चुनावी ध्रुवीकरण : तालमेलका लागि दुवै राप्रपासँग एमालेको समानान्तर संवाद

मंगलबार, २२ चैत, २०७८
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओली चुनावी तालमेल गर्न दुवै राप्रपासँग निरन्तर संवादमा छन्, आइतबार राति मात्रै उनले कमल थापासँग छलफल गरेका छन्

प्रमुख प्रतिपक्ष दल एमालेले चुनावी तालमेलका लागि दुवै राप्रपासँग संवाद अगाडि बढाएको छ । कतिपय वार्तामा अध्यक्ष केपी ओली आफैँ सहभागी छन् भने कतिपय वार्तामा उनले निकट नेतालाई खटाएका छन् । 

चुनावी गठबन्धनलाई लिएर कमल थापा नेतृत्वको राप्रपा नेपाल र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एमाले नेताहरूले वार्ता जारी राखेका छन् । चुनावी गठबन्धनकै विषयमा छलफल गर्न आइतबार बेलुकी एमाले अध्यक्ष ओली र राप्रपा नेपालका अध्यक्ष थापाबीच छलफल भएको छ । 

राप्रपा नेपालका महामन्त्री सुशील श्रेष्ठले गठबन्धनका लागि एमालेसँग निरन्तर संवाद भइरहेको बताए । ‘स्थानीय चुनावमा गठबन्धन गरेरै अघि बढ्नुपर्ने अवस्था छ । हाम्रो पार्टीले पनि विभिन्न दलसँग गठबन्धन गरेर जाने निर्णय गरेको छ । त्यसका लागि सबै दलसँग छलफल गर्ने बाटो खुला राखेका छौँ,’ उनले भने, ‘एमाले राष्ट्रवादी शक्ति भएको नाताले उससँग हाम्रो संवाद बढी छ । अध्यक्षहरूको स्तरमा औपचारिक÷अनौपचारिक छलफल चलिरहेकै छ । तर, सबै टुंगो लागेको छैन ।’

स्थानीय निर्वाचनमा एक्लै लड्ने केन्द्रीय नीति भए पनि एमाले केन्द्रीय कमिटी बैठकले जिल्लामा भने तालमेल गर्न सकिने स्पष्ट गरिसकेको छ । राप्रपाबाहेकका दलहरूसँग पनि वार्ता हुन सक्ने एमाले उपमहामन्त्री एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए । ‘केन्द्रीय कमिटीको निर्णयबमोजिम केन्द्रमा बाहेक स्थानीय तहमा गठबन्धनका लागि सबै पक्षसँग छलफल हुन्छ । स्थानीय तहका लागि सम्बन्धित कमिटीले निर्णय गर्छ,’ गुरुङले भने, ‘परिस्थितिअनुसार गठबन्धन हुन सक्छ । गठबन्धनका लागि राप्रपासँग मात्र होइन, एकीकृत समाजवादीबाहेक सबै पक्षसँग छलफल हुन सक्छ ।’ 

लिङ्देन नेतृत्वको राप्रपाका महामन्त्री धवलशमशेर राणाले एमालेसँगको वार्तामा ‘आइसब्रेक’ भएको र चाँडै निष्कर्षमा पुग्ने बताए । ‘चुनावी गठबन्धनको विषयमा एमालेसँग प्रारम्भिक छलफल भएको छ । वार्तामा आइसब्रेक भएको छ, हाम्रो पार्टी र उहाँहरूको पार्टीमा पनि थप छलफल हुँदै छ, छिट्टै निष्कर्षमा पुग्छौँ ।’

सुझावित समाचार