११ बुँदे घोषणापत्र जारी गर्दै लघुवित्त सम्मेलन सम्पन्न

बुधबार, ३० चैत, २०७८
डिजिटल संस्करण

दुई दिनदेखि काठमाडौंमा सञ्चालन भइरहेको ‘तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले तीन मुख्य समस्याहरू गरिबी, बेरोजगारी र वातावरणीय प्रतिकूल परिस्थितिको दुष्प्रभावलाई न्यूनीकरण गर्दै अगाडि बढ्न संकल्प गरेको छ । सम्मेलन आयोजक समितिका अध्यक्ष एवं लघुवित्तका अगुवा अभियन्ता शंकरमान श्रेष्ठले पनि ‘घर–घरमा उद्यम फैलाउने र गरिबी शून्य बनाउने अभियानको अभियन्ता बन्नुहोस्’ भन्ने नारालाई मूल मन्त्र बनाएर कार्यान्वयन गर्नुपर्ने बताए ।  

सम्मेलनमा लघुवित्तका माध्यमबाट सिर्जित सफलताका कथाहरू सुन्दा निकै उत्साहित बनाएको स्वावलम्बन विकास केन्द्र (सिएसडी)का अध्यक्षसमेत रहेका श्रेष्ठले बताए । यस्तै, लघुवित्तबाट कर्जा लिएर उद्यमी बनेकामध्येबाट १० सफल उद्यमीहरूलाई सिएसडीले पुरस्कृत गर्ने पनि उनले जानकारी दिए । हरेक लघुवित्त कम्पनीले आफ्नो कार्यक्षेत्रको कम्तीमा एक गाउँमा इको भिलेज विकास गर्न पहल गर्नुपर्ने ११ बुँदे संकल्पपत्रमा उल्लेख छ । तीनैमध्येबाट १० उत्कृष्ट इको भिलेज छनोट गरी पुरस्कृत गरिने उनको भनाइ छ । यस्तै, आगामी दिनमा १० वटा उत्कृष्ट तीन शून्य क्लब छनोट गरेर पनि पुस्कृत गर्ने उनको भनाइ थियो ।

सम्मेलनकी सांस्कृतिक उपसमिति संयोजक शोभा शर्माले सम्मेलनमा चलेका विभिन्न सत्रका छलफलबाट निकै उपलब्धिपूर्ण निष्कर्ष निस्किएको बताइन् । ‘पहिला आफ्नो नाम भन्न पनि लजाउनेहरू अहिले आफ्नो दुःख र सफलताका कथा निर्धक्कसँग भन्न सक्ने भएका छन्,’ उनले भनिन्, ‘गाउँ–गाउँमा उद्यमी महिला जन्माउन लघुवित्तको योगदान महत्वपूर्ण छ ।’

जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाको पोखरास्थित बिरौटा केन्द्रकी प्रमुख देवीमाया अधिकारीले नपढेका महिलाहरूले पनि ‘ऋण लिन, उद्यम गर्न, पैसा कमाउन र परिवार पाल्न सक्छन्’ भन्ने सन्देश प्रवाह गर्न लघुवित्त संस्थाहरू सफल भएको बताइन् । सोही अवसरमा लघुवित्तबाट कर्जा लिएर सफल उद्यमी 
बनेका तीनजना महिलालाई पुरस्कृत गरियो । 

तनहुँको भानु गाउँपालिकामा गाईपालन गरिरहेकी बबिता गुरुङ, दाङको तुलसीपुरमा गाई पालिरहेकी सरिता रेउले र रंगेली–१, मोरङमा तरकारी खेती गरिरहेकी सरिताकुमारी शाह उत्कृष्ट उद्यमी बनेका छन् । उनीहरूलाई लघुवित्तका अभियन्ता श्रेष्ठले जनही २५ हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मान गरे । यस्तै, सम्मेलन आयोजकले सुर्खेतको जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत १० जना विपन्न वर्गका छात्रछात्रालाई ३० हजारका दरले छात्रवृत्तिसमेत प्रदान गरेको छ । विद्यालयका प्रधानाध्यापक नारायण सिग्देललाई एकमुष्ठ तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । सम्मेलनमा घोषणापत्र मस्यौदा समितिका सदस्य भोजराज बस्यालले ६० लाख घरधुरीमा लघवित्तले वित्तीय पहुँच  पुर्याएको सुनाए । 

सुझावित समाचार