका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै १२ दिन अवरोध गरेका थिए । फागुन अन्तिम साता सिसडोल र बञ्चरेडाँडाका स्थानीयले एक हप्ता फोहोर फाल्न रोकेका थिए भने गत १८ चैतमा फेरि अवरोध भएको हो ।
आठ वर्षअघि शैलुङ कन्स्ट्रक्सनले ठेक्का लिएको नुवाकोट जाने पासाङल्हामु राजमार्ग सडक अहिलेसम्म बनाएको छैन । समयमा नै काम नभएको भन्दै स्थानीय बासिन्दाले गरेको अवरोधका कारण यही चैत १८ गतेदेखि काठमाडौं उपत्यकाको १८ स्थानीय तहका फोहाेर व्यवस्थापन हुन नसकेको हो । कामपा वातावरण विभाग प्रमुख सरिता राई हाल फोहाेर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहाेर व्यवस्थापनस्थल निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको बताउँछन् ।
हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहाेर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहाेर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडी फोहाेर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडी मात्र सिसडोल पुग्ने गरेका छन् ।