सरिफ परिवारबाट पाकिस्तानले पायो अर्का प्रधानमन्त्री

मंगलबार, २९ चैत, २०७८
डिजिटल संस्करण

अविश्वासको प्रस्तावबाट हटाइने पहिलो प्रधानमन्त्री बने इमरान खान, पाकिस्तानको इतिहासमा ७५ वर्षयता कुनै पनि प्रधानमन्त्रीले पाँचवर्षे कार्यकाल पूरा गर्न पाएनन्

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शेहबाज सरिफ निर्वाचित भएका छन् । पाकिस्तानको संसद्ले पाकिस्तान मुस्लिम लिग (नवाज)का अध्यक्ष सरिफलाई सोमबार नयाँ प्रधानमन्त्री चुनेको छ । आइतबार मध्यरात विश्वासको मत हासिल गर्न नसकेपछि पूर्वप्रधानमन्त्री इमरान खान पदच्यूत भएका थिए ।

सरिफलाई पाकिस्तानको माथिल्लो सदन सिनेटका अध्यक्ष सदिक सन्जरानीले सपथ खुवाएका थिए । राष्ट्रपति डा.अरिफ अल्भीले ‘असहज’ भएको बताएपछि सिनेटका अध्यक्षले सपथ खुवाएका हुन् । पाकिस्तानको राष्ट्रपति कार्यालयको आधिकारिक ट्विटर ह्यान्डलले एक ट्विटमार्फत यसको जानकारी दिएको थियो । डा. अल्भी पीटीआई तथा इमरान खानका शुभेच्छुक भएको बताइन्छ । विगतमा संसद् विघटन गर्न खानले गरेको प्रस्ताव उनले सहजै अनुमोदन गरिदिएका थिए ।

सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्र भएयता पाकिस्तानका एकजना पनि प्रधानमन्त्रीले पूरा कार्यकाल शासन गर्न सकेका छैनन् । इमरान खानले विगतमा पाँच वर्षको कार्यकाल पूरा गर्ने दाबी गर्ने गरेका थिए । तर, उनी तीन वर्ष २३५ दिन पदमा रहेर पाकिस्तानको इतिहासमा अविश्वासको मतमार्फत हटाइने पहिलो प्रधानमन्त्री बनेका छन् । 

प्रधानमन्त्री चयनका लागि सोमबार भएको मतदानमा एक सय ७४ सांसदले शेहबाजको पक्षमा मत हालेका थिए । संसद्मा कुल तीन सय ४२ सिटको त्यो बहुमत हो । ७० वर्षीय सरिफले खानविरुद्ध गठित विपक्षी संयुक्त गठबन्धनको नेतृत्व गर्दै आएका थिए । 

शेहबाजका अतिरिक्त पिटिआईका नेता शाह मेहमुद कुरेशीले प्रधानमन्त्रीको उम्मेदवारी दिएका थिए । तर, उनले मतदान सुरु हुनुभन्दा केही अघि आफ्नो उम्मेदवारी फिर्ता लिए । कुरेशीले पिटिआईको निर्णय पछ्याउँदै सांसद पदबाट राजीनामा दिएका छन् । 

को हुन् शेहबाज सरिफ ?
शेहबाज सरिफ पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ हुन् । सन् २०१७ मा सर्वोच्च अदालतले नवाज सरिफलाई भ्रष्टाचार ठहर गर्दै प्रधानमन्त्री हुन अयोग्य ठहर गरेपछि उनी बर्खास्त भएका थिए । सरिफ अहिले उपचारका लागि लन्डनमा छन् । 

पाकिस्तानको एक धनाढ्य औद्योगिक घराना परिवारका सदस्य शेहबाज सन् १९८८ मा पन्जाबको प्रान्तीय चुनाव लडेर राजनीतिमा प्रवेश गरेका थिए । सन् १९९७ मा उनी सोही प्रान्तको मुख्यमन्त्री बने । तर, शेहबाज मुख्यमन्त्री बनेको दुई वर्षपछि पाकिस्तानी जनरल परबेज मुसरफले सैन्य कु गरे । त्यसपछि सम्पूर्ण सरिफ परिवार साउदी अरबमा निर्वासित भयो । 

सन् २००७ पछि मात्र सरिफ परिवार देश फर्कियो । राजनीतिमा पुनरागमनपछि शेहबाज सन् २००८ र २०१३ मा पुनः पन्जाबका मुख्यमन्त्री चुनिए । उनी मुख्यमन्त्री रहँदा पन्जाबमा ठुल्ठूला पूर्वाधार आयोजना सम्पन्न भएका थिए । जसले पाकिस्तानमा उनको छवि पूर्वाधारप्रेमी नेताका रूपमा बनेको छ । उनी समन्वयकारी नेता पनि मानिन्छन् । शेहबाज पाकिस्तानको शक्तिशाली सेना र नागरिक सरकारबीच समन्वयको पक्षपाती हुन् । तथापि उनका आलोचकहरू भने उनले मुख्यमन्त्री रहँदा प्रान्तको स्वास्थ्य तथा कृषि सुधारलाई बेवास्ता गरेको आरोप लगाउँछन् । 

शेहबाजले अहिले पनि भ्रष्टाचार आरोपको मुद्दा खेपिरहेका छन् । सन् २०१९ डिसेम्बारमा पाकिस्तानको भ्रष्टाचार निवारण आयोग नेसनल एकान्टिबिलिटी ब्युरोले शेहबाज र उनका छोरा हम्जाका दुई दर्जन घरजग्गा नियन्त्रणमा लिएर सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको थियो । सोही मुद्दामा सन् २०२० सेप्टेम्बरमा उनी पक्राउ पनि परे । अहिले पनि उनी सो मुद्दाका लागि जमानतमा जेलबाहिर छन् ।

तरिक–ए–इन्साफद्वारा संसद् परित्याग गर्ने घोषणा
पाकिस्तान तरिक–ए–इन्साफ पार्टी (पिटिआई) ले संसद् छाड्ने निर्णय लिएको छ । सोमबार नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन हुनु केही घन्टाअघि मात्र पाकिस्तानी संसद् भवनभित्र सम्पन्न पिटिआईको संसदीय दलको बैठकले संसद् छाड्ने निर्णय लिएको थियो । बैठकको अध्यक्षता पिटिआईका अध्यक्ष इमरान खानले गरेका थिए । पाकिस्तानी मिडिया डनसँगको कुराकानीमा पिटिआईका नेता फवाद चौधरीले शेहबाजको प्रधानमन्त्री चयन देशका लागि ठूलो अपमान भएको टिप्पणी गरे । भ्रष्टाचार मुद्दाको फैसला गर्न तोकिएको दिनमै शेहबाज प्रधानमन्त्री हुनु देशका लागि ‘ठूलो अन्याय’ भएको उनको भनाइ थियो ।

‘पाकिस्तानका लागि विदेशीद्वारा चुनिएको र विदेशबाट आयातीत सरकार लादिनु र शेहबाजजस्ता व्यक्तिले त्यसको नेतृत्व गर्नुजस्तो अपमान के हुन सक्छ,’ फवादले भने । शेहबाज र उनका छोरा हम्जाविरुद्ध परेको १४ अर्ब डलरको कालो धनसम्बन्धी मुद्दामा पाकिस्तानको विशेष अदालतले सोमबार निर्णय गर्ने समयतालिका तोकेको थियो । तर, सोमबार अदालतले निर्णय पछाडि सारेको छ । पिटिआईका अधिकांश शीर्ष नेतृत्वले शेहबाज कालो धनको मुद्दामा आरोपी भएकाले उनी प्रधानमन्त्री पदका लागि योग्य नभएको आरोप लगाइरहेका छन् ।

इमरानको समर्थनमा ठुल्ठूला र्‍याली

निवर्तमान प्रधानमन्त्री इमरान खानका समर्थकहरू सोमबार नै सडकमा उत्रिएका छन् । देशभरका प्रमुख सहरमा इमरानका समर्थकहरूले उनलाई फिर्ता ल्याउन माग गर्दै र्‍याली निकाले । पिटिआईको झन्डा बोकेर सडकमा उत्रिएका मानिसहरूले खानको पक्ष र अन्य दलका नेताको विरोधमा नाराबाजी गरेका थिए । विरोध र्‍यालीमा खानको मुख्य समर्थन आधार मानिने युवाहरूको उल्लेख्य उपस्थिति थियो ।

कराँचीमा निस्किएको र्‍यालीमा २० हजारभन्दा बढी मानिस उपस्थित थिए । राजधानी इस्लामावादमा समर्थकहरू साँझको समयमा हात बत्ती लिएर सडकमा उत्रिएका थिए । सोही भिडबीचबाट इमरान खान एक सजाइएको ट्रकमा चढेर अगाडि बढेका थिए । सम्बोधन गर्दै इमरानले ‘देशको इतिहासमा यति भिड कहिले पनि स्वस्फूर्त रूपमा सडकमा नउत्रिएको’ बताए ।

सुझावित समाचार