आठ महिनामा कृषि विकास निर्देशनालयको खर्च २० प्रतिशत मात्र

आइतबार, २० चैत, २०७८
डिजिटल संस्करण

बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयले चालू आर्थिक वर्षको फागुनसम्म कुल २० प्रतिशत मात्र बजेट खर्च गरेको छ। निर्देशनालयले उपलब्ध गराएको विगत आठ महिनाको प्रगति विवरणअनुसार निर्देशनालयका लागि चालू आर्थिक वर्षमा ५० करोड ५८ लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन भएकामा हालसम्म  १५ करोड ९२ लाख ३५ हजार रुपैयाँ मात्र खर्च गरेको छ।

निर्देशनालयका लागि मन्त्रालयले दोस्रो चौमासिकका लागि १५ करोड रुपैयाँ बजेट उपलब्ध गराए पनि उक्त अवधिमा सात करोड रुपैयाँ मात्र खर्च भएको निर्देशनालयका प्रमुख रवीन्द्रबहादुर प्रधानले जानकारी दिए।

अर्कोतर्फ सो मन्त्रालयअन्तर्गतको पशुपन्छी तथा मत्स्य  विकास निर्देशनालयले चालू आर्थिक वर्षको आठ महिनामा ५१ प्रतिशत रकम खर्च गरेको छ। निर्देशनालयका प्रमुख मुगलप्रसाद साहका अनुसार मन्त्रालयले तीन करोड ९८ लाख रुपैयाँ बजेट विनियोजन गरिएकामा दुई करोड तीन लाख रुपैयाँ खर्च भएको बताइएको छ।

पशुपालनमा लाग्ने रोग र त्यसको विकास तथा विभिन्न औजारलगायत अनुदानमा खर्च भएको उनको भनाइ छ। प्रयोगशालाका लागि उपकरण खरिदमा ढिलाइ र कर्मचारी कम भएको समस्याले काम गर्न समस्या भएको साहले बताए। उक्त विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. शरणबहादुर पाण्डेले निर्देशनालयहरूको वित्तीय प्रगति कमजोर रहेकाले यसको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए।

प्रदेशका कृषि र भेटेरिनरी कार्यालय तथा मन्त्रालयबीच समन्वय गरी काम गर्न सके मात्र उनले प्रगति हुने बताए। बागमती प्रदेशका विभिन्न स्थानमा देखिएको बर्ड फ्लु रोगको नियन्त्रणमा जोड दिइएकोसमेत सचिव डा. पाण्डेले जानकारी दिए। रासस

सुझावित समाचार