उम्मेदवार छनाेटका लागि रसुवामा गठबन्धनद्वारा स्थानीय संयन्त्र गठन

मंगलबार, २२ चैत, २०७८
डिजिटल संस्करण

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनाेटका लागि रसुवामा गठबन्धनमा रहेका दलहरूले स्थानीय संयन्त्र गठन गरेका छन्। सोमबार नेपाली कांग्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङको अध्यक्षतामा जिल्लास्तरीय गठबन्धन दलहरूको बैठक बसी स्थानीय तह निर्वाचनमा उम्मेदवार छनाेटका लागि संयन्त्र गठन गरेका हुन्।

केन्द्रीय गठबन्धनमा सहभागी रसुवाका चार दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी (जसपा)को बैठक बसी जिल्लाका पाँचवटै गाउँपालिकामा संयन्त्र बनाएका हुन्।

गोसाइँकुण्ड गाउँपालिकामा कांग्रेसबाट राजु तितुङ, माओवादी केन्द्रबाट तेन्जेन छेसाङ, एकीकृत समाजवादीबाट दावा लोप्साङ र जसपाबाट बुनिमा तामाङ रहेको संयन्त्र बनाइएको छ। त्यसैगरी, कालिका गाउँपालिकामा कांग्रेसका कुमार देवकोटा, माओवादी केन्द्रका अर्जुन देवकोटा, एकीकृत समाजवादीका रामप्रसाद न्यौपाने र जसपाबाट टंकप्रसाद लामिछाने, नौकुण्ड गाउँपालिकामा कांग्रेसका श्यामकुमार गुरुङ, माओवादी केन्द्रका जयराम घले, एकीकृत समाजवादीका कमलबहादुर घले, जसपाका भुमे लामा रहेको संयन्त्र बनाइएको छ।

उत्तरगया गाउँपालिकामा कांग्रेसबाट उपेन्द्र लम्साल, माओवादी केन्द्रबाट यमनाथ आचार्य, एकीकृत समाजवादीबाट बिनोद लामिछाने, जसपाबाट ज्ञानेन्द्र आचार्य, आमाछोदिङमाे गाउँपालिकामा कांग्रेसबाट बुचुङ तामाङ, माओवादी केन्द्रबाट लाक्पा तामाङ, एकीकृत समाजवादीबाट सुजय लामा, जसपाबाट अशोक लामा रहेको संयन्त्र बनाइएको छ।

गठबन्धनको बैठकले सबै गाउँपालिकाको अवस्था विश्लेषण गरी गठबन्धनको उम्मेदवार सिफारिस गर्न अनुरोध तथा निर्देशन गरिने निर्णय गरेको छ। त्यसैगरी, गाउँपालिकास्तरीय संयन्त्रको तत्काल बैठक बसी आवश्यक निर्णय लिन अनुरोध तथा निर्देशन गरिएको बताइएको छ।

बैठकमा नेपाली कांग्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङसहित माओवादी केन्द्रका जिल्ला संयोजक मेघनाथ घिमिरे (प्रभाकर), एकीकृत समाजवादी रसुवाका अध्यक्ष विष्णुप्रसाद देवकोटा, जसपा रसुवाका अध्यक्ष भुमे लामा सहभागी थिए।

सुझावित समाचार