सत्तापक्षीय राजनीतिक गठबन्धनको बैठक सकिएको छ ।मंगलबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले मुख्य गरी चुनावकेन्द्रित विषयमा छलफल चलाएको थियो । बैठकले गठबन्धनको तर्फबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।
त्यस्तै, देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग एक बृहत् अन्तर्क्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
भर्खर भारतको औपचारिक भ्रमण सकेर फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको भारत भ्रमण सफल रहेको ब्रिफिङ गरेका थिए ।