ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको कृषि प्रणालीमा जलवायु परिवर्तनको प्रभाव परेको बताएकी छिन् । ‘हिमाली मुलुक नेपालमा कृषि, वन, पशुपालन, स्वास्थ्य, जैविक विविधता, जीविकोपार्जनलगायत विभिन्न क्षेत्रमा विश्वव्यापी जलवायु परिवर्तनको प्रभाव पर्दै आएको छ,’ बुधबार राजधानीमा आयोजित ‘अन्तरसम्बन्धका लाभः गंगा बेसिनका लागि’ विषयक गोष्ठीमा भुसालले भनिन्, ‘खानेपानी, सिँचाइ र विद्युत् उत्पादनका लागि पनि सुख्खा याममा पानीको अभाव हुँदै आएको छ ।’
८० प्रतिशतभन्दा बढी पानी वर्षातको समयमा मात्र उपलब्ध हुने तर, सुक्खा याममा पानीको अभाव हुँदा खानेपानी, सिँचाइ र विद्युत् उत्पादनमा असर गरेको उनको भनाइ छ । ‘हामी बाढीपहिरोजस्ता मानवीय विपत्तिसँग पनि जुध्न बाध्य छौँ । हाम्रो ठूलो आर्थिक स्रोत क्षति हुँदै आएको छ । त्यसैगरी अन्य समयमा नेपालका धेरै ठाउँमा खडेरीको समस्या पनि हुने गरेको छ,’ उनले भनिन् ।
जलवायु परिवर्तनको असरले हिमनदी पग्लिरहेका छन् । र, अतिवृष्टि, अनावृष्टिजस्ता प्राकृतिक प्रकोपले समग्र क्षेत्रलाई असर पारेको छ । ‘हालैका वर्षहरूमा हामीले अझ धेरै बाढीपहिरोे र विपत्तिहरू झैल्दै आएका छौँ,’ भुसालले भनिन्, ‘यी अवस्थाहरूले स्थानीय समुदाय, विशेषगरी महिला, विपन्न, आदिवासी जनजाति तथा पछाडि पारिएका किसानको जीविकोपार्जनमा थप चुनौती देखापरेको छ । जलस्राेतको विकास, व्यवस्थापन, तथा उपयोगबाट खाद्य, ऊर्जा सुरक्षा, जैविक विविधता संरक्षण, आर्थिक तथा सामाजिक विकासमा पर्ने प्रभावबारे एकीकृत अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता छ ।’
प्राकृतिक जोखिम कम गर्न तथा जलवायु परिवर्तनप्रति लचकता बढाउन वातावरणीय दृष्टिकोणले पनि पानी, ऊर्जा र खाद्यान्नको बढ्दो मागलाई सम्बोधन गर्ने गरी दिगो र एकीकृत दृष्टिकोण आवश्यक रहेको मन्त्री भुसालको भनाइ छ ।
त्यस्तै नेपालको कृषि उत्पादनका लागि सिँचाइ एक महत्वपूर्ण आधार हो । तर साना किसानमा सिँचाइको सेवा पुग्न सकेको छैन। करिब एकतिहाई क्षेत्रमा मात्र वर्षभरि सिँचाइ सुविधा पुगेको छ । उनले जलवायु अनुकूलित सिँचाइ प्रविधिको विकासले विद्यमान कृषि व्यापार घाटा न्यूनीकरण गर्न सहयोग पुग्ने बताइन् ।
सन् २०१९/२०२० मा नेपालको कृषि व्यापार घाटा लगभग २ खर्ब ५० अर्ब रहेकामा ३० प्रतिशतले बढेर सन् २०२१/२२ मा ३ खर्ब २५ अर्ब पुगेको उनले तथ्यांक प्रस्तुत गरिन् ।