पेट्रोलियम आपूर्ति सहज बनाउन सरकारको निर्देशन

शनिबार, १९ चैत, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाणले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या तत्काल समाधान गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । आपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डे, नेपाल आयल निगमका कार्यबाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका महासचिव विश्व अर्याललाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन् । 

उनले  अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदानचाहँदै कठोर हुनुपर्ने अवस्था आउन सक्नेतर्फसमेत सचेत गराएका छन् । व्यवसायीहरूले पेट्रोलियम पदार्थ बेचे–नबेचेको अनुगमन गर्न कार्यवाहक प्रधानमन्त्रीले आफूहरूलाई निर्देशन दिएको र आफूहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौंको सहयोगमा अनुगमन गरेको निगमका कार्यवाहक महानिर्देशक गोइतले जानकारी दिए । 

उनका अनुसार कार्यबहाक प्रधानमन्त्री खाँणको निर्देशनअनुरूप उपत्यकाका २० बढी पम्पहरूमा अनुगमन गरिएको र केहीले बेचेको तथा केहीले नबेचेको फेला परेको पनि उनले जानकारी दिए । आइतबार थानकोटको डिपो खुला हुने भएकाले तेल ल्याएर बिक्री गर्ने कागज बनाएर छाडेको पनि उनले जानकारी गराए ।  आज साँझ ५ बजे आन्दोलनरत पक्षसँग वार्ता गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए । 

डिलर्स एशोसिएशनका महासचिव अर्यालले पेट्रोलियम पदार्थमा देखिएको समस्या निगमसँग वार्ता गरेर टुङ्ग्याउन निर्देशन दिएको जानकारी दिए । व्यवसायी र डिजेल ढुवानीकर्ताहरूले डिजेलको भाउ बढेपछि डिजेल पेट्रोल बोक्ने ट्याङ्करको भाडा बढाइनुपर्नेलगायत माग राखेर पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्ने चेतावनी दिँदै आएका छन् । 

सुझावित समाचार