कोभिडपछि पहिलोपटक एकै महिनामा ४२ हजार पर्यटक

सोमबार, २१ चैत, २०७८
डिजिटल संस्करण

कोभिड महामारीको जोखिम कम हुँदै गएपछि मार्चमा ४२ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो कोभिडयताकै सबैभन्दा धेरै पर्यटक आगमन हो । पछिल्ला महिनामा भारतीयसँगै तेस्रो मुलुकका पर्यटकको आगमन बढ्दै गइरहेको छ ।

सन् २०२१ को मार्चमा १४ हजार नौ सय ७७ पर्यटक भित्रिएको पर्यटन बोर्डको तथ्यांक छ । गत वर्षको मार्चको तुलनामा यो वर्ष पर्यटक आगमन १८०.४७ प्रतिशतले वृद्धि भएको हो । यस्तै, सन् २०२० को मार्चमा ४२ हजार सात सय ७६ पर्यटक आएका थिए । कोभिडअघि सन् २०१९ को मार्चमा एक लाख २७ हजार तीन सय ५१ पर्यटक नेपाल भ्रमणमा आएका थिए । 

पछिल्लो समय विदेशी पर्यटक आगमन बढ्दै गइरहेको पर्यटन बोर्डका रिसर्च, प्लानिङ तथा मनिटरिङ विभागका प्रमुख मणि लामिछानेले बताए । उनले भने, ‘कोभिड महामारीअघि सामान्य अवस्थाको तुलनामा मार्च २०२२ मा पर्यटक आगमन ३३ प्रतिशतले रिभाइभ भएको छ ।’

पाँचतारे होटेल भरिभराउ

अहिले ठमेललगायत पर्यटकीय गन्तव्यमा विदेशी पर्यटकको संख्या धेरै देखिन थालेको छ । पर्यटक आगमन बढ्न थालेपछि काठमाडौं उपत्यकाका पाँचतारे होटेलहरू खचाखच छन् । कोभिडले थलिएका होटेलहरू पर्यटकले भरिँदा होटेल व्यवसायी पनि उत्साहित देखिन थालेका छन् ।

अहिले नक्सालको पाँचतारे होटेल म्यारियट करिब फुल अकुपेन्सीमा चलिरहेको सञ्चालक शशिकान्त अग्रवालले बताए । कोभिडपछि पहिलोपटक होटेल भरिएको उनको भनाइ छ । पाँचतारे म्यारियट र अलफ्ट होटेलले कोभिडकै समयमा पनि पाहुनालाई सेवा दिइरहेका थिए । 

ठमेलमा रहेको पाँचतारे होटेल अलफ्टमा पनि अहिले ७० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको सञ्चालक महेश्वर श्रेष्ठले बताए । ‘पछिल्ला दिनमा भारतीय पर्यटक बढेपछि होटेल भरिन थालेको हो,’ उनले भने, ‘भर्खर पर्यटकीय सिजन पनि सुरु भएको छ, यो वर्ष उत्साहजनक नै रहने अपेक्षा छ ।’  

कुन देशबाट कति पर्यटक ?

नेपालमा सबैभन्दा बढी पर्यटक भारतबाटै आइरहेका छन् । पाँचतारे होटेलमा पनि भारतीय पर्यटककै बाहुल्यता रहेको सञ्चालकहरूले बताए । मार्च महिनामा भारतबाट १५ हजार १३ जना पर्यटक आएका छन्, जुन कुल पर्यटक संख्याको ३५.७४ प्रतिशत हुन आउँछ ।

मार्चमा अमेरिकाबाट चार हजार आठ सय ९८ पर्यटक आएका छन् भने युकेबाट चार हजार २९, बंगलादेशबाट दुई हजार एक सय ५२ र चीनबाट चार सय ३१ पर्यटक नेपाल भ्रमणमा आएका छन् । कोभिडअघि नेपालमा सबैभन्दा बढी पर्यटक आउनेमा भारतीयपछि चिनियाँ हुन्थे । तर, कोभिडलाई कारण देखाउँदै चीनले अझै आफ्ना नागरिकलाई घुमफिरमा निस्कन कडाइ गरिरहेको हुँदा चिनियाँ पर्यटकको संख्या न्यून देखिन्छ ।

तीन महिनामा ७९ हजार पर्यटक आए

फेब्रुअरीमा विभिन्न मुलुकबाट १९ हजार सात सय ६६ पर्यटक नेपाल आएका थिए । यस्तै, जनवरीमा १६ हजार नौ सय ७५ पर्यटक नेपाल भ्रमणमा आएको बोर्डको तथ्यांक छ । तीन महिनाको अवधिमा ७८ हजार सात सय ४७ पर्यटन नेपाल भित्रिएका छन् । कोभिडअघि पर्यटकीय सिजनमा एकै महिनामा डेढ लाखसम्म पर्यटक भित्रिने गर्थे । ‘कोभिडले उकुसमुकुस भएर बसेका विश्वभरका नागरिक घुमफिरमा निस्कन थालेका छन्,’ मणि लामिछानेले भने, ‘ती पर्यटकलाई नेपालमा तान्न बोर्डले निजी क्षेत्रसँग मिलेर काम गरिरहेको छ ।’

सुझावित समाचार