एमाले अध्यक्ष केपी ओलीले देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्न लागेको बताएका छन् । आइतबार नेपाल राष्ट्रिय शिक्षक संगठनको १३औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले देशको अर्थतन्त्र श्रीलंकाको जस्तै बन्न लागेको बताएका हुन् ।
उनले केही समयपछि कर्मचारीले तलब र जेष्ठ नागरिकहरूले भत्ता नपाएमा अनौठो मान्नुनपर्ने टिप्पणी गरे । देशको अवस्था यस्तो हुँदा पनि गठबन्धन सरकार एमालेलाई सरकारबाट हटाइयो भनेर आनन्द मानेर बसिरहेको उनको आरोप छ ।
ओलीले चुनावपछि एमाले ढुंगाको काप फोरेर उम्रिने बताए । उनले भने, ‘अहिले अर्थतन्त्र हेर्नुस् त देशको । श्रीलंका बन्न जाँदै छ नेपाल । केही समयपछि तपाईंहरूले तनाखा पाउनुभएन भने अनौठो नमान्नुहोला । तनाखा दिन सक्ने अवस्था छैन । जेष्ठ नागरिकहरूले भत्ता पाएनन् भने अनौठो नमान्नुहोला । दिन सक्ने अवस्था छैन । योजनाहरू, आयोजनाहरू काटिएका छन् । त्यो गठबन्धनमा लागेका त खुसी नै होलान् । देश यस्तो अवस्थामा पुग्दा पनि गठेहरू छन् नि आनन्दमा छन् । प्रसन्न छन्। खुसी छन् । किनभने एमालेलाई रोकियो । एमालेलाई सरकारबाट हटाइयो । कति दिन हटाउने एमालेलाई सरकारबाट ? ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल । एमाले त चुनावको वर्षायाम पर्खिरहेको छ । चुनावको वसन्तयाम पर्खिराखेको छ । चुनाव आयो कि एमाले त ढुंगाको काप फोरेर पनि उम्रिन्छ । गठबन्धन केही पनि होइन ।’
उनले विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिन शिक्षकहरूलाई आग्रह पनि गरे ।