सांसदले चलाएको रसुवा जेभीले पेटी ठेकेदारलाई ठगेपछि....

शनिबार, २६ चैत, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा रसुवाका सांसद मोहन आचार्यले चलाएको रसुवा कन्स्ट्रक्सन कम्पनीले ठगी गरेको एक पेटी ठेकेदारले आरोप लगाएका छन् । दाङ बबई गाउँपालिका वडा नं. ५ निवासी पेटी ठेकेदार कृष्णबहादुर खत्रीलाई सल्यान लेखपोखराको प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण सकिए पनि भुक्तानी नदिएको पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । 

भवन डिभिजन कार्यालय दाङमार्फत रसुवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको उक्त कम्पनीले पनि खत्रीलाई पेटी ठेकेदारका रूपमा दिएको थियो । २०७० वैशाख २७  गते  रसुवा जेभीले खत्रीलाई अख्तियारी दिएका थिए । उनले काम गरिरहेको अवस्थामै २०७१ साल जेठ ७ गते खत्रीबाट रसुवा कन्स्ट्रक्सनले काम खोसेर आफैँले भवन निर्माण कार्य सम्पन्न गरेको थियो । त्यतिवेलासम्म खत्रीको एक करोड ९३ लाख ५९ हजार ६ सय ८३ खर्च भइसकेको थियो ।  त्यसपछि  बाँकी काम रसुवाले २०७३ तिर पूरा गर्‍यो । निर्माण पूरा भएपछि खत्रीले खर्च गरेको रकम दिने भन्ने सहमति भए पनि त्यो रकम रसुवाले दिएन । ‘तीन करोड ७१ लाखमा उक्त भवनको ठेक्का थियो, त्यही रकममा निर्माण गर्ने  भनी मैले जिम्मा लिएको हुँ’, उनले भने‘ त्यसमध्ये अब पाउनु पर्ने एक करोड ९३ लाख ५९  हजार ६ सय ८३ छ ।’ 

यो रकम माग्न लागेको चार वर्ष  बितिसक्दा पनि आफूले नपाएको र पैसा  माग्दा उल्टै ज्यान मार्ने धम्की आएकोसमेत बताए । उनले अहिलेसम्म रसुवा कन्स्ट्रक्सनले  चेकबाट ४३ लाख ६० हजार ९ सय ७६ मात्रै र बलिभद्र  राणाले २६  लाख २६ हजार रकम मात्रै  पाए । बाँकी एक करोड २३ लाख ७२ हजार सात सय १६ रुपैयाँ नपाएको गुनासो गरे । 

त्यो रकम माग्ने क्रममा एकपटक २०७३ असारमा पोखरा बोलाए । जहाँ रसुवा कन्स्ट्रक्सनकै सहायक बाबुकाजी श्रेष्ठको घर थियो । त्यहाँ पाउनुपर्ने रकमका बारेमा कुरा गर्दा आफूलाई अपशब्द गरी गाली गर्नुका साथै कुटपिट गरे । त्यति मात्रै होइन्, चारजना केटाहरु बोलाएर जबर्जस्ती पाउनुपर्ने बाँकी रकमलाई कागज गरेकोसमेत बताए ।‘पैसाको हिसाब मिलाउन भनी पोखरा बोलाएका थिए, म त्यहाँ गएँ, त्यहाँ गएर पैसाको कुरा उठाउँदा केटाहरू बोलाएर हल कोठामा लिए’ उनले भने ‘दुईजना केटाले मेरा पाखुरा समाए, एकजना खुट्टामा बसे, एकजनाले घाँटी च्यापेर मरणासन्न गराएर सहीछाप गराए ।’ जबर्जस्ती यसरी कागज गराएपछि आफूले जिल्ला प्रशासन कार्यालय दाङ, भवन डिभिजन कार्यालय दाङमा बिल रोक्का गरिपाऊँ भनी दिएको निवेदन पनि कुनै सुनवाइ नभएको उनले बताए । कांग्रेस दाङका तत्कालीन सभापति कीर्तिहादुर खड्का, पूर्वसांसद गेहेन्द्र गिरीलाई जानकारी  गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे । त्यतिवेला बैंकको ब्याज तिर्न भनी एक लाख ५०  हजार दिएका थिए । 

घरवास नै छैन
खत्रीले आफूले भवन निर्माणमा गरेको कामको लेबर, मिस्त्री खर्चबापतको ४५ लाख ८६ हजार २५०, ट्याक्टर ढुवानीबापतको ३८ लाख ९७ हजार, काठ चिरानबापतको चार लाख ४५ हजार, गिट्टी फोड्ने लेबरलाई दिनुपर्ने खर्च नाै लाख ५२ हजार, खोलामा बालुवा चालेर निकाल्नेहरूका लागि दिन बाँकी १० लाख ३२ हजार, अम्बे स्टिल भैरहवाबाट छड खरिद गरेबातको २६ लाख ७९ हजार सात सय २१, सपना इन्टरप्राइजेज घोराहीबाट छड, सिमेन्ट खरिद गरेको १४ लाख ७० हजार ४९२ र अन्य आवश्यक सामग्री खरिद गर्दा भएको खर्च १५ लाख १९ हजारमध्येको रकम नपाएको बताएका छन् ।

उनले आफ्नो घरवास बैंक बेचेर मजदुरहरूलाई  पारिश्रमिक दिइसकेको बताएका छन् । उनले आफूले जिम्मा पाएपछि ६८ जना भवन निर्माण गर्ने लेबर, ३२ जना गिट्टी–बालुवा संकलन गर्ने मानिस, २४ जना  काठ मिस्त्री, २१ जना ढुंगा निकालेर  रोडमा  ल्याउने लेबर, ढुवानी गर्ने  ६  वटा टेक्टर गरि १ करोड ९३ लाख ५९ हजार ६ सय  ८३ रुपैयाँ तिरेका छन्। तर,त्यो रकम आफूले माग  गर्दा नपाएपछि अहिले घरवासविहीन भएकोसमेत बताए  । ‘मसँग अहिले एउटा पनि सम्पत्ति  छैन, त्यो काम गर्दा  मसँग भएको सबै सम्पत्ति बेचेर ऋण तिरेँ’,उनले भने‘अब मेरा सन्तानको भविष्य के होला?’  

पुल निर्माणका सामग्री जफत गर्ने  चेतावनी 
रसुवा कन्स्ट्रक्सनले अहिले सल्यानको दम्दवालीस्थित शारदा नदीमा पुल निर्माण  गरिरहेकाे छ । यदि आफूले पाउनुपर्ने रकम नदिएमा त्यहाँबाट सामग्री जफत गर्नेसमेत चेतावनी दिएका छन् । त्यसका लागि उनले १२ वटा  जिल्ला  प्रशासन कार्यालयसहिति जिल्ला प्रहरी कार्यालय दाङ, इलाका प्रहरी कार्यालय खिलतपुर, सल्यान कालीमाटीलगायतका चौकीलाई समेत जानकारी गराएको बताएका छन् । यसअघि पनि उनीहरूलाई झिकाएर छलफल गरिपाऊँ भनी निवेदन दिएको भए पनि कुनै  सुनुवाइ नभएको उनको गुनासो छ । 

सुझावित समाचार