यी हुन् जसपा बाँकेका चार पालिकाका उम्मेदवार

बिहिबार, २४ चैत, २०७८
डिजिटल संस्करण

स्थानीय तह निर्वाचनमा सत्तागठबन्धन दलले बाँकेको आठवटै पालिकामा साझा उम्मेदवार बनाउने सहमति गरे पनि जनता समाजवादी पार्टीले चारवटा पालिकाका उम्मेदवारको नाम टुंगो लगाएको छ । नेपाली कांग्रेसले ०७४ को स्थानीय तह निर्वाचनमा आफूले जितेको पालिका नछाड्ने र बाँकी पालिकामा पनि प्राप्त मतको आधारमा पद बाँडफाँड गर्नुपर्ने अडान राखेपछि बिच्किएको जसपाले चार पालिकाको प्रमुख र उपप्रमुखको नाम टुंगो लगाएको अध्यक्ष कमरुद्दिन राईले बताए । ‘कांग्रेसले आफ्ना कुरा लादेर अन्य दललाई पेल्न थालेपछि हामीहरू अर्को बैठकमा सहभागी नहुने टिप्पणी लेखेर निस्कियौँ,’ उनले भने, ‘त्यसपछि गठबन्धनको बैठकले के निर्णय गर्याे हामीलाई जानकारी भएन ।’ 

कुन पालिकामा को ?
जसपाले नरैनापुर, जानकी, डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाका उम्मेदवारको टुंगो लगाएको छ । स्रोतका अनुसार, नरैनापुरमा इस्तियाक अहमद शाह, डुडुवामा भण्डारीलाल यादव, जानकीमा राजीव बर्मा र नेपालगन्ज उपमहानगरको मेयरमा जसपा बाँकेका अध्यक्ष कमरुद्दिन राईको नाम केन्द्रमा पठाएको छ ।

शाहले गत निर्वाचनमा संघीय समाजवादी फोरमको तर्फबाट प्रमुखमा जितेका थिए । त्यसैगरी, डुडुवाका यादव वडा नं. ४ का निर्वाचित अध्यक्ष हुन् भने नेपालगन्जका मेयरका उम्मेदवार राई गत निर्वाचनमा पनि मेयरका उम्मेदवार थिए । उक्त निर्वाचनमा उनी चौथो भएका थिए । ‘जसपा बाँकेले चारवटा पालिकाका प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ । केन्द्र र प्रदेश समितिमा जानकारीका लागि पठाएका नाम नै अन्तिम हुन्,’ उनले भने । 

जसपाले वडाध्यक्ष र सदस्यको नामसमेत टुंगो लगाइसकेकाले चारवटा पालिकामा गठबन्धनको सम्भावना नभएको एक नेताले बताए । उनले बाँकेका चारवटा पालिकाबाहेक अन्य चार पालिकामा गठबन्धन दललाई सघाउन सकिने बताए । ‘जसपाले जित्ने निश्चित भएको पालिकामा गठबन्धन आवश्यक छैन । जसपा एक्लैले जित्ने ठाउँमा अरू दललाई छोड्ने कुरै आउँदैन,’ ती नेताले भने । 
 

See More On

सुझावित समाचार