नेपाली बिजनेस काउन्सिल युएई र नेपाली प्रतिनिधिबीच भेट

शुक्रबार, १८ चैत, २०७८
डिजिटल संस्करण

युएईमा व्यवसाय गरिरहेका नेपालीहरूको संस्था नेपाल बिजनेस काउन्सिल युएईको र नेपालबाट आएका नेपाली प्रतिनिधिहरूबीच भेट भएको छ। युएई एक्स्पो–२०२० को समापन समारोहमा सहभागी हुन आएका नेपाल सरकारका प्रतिनिधिहरूसँग काउन्सिलका प्रतिनिधिहरूले भेट गरेका हुन्। काउन्सिलको आयोजनामा काउन्सिलको कार्यालयमा बुधबार उक्त भेट भएको हो। 

कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य दिव्यमणि राजभण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका आयुक्त डा. नारायण रेग्मी, नेपाली राजदूतावास युएईका उपनियोग प्रमुख विशाल भट्टराई, नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रतिनिधिसभा सदस्य सरलाकुमारी यादव, संघीय समाजवादी फोरमको तर्फबाट प्रतिनिधिसभा सदस्य रेनुका गुरुङ, प्रतिनिधिसभा सदस्य चाँदतारा कुमारी, प्रधानमन्त्री सचिवालयका उपसचिव जनक भट्ट, नेपाल सरकारका सचिव गोपाल सिग्देल, दुबई एक्स्पो–२०२० मा नेपालको तर्फबाट आधिकारिक आयोजक अध्यक्ष अमृत शाक्यलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपालका लागि युएईका राजदूत महामहिम साइद हमदान अल नक्बीको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै राजदूत नक्बीले नेपाल सुन्दर देश भएको उल्लेख गर्दै नेपालीहरूले युएईमा निर्यात गर्ने सामग्रीहरूको क्षेत्र बढाउनुपर्ने बताए। उनले नेपालीहरूले चिया–कफी मात्र नभई अन्य धेरै उत्पादनहरू युएईमा निर्यात गर्न सक्ने भन्दै त्यसका लागि युएईको बजार तयार रहेको बताए।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य दिव्यमणि राजभण्डारीले नेपालीहरूले विदेशमा सिकेको सीप, क्षमता र आर्जन गरेको पैसा स्वदेशमा लगानी गर्नुपर्ने बताउँदै उक्त अवस्थाका लागि नीति निर्माणदेखि अन्य कुरामा सहज बनाउन आफूहरूले पहल गरिरहेको बताए। कार्यक्रममा युएईमा रहेका नेपाली व्यवसायीहरूले देशमा लगानी गर्ने वातावरण नभएको र लगानीका लागि प्रक्रिया झन्झटिलो भएको बताएका थिए।

सुझावित समाचार