प्रिन्स र रशिला च्याम्पियन

शुक्रबार, २५ चैत, २०७८
डिजिटल संस्करण

प्रिन्स दाहाल र रशिला महर्जन चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको एकलतर्फ बिहीबार च्याम्पियन बनेका छन् । पुरुष एकल फाइनलमा प्रिन्सले दीपेश धामीलाई २१–१५ र २१–१३ को सोझो सेटमा हराउँदै उपाधि हात पारेका हुन् । जेस्ट ब्याडमिन्टन एकेडेमीको हलमा भएको महिला फाइनलमा रशिलाले नीता लम्साललाई सीधा सेटमा २१–१३ र २१–१३ ले हराइन् ।

यु–१७ पुरुष एकल फाइनलमा क्षितिज खनालले विवेक चौधरीलाई २०–२२, २१–१० र २१–८ ले पाखा लगाउँदै पहिलो भए । सो स्पर्धाको महिलामा रोज पाण्डे पहिलो बनिन् । रोजले फाइनलमा सानिया चन्दलाई २१–७ र २१–९ ले पन्छाइन् । पुरुष डबल्स एक्सिक्युटिभ फाइनलमा विधान अधिकारी र विशाल खड्काको जोडीले प्रविन लिङतेब र सुरोज महर्जनको जोडीलाई ३१–२९ र २१–१६ ले पन्छ्यो ।

मास्टर्स ४५ वर्षमाथि पुरुष डबल्समा विशाल हिराचन र शम्भु श्रेष्ठको जोडी पहिलो भयो । श्रेष्ठको जोडीले फाइनलमा पूर्णहरि होना र सञ्जय कपालीको जोडीलाई १७–२१, २२–२० र २१–११ को सेटमा हरायो । बुद्धि चौधरी र कमल थापाको जोडीले पूर्णचन्द्र जोशी र उमेश केसीको जोडीलाई फाइनलमा २१–१५ र २१–१५ को सोझो सेटमा पाखा लगाउँदै मास्टर्स ५५ वर्षमाथि च्याम्पियन बनेको छ । 
 

See More On

सुझावित समाचार