सशस्त्र प्रहरी ‘नेतृत्वविहीन’

मंगलबार, २९ चैत, २०७८
डिजिटल संस्करण

आइजिपी शैलेन्द्र खनालले सोमबारदेखि अनिवार्य अवकाश पाए पनि सरकारले उनको उत्तराधिकारी तोक्न सकेन

सुरक्षा निकायमाथिको राजनीतिले चुनावको मुखमा सशस्त्र प्रहरी बल ‘नेतृत्वविहीन’ बनेको छ । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सोमबारदेखि अनिवार्य अवकाश पाएपछि सरकारले उनको उत्तराधिकारी तोक्न सकेन । सरकारले अन्तिम दिनसम्म पनि महानिरीक्षक नियुक्त गर्न नसक्दा खनाल वरिष्ठ एआइजी पुष्पराज केसीलाई निमित्त महानिरीक्षकका रूपमा इन्चार्ज बुझाएर बिदा भएका छन् । 

सुरक्षा निकायका प्रमुख सामान्यतया एक महिनाअघि नै बिदामा बस्ने प्रचलन भए पनि सरकारले समयमै नयाँ नेतृत्व छान्न नसक्दा यस्तो अवस्था आएको हो । सामान्यतया सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भए पनि यसपटक कसलाई सशस्त्रको महानिरीक्षक बनाउने भन्ने अन्योलताले निर्णय हुन नसकेको स्रोत बताउँछ । सशस्त्र प्रहरीमा पहिलोपटक नेतृत्व हस्तान्तरणमा यस्तो समस्या देखिएको हो । एआइजी केसीले वरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी सम्हाले पनि सरकारले यसबारे कुनै निर्णय नगर्दा संगठन नेतृत्वविहीनजस्तो अवस्थामा पुगेको सशस्त्र प्रहरी अधिकारीहरू बताउँछन् । 

चारवर्षे अवधिका कारण अवकाश पाएका खनालकै ब्याचका केसी र रामशरण पौडेलबीच तीन साताका लागि आइजिपी बन्न तँछाडमछाड हुँदा सरकारले निर्णय गर्न नसकेको हो । केसी र पौडेलमध्ये जो भए पनि उनीहरूले १९ वैशाखमा अवकाश पाउनेछन् । त्यसपछि सशस्त्रमा नयाँ आइजिपी चयनमा पनि सरकारले समयमै निर्णय नगरेर अस्वस्थ चलखेलको वातावरण बनाइदिएको छ । 
 

सुझावित समाचार